© २०२३
गुल्मी, १ माघ । माघे संक्रान्ति पर्वको अवसरमा आजदेखि गुल्मीको धार्मिक एवं ऐतिहासिक स्थल रुरु क्षेत्रमा माघे संक्रान्ति मेला शुरु हुँदैछ । गुल्मी, पाल्पा र स्याङ्जाको सँगम स्थल रुरु क्षेत्रमा स्थानीय रुरु फ्रेण्ड्स क्लब र फ्रेण्ड्स क्लबको मुख्य आयोजनामा मेला सञ्चालन हुन लागेको हो ।
भोलिदेखि शुरु हुन लागेको मेला यसपटक छ दिनसम्म सञ्चालन हुने बताईएको छ । मेलाको सम्पूर्ण तयारी पुरा भएको मेला आयोजक संस्था रुरु फ्रेण्ड्स क्लबका अध्यक्ष सोबित थापाले जानकारी दिएका छन । गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको सँगम स्थल रिडी क्षेत्रको कालीगण्डकी नदीमा माघे संक्रान्तिको दिन स्नान गर्नका लागि आजदेखि नै श्रद्धालुहरूको चहलपहल शुरु भैसकेको छ ।
संक्रान्तिको दिन तीन जिल्लाको संगम स्थल कालीगण्डकी नदीमा स्नानगरि नजिकै रहेको भगवान ऋषिकेषको मन्दिरमा पूजाआजा र दर्शन गर्नाले देब ऋण, पितृ ऋण र ऋषि ऋणबाट मुक्त हुने जनविश्वास रहिआएको छ । कालीगण्डकीमा स्नान गर्नाले आफूले अन्जानमा गरेका सम्पूर्ण पापहरू नष्ट भई मोक्ष प्राप्ती हुन्छ भन्ने जनविश्वास छ । नेपालकै चारधाम मध्यको एक धामको रूपमा प्रसिद्ध रुरुक्षेत्रमा मेला हेर्न र स्नान गर्नका लागि नेपालका अन्य जिल्लादेखि भारतबाट समेत भक्तजनहरूको घुँईचो लाग्ने गर्दछ ।
मकर संक्रान्तिको अवसर सञ्चालन हुन लागेको रिडी मेलामा विशेषगरि हातबाट बुनेका कम्मल, काम्ला, राडी–पाखी लगायत बाँस तथा चोयावाट निर्मित सामग्रीहरूका साथै ओखरका घाँजी, गुँड, सुन्तला लगायतका वस्तुको राम्रो व्यापार हुने गर्दछ । माघे सँक्रान्तिको अवशरमा आयोजना हुने मेलामा व्यापारका लागि प्यूठान, वाग्लुङ्, रुकुम, रोल्पा लगायतका ठाउँवाट व्यापारीहरू आइतबारनै रिडी आईपुगेका छन । मेलामा रुरुक्षेत्र गाउँपालिका र कृषि ज्ञानकेन्द्रको आयोजनामा कृषि मेला प्रदर्शनीको आयोजना गरिएको छ । प्रदर्शनीमा घरेलु उत्पादित सामग्री लगायत कृषि उपजका वस्तुहरू प्रदर्शनमा राखिने कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले जानकारी गराए । मेला अबधिभर स्थानीय एवं राष्ट्रिय कलाकारहरूको साँगितिक प्रस्तुति समेत राखिएको छ । मेलालाई व्यवस्थीत रूपमा सञ्चालनका लागि स्थानीय एक दर्जन भन्दा बढी संघ संस्थाहरूको पनि सहयोग रहेको क्लबका अध्यक्ष थापाले बताएका छन ।