© २०२३
काठमाडौँ ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यतिबेला (बुधबार बिहान) देशको पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने तराईका भूभागमा हुस्सु र कुहिरो लागेको छ।
आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने छ भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज कोशी, गण्डकी र कर्णाली प्रदेशसहित देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
आज राति पनि देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने छ। भने कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातकोसमेत सम्भावना रहेको छ।
महाशाखाका अनुसार बिहीबार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशसहित देशको पहाडी भूभागको मौसम आंशिक देखि साधारणतया बदलीकै अवस्थामा रहनेछ।