© २०२३
वैदेशिक लगानीको अवधारणा युरोपबाट सुरु भई एसिया, मध्यपूर्व र अफ्रिकी देशहरू हुँदै विश्वव्यापी रूपमा विस्तार भएको हो । १८ औँ र १९ औँ शताब्दीमा आएर यो उच्च गतिमा अगाडि बढ्यो । खासगरी ‘ग्याट’ हुँदै ‘डब्लुटिओ’ को स्थापना, सूचना तथा प्रविधिको विकास र नीजिकरण, उदारीकरण तथा विश्व्यापीकरणको लहरले बैदेशिक लगानीलाई थप मलजल गयो । नेपालमा पनि वि.सं. १९९३ को कम्पनी कानुनपछि बैदेशिक लगानीका लागि बाटो खुलेको हो । विराटनगर जुट मिल भारत र नेपालका लगानीकर्ताहरूको संयुक्त लगानीमा खुलेको पहिलो उद्योग हो । यसैलाई नै नेपालमा बैदेशिक लगानीको ऐतिहासिक सुरुवात मानिन्छ । गत आर्थिक वर्ष २०७९÷८० मा नेपालमा करिब ६ अर्ब रूपैयाँको खुद प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । यो करिब एक दशकयताकै सबैभन्दा कम रकम हो भने प्रतिवद्धताको तुलनामा १७.८४ प्रतिशतमात्र हो । उद्योग विभागको तथ्याङ्क अनुसार विदेशी लगानीका ३२७ परियोजनाका लागि ३३ अर्ब ३९ करोड लगानी स्वीकृत गरिएकोमा यसमध्ये ५ अर्ब ९६ करोड रूपैयाँ बराबरको खुद प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । जबकी अघिल्लो वर्ष खुद प्रत्यक्ष वैदेशिक लगानी १८ अर्ब ५६ करोड आएको थियो । यो राष्ट्र बैंकको तथ्याङ्क हो । यसरी वैदेशिक लगानी बढ्नुको सट्टा घट्दै जानु र प्रतिबद्धताको तुलनामा कम रकम भित्रिनु चुनौतिको विषय हो । यसले हाम्रा कमजोरीहरू रहेको र त्यस विषयमा विचार गर्नुपर्ने कुराको संकेत गर्दछ ।
हुन त सरकारले लगानीको खस्कँदो वातावरण सुधार गर्न केही पहलहरू नगरेको पनि होइन । यस सन्दर्भमा मुलुकको ‘कन्ट्री क्रेडिट रेटिङ’ गर्ने प्रतिवद्धता, विदेशी विनिमय जोखिम न्यूनीकरण गर्न हेजिङ गर्ने संस्था तोकी हेजिङ सेवा उपलब्ध गराइने कुराहरू पनि चर्चामा छन् । यसका साथै चालु आवको बजेटमा विदेशी लगानीको सुरक्षाको प्रत्याभूति दिइने तथा विदेशी लगानीकर्ताले लाभांश फिर्ता लैजाने प्रक्रियालाई सरलीकृत गरिने उल्लेख छ । विभिन्न ऐनहरूको परिमार्जन तथा करका दरहरूमा पुनः मूल्याङ्कनले पनि सरकारको पहललाई संकेत गर्दछ । तर, मुलुकमा लगानीको जुन सम्भावना छ र हालसम्म जे जस्तो लगानी भित्रिरहेको छ, त्यसबाट सन्तुष्ट हुने आधारहरू भने छैनन् । त्यसैले वैदेशिक लगानीका सन्दर्भमा सरकारले प्रसस्त कामहरू गर्नुपर्ने देखिन्छ । मुलुकको आर्थिक वृद्धि र विकासमा लगानीले महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्छ । माग र पूर्ति दुवै पक्षमा लानीको सकारात्मक प्रभाव रहने भएको हुँदा आर्थिक विकासका लागि लगानीलाई पहिलो र महत्वपूर्ण सर्त