© २०२३
वास्तु शास्त्र एक प्राचीन विज्ञान हो । व्यापक अर्थमा हेर्दा वास्तु भन्नाले कुनैपनि वस्तुको अवस्थितिलाई बुझिन्छ । यद्यपि बास्तु भन्ने वित्तिकै आवासगृह अर्थात् घर र शास्त्रको अर्थ हुन्छ अनुशासन अनि निर्देश । यसर्थ, सामान्यतया “वास्तु शास्त्र” भन्नाले घर वा कुनै संरचना कसरी निर्माण गर्ने भन्ने कुराको निर्देशलाई बुझिन्छ । वास्तु शास्त्रलाई आधुनिक समयको विज्ञान र आर्किटेक्चरको प्राचीन स्वरूप मान्न सकिन्छ । वास्तुशास्त्र अनुसार पूर्वीय शास्त्रहरूका नियमहरू पालन गरी बनाइएको घरमा रहदा या बस्दा सुख, शान्ति एवं समृद्धि प्राप्त हुन्छ भन्ने मान्यताले क्रमशः व्यापक स्थान ओगट्दै गएको पाइन्छ । वास्तु शास्त्र अनुसार घर बनाउँदा घरका हरेक कुराहरूलाई विशेष ध्यानमा राखिन्छ । घरको प्रवेशद्वार, भान्साकोठा, पूजास्थल, पाहुना कोठा आदि सबै भागको अवस्थितिमा बिशेष ध्यान पु¥याइन्छ ।
प्रवेशद्वार
वास्तुशास्त्रमा घरको मुख्य प्रवेशद्वार सुशोभित र सफा हुनुपर्छ भनेर भनिएको छ । प्रवेशद्वार बनाउँदा ख्याल गर्नुपर्ने कुराहरू यस प्रकार रहेका छनः घरको मुख्य प्रवेशद्वार अन्य ढोकाभन्दा अग्लो तथा ठूलो हुनुपर्छ । उक्त ढोका राम्रोसँग खुल्ने तथा कुनै आवाज ननिस्कने खालको हुनुपर्छ तर ढोका आफै खुल्ने–बन्द हुने हुनुहुँदैन । घरको कुनैपनि ढोका धरातलभन्दा तल हुनुहुँदैन । पूर्व या उत्तरतर्फ मुख्य द्वार बनाउनु उपयुक्त हुन्छ ।
पाकशाला
वास्तुशास्त्र अनुसार भान्साको पवित्रता तथा स्वच्छतामा कुनै सम्झौता गरिनु हुदैन । भान्सा घर दक्षिण–पूर्वी क्षेत्रमा बनाउनु उत्तम मानिन्छ तर ठाउँ त्यस किसिमको छैन भने उत्तर–पश्चिम दिशामा पनि बनाउन सकिन्छ । पूर्वतर्फ फर्केर खाना पकाउनु उचित मानिन्छ । घरको ग्याँस र चुल्हो बाहिरबाट नदेखिने स्थानमा हुनु पर्छ
सुत्ने कोठा
शयन कक्ष अर्थात सुत्ने कोठालाई वास्तु शास्त्र अनुसार तयार गरिनुपर्छ । मुख्य शयन कक्ष दक्षिण भागमा बनाउनु राम्रो हुन्छ । खटिया अनि पलङ्ग राख्दा सुत्नेको शीर पूर्व या दक्षिणतर्फ हुने गरी राख्नुपर्छ । शयन कक्षमा पूजास्थल राख्नुहुदैन । पलङको अगाडी पट्टि ऐना राख्नुहुदैन । शयन कक्षमा राम्रा तस्बिर, फूलहरू र तस्बिरहरू राख्नु उपयुक्त हुन्छ ।
पूजास्थल
हिन्दु धर्ममा पूजाले ठूलो महत्व बोकेको छ र श्रद्धाभक्तिपूर्वक गरिने यस कार्यका लागि घरमै छुट्टै पूजा स्थल बनाउने गरिन्छ । पूजाघरको द्वार टिन वा फलामको हुनुहुँदैन । पूजा कोठा शौचालयभन्दा ठीक माथि वा तल हुनुहुँदैन र शौचालयसँग एकै पर्खालमा जोडिएको हुनुलाई पनि राम्रो मानिदैन । भगवानको तस्बिर वा मूर्ति नैऋत्य कोणमा राख्नु हुँदैन ।
