© २०२३
दोषीहरूमाथि दया गर्नु भनेको निर्दोषमाथि अन्याय गर्नु हो– एडम स्मिथ । आज मैले एडम स्मिथको धन सम्बन्धी परिभाषाको कुरा पनि गर्दिन, अर्थशास्त्र विषय बारे पनि चर्चा गर्ने छैन, बरु उनको जन्म थलोको बारेमा कुरा गर्नेछु । सायद, वर्तमान सहस्राब्दीका सबैभन्दा प्रभावशाली विचारक हुन् एडम स्मिथ, जसलाई अर्थशास्त्रका जन्मदाता भनिन्छ । उनको जन्मस्थल किर्काल्डीको यात्रा मेरो युके भ्रमणको सबैभन्दा आकर्षक यात्रा हुन पुग्यो । विकिपीडिया, नेपालीमा उनको जीवनी लेखेको लगभग १० वर्ष पछि मैले उनको जन्म गाउँको यात्रा गर्दै थिएँ । मेरा छोराछोरीले स्कटल्याण्ड घुम्ने योजना बनाएका थिए तर उनीहरूको रोड म्यापमा किर्काल्डी थिएन । राजधानी एडिनबरा पुगे पछि मैले एडम स्मिथको जन्म थलो जाने योजना थपें । एडिनबराबाट एउटा सानो रेलगाडी त्यहासम्म जाँदो रहेछ । आज स्कटल्याण्ड युकेको एक भाग हो तर स्कटिश चेतनाले आफू स्कटिश हुनुमा गौरव ठान्छन् । आजसम्म कै सर्वाेच्च आशावादी विचारक डेविड ह्युम, जसले मानिसको अमरताको कल्पना गरेका छन् र आर्थिक दर्शनका आदर्श विचारक एडम स्मिथ, जसले व्यक्तिको स्वार्थलाई समग्र हितमा उपयोग गर्ने सिद्धान्त दिए, लाई उनीहरूले स्कटिश भन्छन् ब्रिटिश होइन । अन्यत्र कतै देख्न नपाइने कुरा, उनको आफ्नो संसद र मन्त्रीमण्डल मात्र छैन, केन्द्रीय बैंक पनि छ, जसबाट उनीहरूले स्कटिश पाउण्ड निकाल्छन् । त्यसको मूल्य ब्रिटिश पाउण्ड बराबर नै हुन्छ । यस पाउण्डमा बेलायतकी रानी चित्र हुँदैन । एउटै देशमा दुई भिन्न तर समान मूल्यका मुद्रा चल्छन् । अब त रानीको मृत्यु पछि राजा चाल्र्स गद्दीमा छन् । उनको नामका पाउण्ड चल्तीमा आइसकेका छन् । म यु के हुँदा चाल्र्सका मुद्रा त्यति चल्तीमा आइसकेको थिएन । पाउण्ड नोटको चल्ती व्यापक हुनुअघि सम्पूर्ण बेलायतमा सुनको सिक्का प्रचलनमा थियो । यसलाई सोभरेन भनिन्थ्यो । यसको मूल्य नै बर्तमान पाउण्ड हो । त्यसैलेपनि ब्रिटिश पाउण्ड संसारको एक बहुमूल्य मुद्रा बनेको छ । उन्नाइसौं शताब्दी भरि सोभरेन प्रचलनमा रह्यो तर प्रथम विश्वयुद्धमा भएको ठूलो खर्चले गर्दा सुनको सिक्कालाई बन्द गर्न बेलायत बाध्य भयो तर मूल्य यथावत राख्दै उसले कागजको पाउण्ड निकाल्यो ।
स्कटिशहरूले युकेबाट स्वतन्त्रताको माग पनि गर्छन् बेला बेलामा । यसका लागि युकेले दोस्रोपटक जनमत संग्रह गराएको थियो वि.सं. २०७१ मा । रानी एलिजाबेथले त्यहाँका जनतासँग भेट गरिन् । उनीहरूको राय अनुसार गर्ने आश्वासन दिएर आइन् । जनमतमा स्वतन्त्रताको माग गर्नेहरूको बहुमत पुगेन, त्यस पछि अब यो माग स्कटल्याण्डमा हुने छैन भन्ने मानिएको छ ।
