© २०२३
गताङ्कमा बुद्धबल्लीमा विचरण गर्दा शिर्षकमा देशको राजनीतिक र सामाजिक अवस्था चित्रण गरियो । आफ्नो नितान्त व्यक्तिगत अनुभवमा आधारीत भई उक्त लेख यहाँहरू समक्ष प्रस्तुत गरेको थिएँ । यो अंकमा बुद्धबल्ली (बुटवल) मा विचरण गर्दा बुटवलको विकासका आधार सम्बन्धी अनुभव–अनुभूति यहाँहरू समक्ष प्रस्तुत गर्न चाहन्छु ।
बुटवल पश्चिम नेपालको मुख्य आर्थिक केन्द्र हो भन्ने तथ्य निर्विवाद छ । यो अहिले मात्र होइन पहिले देखि नै पश्चिम नेपालको आर्थिक केन्द्र हो । परापूर्वकालदेखी नै मानविय गतिविधिको केन्द्र रही आएको इतिहास भेटिन्छ । यो खास गरी औद्योगिक र व्यापारिक केन्द्र हो । उद्योग र व्यापारको विकास भएको ठाउँमा स्वभाविक रूपले सडक, शिक्षा, स्वास्थ्य, सञ्चार आदि पूर्वाधारको पनि विकास भएको हुन्छ । पहिलेदेखि अहिलेसम्मै बुटवल पश्चिम नेपालको शिक्षा र स्वास्थ्यको पनि केन्द्र रही आएको छ । बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पताल, कालिका मानवज्ञान मावि, कान्ति मावि, नविन औद्योगिक मावि, न्यू होराइजन इन्स्टीच्यूट, आदि संस्थाहरू यसका उदाहरण हुन् । बुटवल औद्योगिक क्षेत्र जो २०३१ सालमा स्थापना भएको हो । प्राचिन बटौली बजारको इतिहास र योगदानलाई मध्यनजर गरी २०३१ सालमा नेपाल सरकारद्वारा बुटवल औद्योगिक क्षेत्र स्थापना गरिएको हो । बुटवलको पुरानो इतिहास केलाउने हो भने यो एक बाणिज्य केन्द्र हो । पहाडी क्षेत्र र तराई क्षेत्रका उत्पादनको साटासाटको केन्द्र हो यो । खेतीपातीको लागि उर्बर क्षेत्र पनि हो यो पहिले । परापूर्वकालदेखि र अहिले पनि यो वास्तवमा पर्यटकीय क्षेत्र हो । पुरापूर्वकालमा यो उत्तर दक्षिणको प्रवेशद्वार हो । त्यसैले यस क्षेत्रलाई अन्य विषयतर्फ नलागी अर्थात नअलमलिइकन पर्यटकीय क्षेत्रको रूपमा विकास र प्रबर्धन गर्नुपर्छ ।
झण्डै तीन दशक लामो सक्रिय पत्रकार र सामाजिक कार्यकर्ताको रूपमा बुद्धवल्लीमा यायावरीय अनुभूतिको आधारमा म स्पष्टसँग भन्छु– यस क्षेत्रको विकासको मुख्य आधार पर्यटन हो । बुटवलको पर्यटकीय विकासका आधार मुख्य रूपले २ वटा सम्पदा हुन । (१) जितगढी किल्ला र (२) आदिमानव रामपिथेकसको विचरण क्षेत्र । यि दुई सम्पदाको पर्यटकीय विकास र प्रबर्धन गर्ने हो भने बुटवलमा संसारभरीका पर्यटक आकर्षित गर्न सकिन्छ । आन्तरिक र बाह्य पर्यटक यहाँ प्रशस्त आउँछन् । शाक्यमुनि बुद्धको जन्मस्थल रूपन्देही स्थित लुम्बिनी र २९ वर्ष सम्म जीवन व्यतित गरेको राजदरबार क्षेत्र कपिलबस्तु स्थित तिलौराकोटको भ्रमणमा आउने संसारभरका पर्यटकलाई बुटवलमा पनि आकर्षित गर्न सकिन्छ । यि दुई सम्पदाको विकास र प्रबर्धन गरी बुटवललाई लुम्बिनी पर्यटन चक्रमा समावेश गरिनु पर्छ । बुटवललाई बुद्धबल्ली अर्थात बुद्धले विचरण गरेको स्थलको रूपमा पनि पर्यटकीय विकास र प्रबर्धन गर्न सकिन्छ । बुद्धले विचरण गरेको स्थल नै हो यो । जितगढी क्षेत्रलाई पर्यटकीय विकास र प्रबर्धन गर्नको लागि यसलाई विश्व सम्पदामा सुचिकृत गराइनुपर्छ । यसको व्यापक उत्खनन गरी यो गढीको ऐतिहासिक तथ्य र प्रमाणहरू प्रकाशमा ल्याउनुपर्छ । यसको अतिक्रमण रोक्नुपर्छ । यसलाई मौलिक रूपमै राखेर पर्यटकीय संरचनाहरू निर्माण गरिनुपर्छ । जितगढीमा रहेको भनिएको लामो दुरीको सुरुङ् मार्ग उत्खनन गरी प्रकाशमा ल्याउनुपर्छ ।