रङ्ग व्यवस्था
रङ्गले हाम्रो सोच र बिचारमा ठूलो असर पार्छ । घरमा धीर र शान्त वातावरणको अनुभूति उचित रङ्गको प्रयोगबाट पाउन सकिन्छ । वास्तु शास्त्रका अनुसार घरको शोभा बढाउन र घरमा खुसियाली कायम गर्ने सन्दर्भमा शास्त्रले निर्देश गरेका रङ्गहरूको चयन गरिनु आवश्यक देखिन्छ । विशेषगरी शयन कक्षमा गुलाबी, हल्का हरियो र हल्का निलो रङ्गको प्रयोग गरेको उचित हुन्छ । त्यस्तै बैठक कोठामा पहेंलो, हरियो, निलो, हल्का खैरो रङ्ग प्रयोग गर्न उचित हुन्छ । भान्सा कोठामा पहेंलो, सेतो, सुन्तला, गुलाबी, रातो र चकलेट रङ्ग लगाउनु राम्रो हुन्छ । नुहाउने कोठाका लागि सेतो, खैरो, गुलाबी र फिक्का रङ्गहरूको प्रयोग गर्नुपर्छ । घरको कुनैपनि स्थानमा कालो रङ्गको प्रयोग गर्नु उचित हुदैन र
दिशा सम्बन्धी ज्ञान
वास्तु शास्त्रमा दिशाले ठूलो भूमिका खेल्छ । कुन कक्ष कुन दिशातर्फ बनाउन हुन्छ वा हुदैन भन्ने कुरा वास्तु शास्त्रमा विषद् रूपमा उल्लेख पनि गरिएको छ । पञ्चभूत लगायत वास्तुशास्त्रमा दिशा पनि एक महत्वपूर्ण तथा आधारभूत कुरा हो । घर तथा भवन अथवा कुनै निर्माण कार्य गर्दा कुन दिशामा कुन वस्तु राख्ने भन्ने कुरा एकदमै महत्वपूर्ण हुन आउँछ, ।
पूर्व दिशा
पूर्वबाट सूर्य उदाउँछ, अर्थात नयाँ प्रहरको आरम्भ हुन्छ । त्यसैले पुरानो र खराब कुरालाई छाडेर नयाँ र असल कुरालाई पछ्याउन चाहने व्यक्तिहरूको लागि पूर्व दिशा उत्तम हुन्छ । समृद्धिको दिशा हो पूर्वदिशा । घरको मूल द्वार, बस्ने कोठा, पढ्ने कोठा तथा पूजाकोठा पूर्व दिशातर्फ फर्किएको हुनुपर्दछ । धन–सम्पत्तीको दराज, बाकस, आदिको मूख पूर्व दिशातर्फ खुल्ने गरी राखेको हुनपर्छ ।
पश्चिम दिशा
वास्तुशास्त्रमा पश्चिम दिशालाई सबैभन्दा कमजोर दिशाको रूपमा मानिन्छ, मतलब यसले राम्रो भन्दा बढि नराम्रो कुराको सङ्केत गर्दछ । त्यसैले घरको पश्चिम भागमा बस्ने तथा घरको मूलद्वार पश्चिमपट्टी भएका मानिसहरूको जीवनमा कहिल्यै पनि सुख, शान्ति तथा समृद्धि छाउन सक्दैन । घरको पश्चिम भागमा भ¥याङ अथवा घरपछाडिको द्वार राख्नु उचित हुन्छ । चर्पी, फोहोर फाल्ने ठाउँलाई पश्चिमपट्टी राख्नु उत्तम हुन्छ ।
उत्तर
