Butwal Today

सिद्धार्थनगरको प्रवक्तामा यादव

२३ माघ २०८०, मंगलवार
अ+
अ-

भैरहवा, २३ माघ ।

सिद्धार्थनगर नगरपालिकाको नगर प्रवक्ताको जिम्मेवारी पाएपछि मुक्तिनाथ यादव(भोला) ले आफ्नो पहिलो प्राथमिकता शैक्षिक क्षेत्रको सुधार भएको बताएका छन् । नगरमा रहेका माध्यमिक र निम्न माध्यमिक विद्यालयमा शिक्षा समिति सहित दैनिक अनुगमन गर्ने उनले बताए ।

शैक्षिक क्षेत्रको सुधार नै पहिलो प्राथमिकता रहेको उनले बताए । अपांग मैत्री बालबालिकाको अनुदानको कोटामा कतिपय विद्यालयबाट निबेदन परेको बताउँदै उनले शिक्षा क्षेत्रमा देखिएका समस्यालाई समाधान गरेपछि अन्य समस्या समाधानमा लाग्ने उनले बताए ।

सिद्धार्थनगर नगर कार्यपालिकाको यही माघ १९ गते बसेको बैठकको निर्णय बमोजिम यादवलाई नगर प्रवक्ताको रुपमा नियुक्त गरिएको सिद्धार्थनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव चेतनशील लम्सालले जानकारी दिए ।

नगर प्रवक्तामा मनोनित भएका यादव सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष हुन् । उनी २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट वडाअध्यक्षमा निर्वाचित भएका थिए । यादव २०७४ सालमा पनि सिद्धार्थनगर–४ को वडाअध्यक्षमा निर्वाचित भएका थिए ।