बेलायत स्वयं पनि अरूको अनुशासनमा नबस्ने देश हो । उसमा संसारमा राज गरेको स्वाभाविक अहम् छ । त्यो गरिमा राख्न यो देश निरन्तर प्रयत्नशील छ । जसलाई वर्तमान प्रधानमन्त्री ऋषि शुनक र राजा चाल्र्स दुवै प्रयत्नशील छन् । जसमा अमेरिकाले उसलाई सहयोग गरेको छ । भनिन्छ, दोस्रो विश्व युद्धमा प्रधानमन्त्री चर्चिल र रुजवेल्टमा यस सम्बन्धी सहमति भएको थियो । जसलाई दुवैले मानिआएका छनु । बेलायतको गरिमा र स्वतन्त्रताका लागि चर्चिलको ठूलो योगदान मानिन्छ । बेलायतको राजतन्त्र आजसम्म जीवन्त रहनुमा पनि उनको योगदान छ । दोस्रो विश्वयुद्ध संचालन गरिएको चर्चिलको कोठा बेलायतको आदर्श बनेको छ र त्यो कोठालाई चर्चिल म्युजियम बनाइएको छ ।
युरोपियन युनियनमा बसेको युके छिटै ब्रेक्जिट भइ बाहिरिनुमा पनि उसको संसारलाई राज गरेको अहम् नै मानिन्छ । बाहिर निस्केर खासै ठूलो उपलब्धि नभएको ठान्ने मानिसहरू त्यहाँ प्रशस्त छन् । एक थरी पुनः इयुमा मिसिने भन्ने माग गरिरहेका पनि छन् तर कन्जरवेटिभ दलका धेरै मानिसले बेलायतको नमिसिएको अस्तित्त्वलाई महत्तवपूर्ण ठान्छन् । यदि इयुमा गयो भने ब्रिटिश पाउण्डको सट्टा त्यहाँ युरोको चलन हुने छ । बेलायतको एक भाग भइकन पनि ठाउँ ठाउँमा उनीहरूले युनियन ज्याकका साथमा आफ्नो अलग झण्डा राखेको देखिन्छ । बजारमा स्कटिश पोशाक लगाएर ब्याग पाइप बजाइरहेका मानिसहरू देख्न पाइन्छ । युवा युवतीहरूले नयाँ गीत गाएर पैसा मागेको पनि एडिनबरामा देख्न पाइन्छ, टुरिस्ट क्षेत्रमा । तिनीहरूलाई मानिसहरूले धन पनि दिइरहेका हुन्छन् । इंग्ल्याण्डका मानिसहरूभन्दा अलि मिलनसार जस्तो लाग्छ, स्कटिशहरू । त्यसैले इंग्ल्याण्ड घुम्नुभन्दा स्कटल्याण्ड घुम्न बढी मन पराउँछन् पर्यटकहरू । स्कटिश पोशाक लगाएर एउटा फोटो मैले पनि खिचाएँ । नेपाली होटल भने स्कट ल्याण्डमा पनि पार्इँदो रहेछ, त्यहींबाट खाना मगाएर पाँचजना नाति नातिनी सहित हामी ११ जनाले खायौं । खाना ल्याउने काम जुवाईं लोकनाथले गर्नुभयो ।
साँझको बसाईं भने एउटा होस्टलमा गरेका थियौं । विद्यार्थीहरूको बिदा हुँदा छोटो अवधिका लागि त्यो होस्टल पर्यटकलाई बस्ने गरी भाडामा दिँदा रहेछन् । एडिनबराबाट छुट्टै रेल गाडीमा किर्काल्डी स्टेशन पुग्दा गोरखपुरबाट नौतनवाँ पुगे जस्तो लाग्यो । मानिसहरू एकदमै थोरै । स्टेशन पनि सानो । किर्काल्डी नेपालको हिसाबले राम्रो शहर भए पनि युकेको दृष्टिले गाउँ जस्तै हो, जसलाई उनीहरूले टाउन भन्दा रहेछन् । त्यति पुरानो ठाउँ, समुद्री बीचको नजिकमा रहेको र खेती पाती भएको पुरानो ठाउँ भइकन पनि किर्काल्डी शहर बन्न नसकेको देख्दा मलाई आश्चर्य लाग्यो । बेलायतको टाउन वा गाउँ पनि विकसित छन् । सडक, पसल, यातायात अनेक सुविधा छन् । तर सानो ठाउँ भएकोले पर्यटकहरू धेरै नजाने रहेछन् । बजारमा धेरै भीडभाड थिएन। चिया पसल, होटलहरू केही मात्रामा रहेछन् । बजारमा, सपिंग सेन्टर लगायतका ठाउँहरूमा मानिसको भीड