Butwal Today

सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर इच्छाराज तामाङलाई सजाय सुनाइँदै

२१ माघ २०८०, आइतबार
अ+
अ-

काठमाडौँ ।

सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई आज सजाय सुनाइने भएको छ।

इच्छाराज र उनका परिवारका सदस्यलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विशेष अदालतले माघ ७ गते दोषी ठहर गरेको थियो।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासमा आज सजाय निर्धारणका लागि सुनुवाइ भइरहेको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तीन अर्ब ३१ करोड ८५ लाख बिगो कायम गरी १६ भदौ ०७९ गते मुद्दा चलाएको थियो।

यस प्रकरणमा इच्छाराजकी पत्नी सृजना शाक्य तामाङविरुद्ध १ अर्ब तीन करोड ५ लाख, छोरीहरू प्रतीक्षाविरुद्ध ६ करोड २२ लाख र प्रतिष्ठाविरुद्ध एक करोड ८९ लाख बिगो कायम गरी मुद्दा चलाइएको थियो।

तामाङमाथि सिभिल सहकारीको रकम हिनामिनासम्बन्धी बेग्लै मुद्दा पनि काठमाडौँ जिल्ला अदालतमा चलिरहेको छ। त्यस मुद्दामा सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठविरुद्ध २६ करोड ६१ लाख रुपैयाँ विगो दाबी गरिएको थियो। सोही प्रकरणमा इच्छाराज, सिर्जना र केशवलाल हाल कारागारमा छन्।

सहकारीको बचत रकम इच्छाराजले निजी कम्पनीमा लगानी गरेका थिए। त्यहीकारण सहकारीमा जम्मा भएको साढे ५ अर्बभन्दा धेरै बचत पनि डुबेको थियो।

ठगीको आरोपमा पक्राउ परेका पूर्वसांसद तामाङ र सिभिल सहकारीका वर्तमान अध्यक्ष श्रेष्ठलाई काठमाडौं जिल्ला अदालतले २०७८ पुस १४ गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। त्यसबेला इच्छाराज र केशव थुनामा पठाउँदा अन्यलाई धरौटी मागिएको थियो।