© २०२३
सुनवल, २५ पुस ।
चिसो बढ्दै गएपछि पश्चिम नवलपरासीको सदरमुकाम परासीमा रामग्राम नगरपालिकाले निशुल्क दाउरा वितरण गरेको छ । नगरवासीलाई चिसोबाट जोगाउन सार्वजनिक स्थानमा धुनी बाल्नका लागि दाउरा वितरण गरिएको स्थानीय वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक धनिराम यादवले बताए ।
नगरपालिकाले खरिद गरेर मानिस बढी भिडभाड हुने स्थान र चोक चोकमा दाउरा वितरण गरेको छ । चिसोको समयमा गरिव विपन्न वस्तीमा हुन सक्ने समस्यालाई मध्यनजर गर्दै १८ ओटै वडाका विभिन्न स्थानमा दाउरा र आवश्यक समाग्रि वितरण गर्ने नगरपालिकाले जनाएको छ । पछिल्लो केही दिन देखि यस क्षेत्रमा चिसो बढेको छ, बाक्लो हुस्सुका कारण जनजिवन प्रभावित भएको छ ।
चिसो बढ्दै गएपछि गरिव विपन्न परिवार समस्यामा रहेका छन् । जिल्लाका विभिन्न स्थानमा रहेका मुसहर बस्ती चिसोले बढि मारमा परेका छन् । जिल्लाका सातै पालिकाले जाडोलाई लक्षित गरेर प्रभावकारी कदम चाल्न सकेका छैनन् ।
चिसाको कारण जिल्लाको जनजिवन प्रभावित भएको छ । केही दिन देखि राम्रो संग घाम नलाग्ने र बाक्लो हुस्सु लाग्ने गरेका कारण चिसो बढेको छ । तापक्रम घट्दै गएका कारण मानिसहरुको चहलपहल पनि विस्तारै कम हुदै गएको छ भने अस्पतालहरुमा चिसाको कारण श्वासप्रश्वास संग सम्बन्धित विरामीको चाप विस्तारै बढ्दै गएको छ ।