इतिहासका केही पुस्तकहरूमा १८७२ सालमा बुटवलमा भएको नेपाल अङ्ग्रेज युद्धमा, युद्धका नेपाली सेनाका कमाण्डर उजिरसिंह थापाले पाल्पाको नुवाकोट गढीबाट सुरुङ्मार्ग हुँदै जितगढीमा ओर्लेर अङ्ग्रेजको मुकाविला गरेको भनि लेखिएको पाइन्छ । जनश्रुतिमा पनि जितगढीमा सुरुङ् मार्ग रहेको भन्ने गरेको पाइन्छ । यसकारण यसको वास्तविकता उत्खनन गरी प्रकाशमा ल्याउनु पर्छ । यदी यो सुरुङ् मार्ग पत्ता लगाउन उत्खनन कार्य कठिन भयो भने जनश्रुतिलाई आधार मान्दै जितगढी किल्ला देखि मणिमुकुन्द सेन उद्यान (फुलबारी) सम्म नयाँ सुरुङ् मार्ग निर्माण गर्नुपर्छ । यो प्रस्ताव अहिले पत्यार नलाग्न सक्छ तर भविष्यमा यो सम्भव हुनेछ । मैले मणिमुकन्द सेन उद्यान (फुलबारी) समितिको बैठकमा मोतिराज ज्ञवालीको अध्यक्ष कार्यकालमा वि.सं. ७० को दशकमा फुलबारीदेखी नुवाकोट गढीसम्म पैदल मार्गको रूपमा सिँढी मार्ग निर्माण गरिनुपर्छ भन्दा साथीहरूले पत्यार गर्नुभएको थिएन । यो अहिले कार्यान्वयन हुँदैछ । जितगढीका नायक कर्णेल उजिरसिंह थापालाई राष्ट्रिय विभुति घोषणा गरिनुपर्छ । यसले बुटवल क्षेत्रको राष्ट्रिय पहिचान बन्नेछ । जितगढीमा नेपाल सरकार र विदेशी संघ संस्थाहरूको ध्यानाकर्षण हुनेछ । अहिले जितगढीमा उजिरसिंह थापा सहित नेपाल अङ्ग्रेज युद्धमा नेपाली सेनाको तर्फबाट महत्वपूर्ण योगदान गरेका विर सेनानीहरूको शालिक निर्माण गरी इतिहास संरक्षण गरिएको छ । जितगढीलाई पर्यटकीय प्रबर्धन गर्न नेपाल अङ्ग्रेज युद्ध प्रतिबिम्बित गर्ने डमी (छाया चित्र) निर्माण गरिएको छ । जितगढी र उजिरसिंह थापाको योगदान र इतिहासका बारेमा विवाद वा मतभेद छैन । अब यसको पर्यटकीय प्रबर्धन गर्नुपर्छ । नहिचकिचाइकन यस विषयमा राष्ट्रिय एकता हुनुपर्छ । उजिरसिंह थापालाई राष्ट्रिय विभूति घोषणा गर्न सकियो र जितगढीलाई विश्व सम्पदामा सुचिकृत गर्न सकियो भने बुटवलको महिमा अन्तराष्ट्रिय जगतमा समेत स्थापित हुनेछ । उजिरसिंह थापा एक कुशल सैनिक कमाण्डर मात्र होइनन्, उनी कुशल प्रशासक, देशका रक्षक, कुटनीतिज्ञ, थिति (कानुन) का निर्माता, धर्म र संस्कृतिका रक्षक पनि हुन । तसर्थ उनी राष्ट्रिय विभूतिकालागि लायक पात्र हुन् । उनको बहुआयामिक योगदान छ । यदि बुटवलमा भएको नेपाल अङ्गे्रज युद्धमा नेपाली सेनाले अङ्ग्रेजलाई नहराएको भए आज बुद्धजन्मस्थल लुम्बिनी नेपालमा हुँदैनथ्यो । नेपालको नक्सा नै अर्कै हुन्थ्यो । त्यसैले यो योगदानको मुल्याङ्कन ढिलो चाँडो हुनेछ, हुनै पर्दछ ।