मानिएको हो । लगानी बढ्दा एकातिर उत्पादन बढ्न गई आपूर्तिमा वृद्धि हुन्छ भने अर्काेतिर उत्पादनका साधनहरूको आम्दानी बढ्न गई मागसमेत बढ्न जान्छ । जसले गर्दा अर्थतन्त्रको विस्तार हुन पुग्छ । साधन र स्रोतहरूको उच्चतम प्रयोग गर्न, आम्दानी, उत्पादन र रोजगारी बढाउन, बैदेशिक व्यापारबाट फाइदा लिन, नबीन प्रविधिको प्रयोग र गरिबी निवारण गर्दै फराकिलो आर्थिक वृद्धि गर्न लगानीले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । नेपालमा न्यून पूँजीनिर्माण रहनु अर्थतन्त्रको प्रमुख चुनौति हो । कूल ग्राहस्थ उत्पादनको ९० प्रतिशतभन्दा बढी रकम उपभोगमा खर्च हुने भएकाले नेपालमा नाममात्रको बचत हुने गरेको देखिन्छ । परिणामस्वरूप सरकारले गर्ने पूँजीगत खर्च न्यून रहनु र निजी क्षेत्रको ‘कन्फिडेन्स’ बलियो हुन नसक्नुले नेपाल जहिलेपनि लगानी अभावको चपेटामा परिरह्यो । लगानीको अभावकै कारण पूर्वाधारदेखि औद्योगिक क्षेत्रको पनि विकास हुन सकेको छैन । त्यसैले नेपालकालागि बैदेशिक लगानीको आवश्यकता र सान्दर्भिकता दुबै उत्तिकै रूपमा बढ्दै गएको छ । अतः भौतिक पूर्वाधार, उर्जा, पर्यटन, कृषि तथा उद्योग क्षेत्रको विकास गरी नेपालालाई अतिकम विकसित मुलुकबाट विकासोन्मुख मुलुकको सूचिमा पु¥याउने योजनगत लक्ष्य पूरा गर्न बैदेशिक लगानी भित्रउनमा जोड दिनु जरुरी छ ।
मुलुकमा प्राकृतिक साधन प्रचुर मात्रामा रहेको, पर्यटनका आधारहरू बलियो रहेको र जलविद्युतको प्रशस्त सम्भावना रहेको छ । यति हुँदाहुदै पनि न्यून पूँजी निर्माणले गर्दा पछिल्ला वर्षहरूमा मुलुकको आर्थिक वृद्धि पनि न्यून छ । ८३ हजार मेगावाट जलविद्युत उत्पादन सम्भावना रहेको मुलुकको विद्युत उत्पादन बल्लतल्ल दुई हजार आठ सय ५२ मेघावाट पुगेको छ । नेपालमा पर्यटकका लागि आकर्षक गनतब्यहरू प्रसस्त छन् । पर्यटनका आधारहरू प्रशस्त रहेपनि पर्यटनका पूर्वाधारहरूको विकास नहुँदा नेपालको पर्यटन क्षेत्र पछाडि परेको छ । नेपाल एक कृषिप्रधान मुलुक भनिएपनि कृषिजन्य उत्पादनहरू नै आयात गर्नुपर्ने अवस्था छ । श्रमिकको अभावमा कृषिमात्रै होइन उद्योग क्षेत्र पनि आक्रान्त छ । चर्काे व्याजदर, बजार माागको अभाव र श्रम समस्याले उद्योग क्षेत्रलाई पिरोलिरहेको छ । यसका साथै राजनैतिक अस्थिरताले गर्दा लगानीकर्ताहरूको मनोबल बढ्न सकेको छैन ।
