Butwal Today

चिसोबाट बच्न २४ घण्टे चेतावनी, यस्तो छ तीन दिनको मौसम अनुमान

९ माघ २०८०, मंगलवार
अ+
अ-

काठमाडौँ ।

मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार) देखि तीन दिन अर्थात् बिहीबारसम्म देशभर मौसमको अवस्था कस्तो रहला भन्ने सम्भावना सार्वजनिक गरेको छ। साथै दिनप्रतिदिन चिसो बढ्दै गएकाले त्यसबाट जोगिन उपाय अपनाउन भन्दै २४ घण्टे चेतावनी जारी गरिएको छ।

महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। जसका कारण यतिबेला देशको पहाडी भेगमा आंशिक बदली (आकाशमा अलि अलि बादल) रही बाँकी स्थानमा मौसम मुख्यतया सफा छ। साथै देशका तराईका धेरै स्थानमा हुस्सु/कुहिरो लागिरहेको छ।

बुलेटिनअनुसार आज दिउँसो देशका पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफा नै रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा भने हल्का हिमपात हुने सम्भावना छ।

यस्तै राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।

महाशाखाले आगामी २४ घण्टा (बुधबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

जसमा भनिएको छ- देशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। साथै तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकाले त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन हुन अनुरोध छ।

मौसम महाशाखाका अनुसार यस्तो छ आजसमेत ३ दिनको मौसम अनुमान

माघ ९ गते मंगलबार

दिउँसो : देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति : कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

माघ  १० गते बुधबार

दिउँसो : देशको पहाडी भूभागमा आंशिकदेखि  साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा  देशका बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति  : कोशी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीका साथै  देशका बाँकी  पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा देशका बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

माघ  ११ गते बिहीबार

दिउँसो : सुदूरपश्चिम प्रदेशसहित देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति :  देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।