© २०२३
बुटवल, ९ माघ । नेवारी संस्कार अनुसार कन्याहरुको इही र बालकको कयेता पुजा माघ २० र २१ गते सामुहिक रुपमा बुटवलमा हुने भएको छ । नेवाः सेवा समितिको आयोजनामा यो वर्ष पनि देबिनगरस्थित भुपुसैनिक मैदानमा सामुहिक इहि तथा बटुकहरुको कयेता पूजा हुने भएको हो ।
नेवाः सेवा समितिका अध्यक्ष चिरन्जिवी श्रेष्ठले कार्यक्रम गर्न विभिन्न उपसमितिहरु गठन गरि तयारी गरिएको बताए । काठमाडौंबाट नेवाः पुरोहीत र (राजोपाध्याय) द्यो माँ बोलाएर गरिने नेवारी बिधि र परम्पराको इही र कयेता पूजा ब्यवस्थित र बिधि सम्मत बनाउन समितिका सचिव लक्ष्मण श्रेष्ठ र सदस्य भगवती श्रेष्ठलाई संयोजकको जिम्मेवारी दिई बिभिन्न उपसमिति बनाइएको उनले बताए ।
बुटवल र यस आसपासका नेवाः समुदायबाट प्रतिनिधित्व हुँदै आएको इही तथा कयेता पूजामा हाल सम्म ७० बढी कन्याहरु र २० बढी बटुकहरुको नाम दर्ता भइसकेको संयोजक लक्ष्मण श्रेष्ठले बताए । इही कार्यक्रममा पहिलो रोहमा कजि कन्या एकजना, दोस्रो रोहमा पञ्च कन्या ५ जना, तेस्रो रोहमा ९ कन्या, चौथो रोहमा २१ कन्या र त्यस पछि सहभागी कन्याहरुलाई राखेर पूजाको ब्यवस्था मिलाइएको संयोजक श्रेष्ठले बताए । सहभागी कन्याहरु बाहेकको सबै रोहको स्थान पूर्ण भइसकेको र साधारण रोहका लागि भने इच्छुक नेवाः कन्याहरुको नाम दर्ता जारी रहेको उनले बताए ।
इहीका लागि प्रति कन्या ३ हजार रुपैया, ५०० दर्ता शुल्क लिइएको र कयेता मूजाका लागि प्रति बटुक १० हजार शुल्क लाग्ने उनले बताए । सोही शुल्कमा खाना, फूल प्रसादको समेत आयोजकले ब्यवस्थापन गर्ने उनले बताए ।