© २०२३
नेपाली काँग्रेसको अभियान समुदायमा काँग्रेस लोगो सहित रूपन्देहीमा सहिद दिवसको अवसर पारेर यही माघको १६ गते जिल्ला कार्य समितिले अभियानको शुरुवात गरेको छ । १६ गते देखि शुरु भएको यो अभियान २६ गतेसम्म सन्चालन हुने जनाइएको छ । यो अभियान जिल्लाको १५५ वडाहरूमा संचालन हुनेछ । हिमाल, पहाड, तराई, मधेसमा नेपाली काँग्रेसको राष्ट्रिय अभियानको पहिलोचरण शुरु गरेको केन्द्रिय समितिले जिल्लाहरूमा परिपत्र गरेको छ । यो अभियान मुलुकको ७७ जिल्ला र विदेशस्थित ३३ वटा जनसम्पर्क समितिले एक साथ शुरु गर्ने लक्ष्य अनुसार संचालन भएको हो । मुख्यत यो अभियानको उद्देश्य गुटगत राजनीतिको अन्त्य गर्ने र समुदायमा पुगेर कार्यकर्तासंग भलाकुसारी गर्ने रहेको छ । गुटगत राजनीतिको अन्त्य गरी आन्तरिक एकतामा जोड दिने भनिएको यो अभियानले कुन रूप लिने हो हेर्न बाँकी नै छ ।
नेपाली काँग्रेस नेपालको सबैभन्दा ठूलो समाजवादी र लोकतान्त्रिक राजनीतिक दल हो । यो दलको स्थापना २००६ चैत २७ मा नेपाल राष्ट्रिय काँग्रेस र नेपाल प्रजातान्त्रिक काँग्रेसको एकिकरणबाट भएको थियो । यो दलको युवा संगठन नेपाल तरुण दल हो भने विद्यार्थी सँगठन नेपाल विद्यार्थी संघ हो । सदस्यका आधारमा लगभग १० लाख क्रियाशील सदस्यसहित नेपाली काँग्रेस देशको सबैभन्दा ठूलो पार्टी हो । हाल यो प्रतिनिधि सभामा प्रमुख दल समेत हो । नेपाली काँग्रेसका प्रधानमन्त्रीहरूले राणा शासनको अन्त्य पछि र आम निर्वाचन २०१५ मा नेपालको पहिलो प्रजातान्त्रिक तवरले निर्वाचित सरकार लगायत पञ्चायत युगको सुरुवातका वीच चारवटा सरकारको नेतृत्व गरेका थिए । नेपाली काँगे्रस बहुमत प्राप्त गर्न सफल एक मात्र नेपाली दल हो । जसले तीन चुनावमा बहुमत ल्याएको छ । यसैगरी दुई चुनावबाट यो पहिलो दल बन्न सफल भएको इतिहास छ ।
नेपाली काँग्रेसको इतिहास जति लामो छ, पार्टीभित्र गुटको इतिहास पनि उति लामो छ । राणा र पन्चायतकालमा व्यवस्था परिवर्तनका लागि सँघर्ष गरिरहँदा पनि नेपाली काँग्रेसभित्र गुटको टकराव थियो । तर, बाहिर छताछुल्ल थिएन । चुनावी राजनीतिमा आएपछि २००७, २०१७ र २०४७ यता भने गुटबीच खुलेआम द्वन्द्व भए । नेपाली काँग्रेस स्थापनापछि अहिलेसम्म दुईपटक पार्टीमा ठूला विभाजन हुँदाताका दुवैपटक काँग्रेस नेतृत्वको सरकार थियो । पहिलोपटक २००९ सालमा पार्टी विभाजन हुँदा मातृकाप्रसाद कोइराला प्रधानमन्त्री थिए भने बीपी कोइराला पार्टी सभापति थिए । दोस्रोपटक २०५९ सालमा विभाजन हुँदा शेरबहादुर देउवा नेतृत्वको सरकार थियो । सभापति गिरिजाप्रसाद कोइराला थिए । उनी २०५७ सालमा पोखरामा भएको दशौं महाधिवेशनमा देउवालाई पराजित गरेर सभापति भएका थिए । तर दुई गुटबीचको द्वन्द्व यथावत थियो ।
सरकारको नेतृत्व गरेका देउवालाई २०५९ सालमा संकटकाल नथप्न पार्टीले निर्देशन दियो । माओवादी द्वन्द्व चरम अबस्थामा थियो । देउवाले पार्टी निर्देशन अवज्ञा गर्दै संकटकाल लम्ब्याए । केन्द्रिय समितिमा कोइराला बहुमतमा थिए । उनले पार्टी बैठक राखेर देउवालाई कारबाही गरे । देउवाले ४ असार २०५९ मा बानेश्वरमा आफु पक्षीय कार्यकर्ताको भेला गरेर नयाँ पार्टी नेपाली काँग्रेस ( प्रजातन्त्रिक) गठनको घोषणा गरे । त्यतिबेला देउवालाई गोपालमान श्रेष्ठ, प्रकाशमान शिंह, विजयकुमार गच्छदार, विमलेन्द्र निधि, बालकृष्ण खाँण, पूर्णबहादुर खडका लगायतका नेताले साथ दिएका थिए । पार्टी फुटेको पाँच वर्षपछि