पछिल्लो समय नेपामा उत्पादन, रोजगारी र आम्दानीजस्ता महत्वपूर्ण आर्थिक चरहरू कुण्ठित अवस्थामा छन् । यसले व्यापार सन्तुलनलाई पनि प्रतिकूल बनाउँदै लगेको छ । एकातिर उत्पादन बढ्न नसक्नु र अर्काेतिर मुलुक आयातमै निर्भर रहनुले मुद्रास्फीति निरन्तर उक्लिरहेको छ । जसले गर्दा आय असमानतालाई पनि बढाउँदै लगेको छ । दैनिक १५०० देखि २५०० सम्म युवाहरू रोजगारीका लागि विदेशिने क्रम रोकिन सकेको छैन । खाडी मुलुकको ५० डिग्रीको चर्काे गर्मीमा रगत पसिना बगाएर पठाएको रेमिट्यान्सकै भरमा मुलुकको अर्थतन्त्र चलिरहेको छ । मुलुकको अहिलेको वास्तविक आर्थिक तस्विर यही नै हो । दक्षिण कोरिया, सिंगापुर र ताइवानजस्ता मुलुकहरूले प्रत्यक्ष बैदेशिक लगानीकै कारण आज आर्थिक सम्बृद्धिको उचाइ छुन सफल भएका हुन् । पछिल्लो समयमा त हाम्रै दुई छिमेकी मुलुक भारत र चीन पनि बैदेशिक लगानीलाई प्रोत्साहन गरेर विश्वमा सबल राष्ट्रहरूको दौडमा आफूलाई उभ्याउन खोज्दैछन् । त्यसैले नेपालले पनि यसबाट पाठ सिक्दै बैदेशिक लगानीलाई आकर्षित गर्नु आवश्यक छ । प्रत्यक्ष बैदेशिक लगानी, ‘प्रोटफोलियो’ लगानी र प्रविधि हस्तान्तरण बैदेशिक लगानीका स्वरूपहरू हुन् । जसमध्ये प्रत्यक्ष बैदेशिक लगानी विश्वले प्राथमिकता दिँदै आएको विषय हो । नेपालमा पनि छ्रैठौँ योजनादेखि यसलाई प्रोत्साहन दिइँदै आएको छ । भारत, चीन, क्यानडा, जापान र नर्वे नेपालमा प्रत्यक्ष वैदेशिक लगानी गर्ने प्रमुख देशहरू हुन् । नेपालमा भित्रिने बैदेशिक लगानी उद्योग, सेवा, पर्यटन र उर्जामा बढी केन्द्रित छन् । थोर बहुत वैदेशिक लगानी भित्रिए पनि नेपालको सन्दर्भमा सम्भावनाका दृष्टिले यो नगन्य हो ।
अब मुलुकमा पूर्वाधारका विभिन्न क्षेत्रहरूमा लगानी बढाउनु आवश्यक छ । सरकारी खर्चको स्रोत सीमित भएकाले सरकारी, निजी र वैदेशिक लगानीका स्रोतहरूको उच्चत्तम उपयोग गरी पूर्वाधार विकास गर्ने र सोका माध्यामबाट आर्थिक सामाजिक रूपान्तरणको कार्य अघि बढाउनु अबको नेपालको मूल आर्थिक बाटो हुनुपर्दछ । वैदेशिक लगानीका लागि उपयुक्त नीतिगत तथा कानुनी व्यवस्था हुँदाहुदै पनि यथेष्ट मात्रामा वैदेशिक लगानी भित्रिन सकेको छैन । तसर्थ वैदेशिक लगानी आकर्षण गर्न पहिला विदेशी लगानीमा रहेको बाधा तथा असहजपनालाई हटाउनु आवश्यक छ । भ्रष्ट प्रशासन, प्रकृयागत ढिलासुस्ती, भौतिक पूर्वाधारहरूको कमी, नीतिगत सुधारको कमी, कमजोर श्रम सम्बन्ध, राजनैतिक अस्थिरता, चन्दा आतंक, प्रचार प्रसार तथा आर्थिक कुटनीतिको अभावजस्ता आदि नेपालको वैदेशिक लागनीका चुनौतिहरू हुन् । यिनै कारणहरूले गर्दा नेपालमा बैदेशिक लगानी अपेक्षित रूपमा बढ्न सकेको छैन । हुन त बैदेशिक लागनी आकर्षित गर्न सन् १९९० को दशकबाट नेपालले आर्थिक उदारिकरणको अवधारणालाई अबलम्बन गर्दै आएको छ । बैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०४८, गैर आवासीय नेपाली सम्बन्धी ऐन २०६४, वाणिज्य नीीत २०६५, लगानी वोर्ड सम्बन्धी ऐन २०६८, औद्योगिक नीति २०६७, औद्योगिक व्यवसाय ऐन २०७३ विभिन्न मुलुकहरूसँग विप्पा तथा दोहोरो दकरमुक्तिको सम्झौता, लगानी वोर्डको गठन, नेपाल व्यवसायिक मञ्चको गठन गर्ने जस्ता कामहरू नगरिएको होइन । तर, यस्ता प्रयासहरूले परिणाममुखी नतिजा दिन सकेका छैनन् ।
