© २०२३
चन्द्रौटा (कपिलवस्तु), २१ माघ । कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर–१, उमरीमा रहेको थारु संग्रहालय सञ्चालनपछि आन्तरिक पर्यटक बढ्न थालेका छन् । मूल आदिवासी थारु परम्परागत हस्तकला सामग्री, संस्कृति, भेषभुषा, सभ्यता, रहनसहन लगायतलाई प्रवद्र्धन गर्दै इतिहास झल्किने खालका आकर्षक मूर्तिकला (तस्बिरहरू) निर्माण गरी सञ्चालनमा ल्याइएको थारु संग्रहालय संरक्षण समितिले जनाएको छ ।
केन्दीय विशेष अनुदानको २ करोड २५ लाख, तराई मद्येश समृद्धि कोषको २५ लाख, शिवराज नगरपालिकाको १६ लाख र स्थानीय थारु समुदायको १५ लाख गरी २ करोड ८१ लाखको लागतमा निर्माण गरिएको संग्रहालय यहि माघ १ गते लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले उद्धाटन गरि विद्यिवतरूपमा सञ्चालनमा आएको संरक्षण समितिका अध्यक्ष प्रकाश थारुले बताए ।
संग्रहालय अवलोकन गर्ने जो कसैले महिला तथा पुरुषको थारु पोशाक लगाएर फोटो खिचाउन सक्ने व्यवस्था मिलाइएको उनले जनाए । अध्यक्ष थारुका अनुसार संग्रहालयमा माछा मार्दै गरेको महिला, थारु पहिरनमा सजिएका महिला तथा पुरुषका प्रतिमा निर्माण गरिएको छ ।
संग्रहालय अवलोकनका लागि न्यून दस्तुर राखिएको संरक्षण समितिका उपाध्यक्ष हरि प्रसाद चौधरी बताए । उनका अनुसार थारु समुदायले परम्परागत प्रयोग गर्दै आएका सामग्री डोकवा, झउवा, खटिया, मचिया, चकिया, ढेंकी, माटाका गाग्री, चुल्हा, लेहंगा, करवा, डरुवा, डोली, परगेहनी, पिर्का, मंगिया, कारा, बिंडिया लगायत संकलन भएका सामग्री संग्रहालयमा सजाइएर राखिएको छ । भने पहिचान झल्किने केहि हस्ताकला सामग्री स्थानीय गाउँबाट संकलन गर्ने कार्य जारी छ ।
संग्रहालय सञ्चालनपछि स्थानीय तथा आन्तरिक पर्यटनको विकास भएको स्थानीय रमेश थारुले बताए । संग्रहालय निर्माणले पर्यटनको विस्तार भइ स्थानीयलाई व्यावसायिक रूपमा फाइदा हुनुका साथै रोजगारीमा समेत सिर्जना हुने थारु अगुवा तथा उमरी गाउँका बरघर भरोसे थारुको भनाई छ ।
लुम्बिनी प्रदेश सभा सदस्य केसीले स्थानीयस्तरमा निर्माण भएको संग्रहालयले युवापुस्तालाई रोजगारी र आम्दानीसँग जोडेको बताए । स्थानीय र भारतीय पर्यटकलाई लक्षितगरी आदिवासी थारु समुदायलाई समेटिएको बताउँदै प्रत्यक्ष स्थानीय समुदायलाई टेवा पुगेको दावी समेत उनले गरे । संग्रहालयमा थारु सभ्यता जोगाउन परम्परागत सामग्री, भेषभुषा, गहना तथा थारु जातजातीको पहिचानसहितको प्रतिमा निर्माण भएको शिवराज नगरपालिकाका उपमेयर शिवकुमारी थारुले भनिन ।