फेरि दुवै काँग्रेसबीच एकता भयो र कोइराला नै सभापति कायम रहे । त्यसअघि २००९ सालमा ठूलो फुट हुँदा पार्टी सभापति बीपी कोइराला थिए भने प्रधानमन्त्री मातृकाप्रसाद कोइराला थिए । निवर्तमान पार्टी सभापतिसमेत रहेका मातृकालाई बीपी गुटले कारबाही गरेपछि काँग्रेस विभाजनतर्फ गयो । त्यसबेला काँग्रेस एकैपटक चार चिरा भएको थियो । काँग्रेस स्थापनादेखि नै पार्टीमा मातृका र बीपी गुट जन्मिएका थिए । दुवैको महत्वाकाँक्षाका कारण दुई गुटको द्वन्द्व चलेको थियो । जसको परिणाम खुला राजनीतिमा आएपछि काँग्रेस विभाजित भयो । तर, नेपाली काँग्रेस स्थापनाअघि नेपाली राष्ट्रिय काँग्रेस हुँदा नै बीपी कोइरालाले पार्टी फुटाउने अभ्यास गरिसकेका थिए । डिल्लीरमण रेग्मीसँगको अन्तरद्वन्द्वका कारण बीपीले पहिलोपटक पार्टी फुटाएका थिए ।
माथि उल्लेख गरे अनुसार जुन उद्देश्य राखेर दोस्रो चरणको अभियान समुदायमा काँग्रेस चलाइएको छ र नेपाली काँग्रेसको इतिहास पल्टाएर हेर्दा समुदायमा पनि गुटको असरका कारण काँग्रेस बलियो हुन सकिराखेको छैन । यो अभियानले पार्टी भित्रको द्वन्द्वलाई छुन्छ भन्ने लाग्दैन । अहिलेको अबस्था हेर्दा पनि गुटगत स्थानीय तहमा आफनो पार्टीको मान्छेले जित्छ कि भन्ने चिन्ता उही पार्टीका मान्छेमा देखियो । आफू भए ठिक तर अर्को आउँदा दुःख मनाउ गर्ने, अर्को गुटलाई पाटीकै मानिस नसम्झिने जस्ता कारणले पनि काँग्रेस कमजोर बन्दै गएको छ । बल्लतल्ल चुनाव जितेपनि काम गर्न नदिने र खुट्टा तान्ने गुटगत कार्यकर्ता नै हुने गरेका छन । आफु वा आफनो गुट परे ठिक होइन भने कसरी असफल गराउने भनेर लाग्ने र असहयोग गर्ने आफ्नै पार्टीका हुने गरेका छन । पार्टीभित्र कार्यकर्ताको योग्यता र क्षमताको कदर छैन । हिंजोको दिनदेखि पार्टी सम्हालेका अग्रजको खोजी छैन । कार्यकर्तालाई गुटगत विभाजन गर्दिने, सोधपुछ नगर्ने, कसलाई कुन स्थान दिने हो कुनै मूल्याँकन नगर्ने जस्ता कारण कार्यकर्तामा नैराश्यता छाएको छ । । को बडे नेताको वरिपरी घुम्छ को सँग के स्वार्थ जोडिएको छ, त्यही आधारमा राजनीतिक नियुक्ति बाँडिन्छ । चाकडी र चाप्लुसीमा पाटी चलेको छ ।
नेपाली काँग्रेसले पहिलो चरणमा देश बिदेशमा चलाएको जनजागरण अभियान औपचारिकतामा सकिएको छ । पहिलो चरणको अभियान जस्तै यो पनि औपचारिकतामा सिमित हुने काँग्रेसमा आस्था राख्ने पुराना नेपाली काँग्रेसका बुद्धिजीबीले आँकलन गरेका छन । वडाका टोलदेखि केन्द्रसम्म गुटगत राजनीति हावी छ । जाने दुश्मनसँग जस्तो एउटा गुटले अर्को गुटलाई केही कुरा थाहा नदिने कार्यक्रम अथवा कुनै योजना थाहा पाउँछन कि भनेर तर्सिरहेको अबस्था छ । पछिल्लोसमय स्थानीय तहमा जीत हासिल गरे पछि पार्टीका नियमित बैठक चल्न छोडेका छन । छताछुल्ल यो यो गुट, त्यो त्यो गुटको आदी भनेर गुटगत बिल्ला क्रियाशील कार्यकर्ता सबैलाई भिराइएको छ । एउटा कुनै नेताले भेला बोलाउन भन्यो भने कुन गुट हो त्यसलाई रोक्नु पर्छ भनेर असहयोग गर्ने गतिबिधी छ भने टोलदेखि वडा नगर क्षेत्र जिल्ला र प्रदेशका अधिवेशनले गुट चिनाउने काम गरेको छ । अन्तमा साँच्चीकै समुदायमा काँग्रेस अभियान सफल पार्न वडाका टोल समितिलाई चलायमान गराउनु पर्छ । मेरो काँग्रेस होइन हाम्रो काँग्रेस, राम्रो काँग्रेस भन्ने छाप बाँडेर सबै बिचार बोक्नेलाई ब्यवहारले आफ्नो पार्टीतिर तान्ने वातावरण यो अभियानले ल्याउनुपर्छ र मात्र यो अभियानको सार्थकता रहन्छ ।