नेपाल जस्तो विकासोन्मुख मुलुकका लागि वैदेशिक लगानीले बचत र लगानीको आवश्यकताबीचको अन्तर पूरा गर्न मद्दत गर्दछ । यसका साथै आधुनिक प्रविधि तथा उच्च व्यवस्थापकीय क्षमता भित्र्याउन पनि सहयोग गर्दछ । यसका साथै अन्तर्राष्ट्रिय बजारमा पहुँच, पेटेन्ट राइट जस्ता कुराहरूमा पनि वृद्धि हुनजन्छ । मुलुकको उत्पादकत्व वृद्धि गर्न र आन्तरिक माग पूर्ति गरी व्यापारघाटाको अन्तर कम गर्न वैदेशिक लगानीले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्दछ । नेपालमा वैदेशिक लगानी भित्र्याउन पारवहन लागतमा कटौती गर्ने, विद्युतको नियमित आपूर्ति गर्ने र औद्योगिक पूर्वाधारको विकास गर्नु आवश्यक छ । पछिल्लो समय बढ्दो युवा पलायनलाई कम गर्दै औद्योगिककरणको विकास गर्न वैदेशिक लगानी अपरिहार्य जस्तै बनेको छ । त्यसैगरी वैदेशिक लगानी भित्र्याउन मुलुकको श्रमनीतिमा सुधार गर्ने र वैदेशिक लगानीलाई प्रभावित गर्ने ऐनमा समयानुकुल परिमार्जन गर्नु आवश्यक छ । गैर आवासीय नेपालीको लगानीलाई आकर्षित गर्न रणनैतिक रूपमा कार्य गर्नु पनि उत्तिकै आवश्यक छ ।
नेपालमा प्राकृतिक सम्पदाको प्रचुरता एवम् जैविक तथा सांस्कृतिक विविधता र तुलनात्मक रूपमा न्यून ज्यालादरमा श्रमिकको उपलब्धताले वैदेशिक लगानीको सम्भावनालाई संकेत गर्दछ । यसका साथै छिमेकी मुलुकहरूमा भएको उच्च आर्थिक वृद्धि एवम् बढ्दो मध्यमवर्गीय जनसंख्याबाट व्यापारिक लाभ लिन पनि वैदेशिक लगानीले भूमिका निर्वाह गर्न सक्छ । वैदेशिक लगानी भत्रिँदा केवल पूँजी मात्र भित्रिँदैन, सोसँगै व्यवस्थापकीय सीप, दक्ष जनशक्ति, प्राविधिक ज्ञान र व्यावसायिक संस्कारसमेत भित्रिन्छ । यसले गर्दा आन्तरिक स्रोत परिचालन हुनुका साथै मुलुकमा उद्यमशील संस्कृतिको विकास गर्न मद्दत पुग्छ । फलतः आन्तरिक लगानी पनि आकर्षित हुनजान्छ । यसबाट देशमा रोजगारी, आम्दानी, बचत र लगानीको चक्र सिर्जना हुन्छ । यस प्रकार मुलुकको आर्थिक विकासमा वैदेशिक लगानीले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ भन्ने कुरा प्रष्ट हुन्छ । त्यसैले पूँजी निर्माणमा कमजोर देखिएको नेपालजस्तो मुलुकको लागि वैदेशिक लगानी आकर्षित गरी स्वदेशी साधन र स्रोतको उच्चतम् प्रयोगमा पहल गर्नमा विशेष ध्यान दिनु आवश्यक छ ।