बुटवलको अर्को महत्वपूर्ण पर्यटकीय सम्पदा हो– रामपिथेकसको दाँतको बङ्गारा भेटिएको स्थल । एक करोड दश लाख वर्ष पुरानो मानव जातिको अवशेष रामपिथेकसको दाँतको बङ्गारा भेटिएको स्थल खासमा बुटवलको सिमावर्ती इलाका पाल्पा जिल्लाको तिनाउ गाउँपालिकाको दोभानमा पर्दछ । सिमावर्ती क्षेत्र भएकाले बुटवल पनि रामपिथेकसको विचरण स्थल हो । बुटवलको सिद्धबाबा मन्दिरले निर्माण गराएको रामपिथेकस उद्यान बुटवलमा रहेको छ । बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकाको दोभान वडाको सहकार्यमा बुटवल–दोभान क्षेत्रमा प्रागऐतिहासिक क्षेत्र निर्धारण गरी रामपिथेकस सम्बन्धी अध्ययन, अनुसन्धान र भ्रमण तथा अवलोकन क्षेत्र निर्माण गर्नुपर्दछ । यसलाई विशेष पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नुपर्दछ । बुटवल–दोभान क्षेत्रलाई एक करोड दश लाख वर्ष अघिदेखि मानवीय विचरण स्थलका रूपमा एक महत्वपूर्ण पर्यटकीय क्षेत्रको रूपमा विकास र प्रबर्धन गर्नु पर्दछ । यसो गर्न सकियो भने यहाँ संसारभरका पर्यटक आकर्षित गर्न सकिन्छ ।
बुटवललाई पर्यटकिय क्षेत्रको रूपमा विकास र प्रबर्धन गर्न प्राचिन बटौली बजार, पाँच सय वर्ष पुरानो मणिमुकुन्द सेन उद्यान (फुलबारी), सिद्धबाबा मन्दिर आदि सम्पदा सहायक आधार हुन । यहाँ आउने पर्यटकलाई घुमाउन र भुलाउन अर्थात बसाई अवधी लम्ब्याउन यि सहायक सम्पदाको पनि महत्वपूर्ण योगदान रहन्छ । बुटवललाई प्रागऐतिहासिक, ऐतिहासिक, सामरिक, साँस्कृतिक, पुरातात्वीक सम्पदाको पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सकिन्छ । साहसिक पर्यटनका लागि पनि यो महत्वपूर्ण गन्तव्य बन्नेछ । बुटवलदेखि पाल्पाको बसन्तपुर डाँडा र बुटवलदेखि पाल्पाको नुवाकोट डाँडासम्म पैदल मार्ग निर्माण गरि ट्रेकिङ्ग क्षेत्रको रूपमा विकास गर्न सकिन्छ । नुवाकोट डाँडामा प्याराग्लाइडीङ्गको पनि सञ्चालन गर्न सकिन्छ ।
यसरी भविष्यमा बुटवल एक महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्ने छ । बुद्धले विचरण गरेको स्थल, विश्वविजयी अङ्ग्रेजको विजय यात्रा टक्क रोकिएको स्थल जितगढी र रामपिथेकस क्षेत्रको रूपमा यो विश्व प्रसिद्ध बन्ने छ । बुटवललाई बुद्धबल्ली अर्थात बुद्धले विचरण गरेको स्थलको रूपमा चित्रण गरेको योगी नरहरी नाथले हो । योगी नरहरीनाथ नेपालको प्राचिन इतिहास सम्बन्धी अद्वितिय अध्येता एवं विद्वान हुनुहुन्छ । उहाँले बुटवल ट्राफिकचोकको दुर्गा मन्दिरको एक शिलालेखमा बुद्धवल्ली भनि लेखाउनु भएको छ । भविष्यमा बुटवल पर्यटकीय विश्रामस्थलको रूपमा पनि प्रसिद्ध बन्ने छ । बुटवलमा अहिले पनि साना ठूला गरी ५ सय बढी होटल तथा रेष्टुरेन्ट सञ्चालित रहेको तथ्याङ्क छ । निकट भविष्यमा बुटवल आसपासका नगर तथा गाउँपालिकालाई समेट्दै महानगरका रूपमा स्तरोन्नती हुनेछ । यसका पूर्वाधार निर्माण सम्बन्धी योजनाहरू अब महानगरका रूपमा काम लाग्ने खालका बनाइनुपर्छ । बुटवल उपमहानगरपालिकाको नीति तथा कार्यक्रम अब बुटवललाई एक महत्वपूर्ण पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने तर्फ केन्द्रित गरिनु उचित र दुरदर्शीता हुनेछ ।