उत्तर दिशा भनेको व्यापार व्यवसाय तथा पेसाको लागि उत्तम दिशा हो । त्यसैले जो व्यक्तिले नयाँ व्यवसाय गर्न चाहन्छ, नयाँ कार्यालय खोल्न चाहन्छ, उसको लागि उत्तर दिशातर्फको कोठा अथवा कार्यालय उत्तम रहन्छ । विज्ञानबाट पनि के थाहा पाइएको छ भन्दा सूर्यबाट आउने हानिकारक विकिरणहरूको असर उत्तर दिशातर्फ कम पर्दछ । त्यसैले घरको आँगन अथवा खुल्ला ठाउँ उत्तर तर्फ बनाउनु सबैभन्दा उत्तम हुन्छ । साथै उत्तर दिशालाई धार्मिक तवरले पवित्र पनि मानिन्छ । उच्चतम सफलताको लागि कार्यालय कक्षलाई घर वा भवनको उत्तरतर्फ राख्नु उचित हुन्छ । पाकशाला, चर्पी तथा फोहोर फाल्ने ठाउँ उत्तरतर्फ राख्नु हुदैन ।
दक्षिण
वास्तुशास्त्रमा दक्षिण दिशाका भागलाई अग्लो बनाउनुपर्दछ । घरको छतमा राख्ने पानीको ट्याङ्की दक्षिणतर्फ राख्नु उचित हुन्छ भने भाञ्छाकोठा तथा भोजनकक्ष दक्षिण दिशामा राख्नुलाई अशुभ मानिन्छ ।
ऐशान्य दिशा (पूर्व–उत्तर)
ऐशान्य दिशालाई भगवानको दिशा मानिन्छ । विशेषगरी पूजा गर्ने कोठा यो दिशामा राख्नुलाई सबैभन्दा उत्तम मानिन्छ । आठै दिशाहरूमध्ये यो दिशालाई सबैभन्दा पवित्र मानिन्छ र यो दिशाको सहि सदुपयोगले मानव जीवनमा सुख, शान्ति र सम्बृद्धि छाउने वास्तुशास्त्रको मान्यता छ । घरको उत्तर–पूर्व दिशा अन्य दिशा भन्दा हलुका होचो स्थानमा रहेको शुभ मानिन्छ ।
वायब्य दिशा (उत्तर–पश्चिम)
परिवारका सदस्यहरूबीच पारस्परिक सम्बन्ध बिगार्ने अथवा सुधार्ने काम यसै दिशाले गर्दछ । व्यक्तिको प्रेमसम्बन्धमा पनि उत्तर–पश्चिम दिशाले प्रत्यक्ष प्रभाव पार्दछ । नवविवाहित दम्पत्तीको कोठा उत्तर–पश्चिम दिशामा राख्दा त्यस दम्पत्तीको जीवनमा कहिल्यै पनि शान्ति छाउन सक्दैन । भाञ्छाकक्ष, भोजनकक्ष, सुत्ने कोठालाई यो दिशामा राख्नु हुदैन ।
दक्षिण–पूर्व (आग्नेय)
घरमा भाञ्छा कोठालाई आग्नेय दिशामा राख्नु सबैभन्दा उत्तम हुन्छ । विद्युतीय सामग्रीहरू जस्तैः टिभी, मोटर, ब्याट्री, इनभर्टर, आदिलाई घरको दक्षिण–पूर्वी कोठामा राख्नु उत्तम हुन्छ ।
दक्षिण–पश्चिम (नैऋक्त्य)
दक्षिण–पश्चिम दिशा राक्षस गणहरूको दिशा हो । त्यसैले व्यापार, व्यवसाय तथा आर्थिक क्षेत्र, जहाँ जटिल निर्णय लिनुपर्ने हुन्छ, त्यस्ता क्षेत्रमा यो दिशाको प्रयोग गर्नुहुँदैन । भगवानको पूजाकक्ष यस दिशामा राख्नु उपयुक्त हुँदैन ।
यस प्रकार विभिन्न दिशा र कोणहरू निर्धारण गरेर, पञ्चतत्वको अवस्थिति अनि जमिनको आकारलाई आधार मानेर तय गरिने वास्तुसीप अनुरूपको ढाँचा बनाइएमा उक्त संरचनामा सदैव सुख, समृद्धि अनि ऐश्वर्यको वास रहन्छ भन्ने विश्वास पाइन्छ । वास्तु शास्त्र अनुसार विश्वमा बनाइएको एकमात्र शहर सिंगापुर रहेको बताइन्छ ।