देखिएन । बढी उमेर खाएका, अवकाश प्राप्त कर्मचारी जस्ता, कामकाजबाट टाढिएका मानिसहरू देखिए । लौरो टेकेर हिंड्ने वृद्ध वृद्धाहरू कोही एक्लै, कोही जोडासँग र कोही साथीहरूका साथ । बजारमा ठाउँ ठाउँमा काठका चौकीहरू राखिएका थिए, त्यहाँ टक्राक्, टुक्रुक् बसेका देखिन्थे, नेपालका गाउँको सम्झना भयो, युवाविहीन र पाका पुस्ताको मात्र उपस्थिति भएको । डा. बेनु त्रिपाठीको नेतृत्वमा टोलीका आठ जना त्यहाँ गएका थियौं । एउटा चिया पसलमा गएर चिया नास्ता ग¥यौं र एडम स्मिथको घर कहाँ छ, त्यो गुगल, म्यापमा खोज्न थाल्यौ । नजिकै रहेछ । एडम स्मिथले ग्लास्गोमा पढे र त्यहाँ मोरल फिलोसोफी पढाए, प्रोफेसर भए, कर संकलनका प्रमुख बने । नोकरी गरे तर हमेशा आमाको छायाँमा पाँच वर्षको एक बालक जस्तै रहे । विवाह पनि गरेनन् । जन्म हुँदा गर्भे टुहुरा एडमस्मिथ फेरि एक पटक टुहुरा बने आमा बितेपछि । बुढी आमाले आफ्ना छोराको मृत्यु पर्यन्त बालकले जस्तै स्याहार गरिन् । आमाले खाना पकाएर नदिएमा उनी बुढेसकालमा समेत भोकै हुन्थे । आमापछि उनको स्याहार गर्ने कोही भएनन् र आमाका मृत्युको चार वर्ष पछि थलिएर ७३ वर्षको उमेरमा वि.सं. १८५३ मा उनको मृत्यु भयो । एडम स्मिथलाई हामीले अर्थशास्त्रको जन्मदाता भनेर चिन्छौं । उनले संसारलाई धनलाई हेर्ने एक नयाँ दृष्टिकोण दिएका हुन् । यस दृष्टिकोणलाई सम्पूर्णतः आत्मसात गर्यो अमेरिकाले । आज संसारको धनी देश बन्नुमा उनले वि.सं. १८३३ मा लेखेको वेल्थ अफ नेशन्सको प्रभाव पनि एक कारण हो भनी अर्थशास्त्रीहरूले स्वीकार गरेका छन् । आर्थिक विकासलाई सर्वोपरि मान्ने सिद्धान्तका प्रतिपादक एडम स्मिथको घर अझै पनि पिछडिएको ठाउँमा छ भन्दा अतिशयोक्ति होला तर युकेको हिसाबले त्यो गाउँ ठूलो शहर बन्न सकेको छैन, त्यो भन्न सकिन्छ । आजसम्म शहर बन्न नसकेको किर्काल्डी उनको जन्मको समय वि.सं. १७८० ताका कति पिछडिएको होला, आज दुई ढाई सय वर्षपछि त्यसको अनुमान गर्न निकै गाह्रो छ । किनभने संसारले आर्थिक विकासमा अकल्पनीय उपलब्धि हासिल गरेको छ । गेटमा लेखिएको थियो यो घर त्यही जहाँ एडम स्मिथको जन्म भएको हो तर आज यो एक निजी सम्पत्ति हो । भित्र जान निषेध छ । यो सूचना बाहेक त्यहाँ एडम स्मिथको स्मृतिको कुनै कुरा छैन । कोही त्यस घरमा छ कि छैन त्यो मैले थाहा पाइन । युकेमा ससाना घरपनि सुनसान लाग्छ । उभिएर कसैको घरमा हेर्न पाईंदैन । कसैको घरमा उभिएर एक छिन हे¥यो भने पुलिस सोध्न आइपुग्छ, तपाईं यहाँ उभिएको धेरै बेर भयो । कसैसँग केही काम छ कि ? भन्दै ।
निजी सम्पत्तिमा बाहिर उभिएर फोेटो लिएँ । त्यस सानो रेलवे स्टेशनमा एडम स्मिथको म्युजियम बनाएको रहेछ । त्यहाँ उनको जीवनी, पुस्तक परिचय आदि सविस्तार दिएको थियो । उनले लेख्ने कलम र मसीको भाँडो राखेको थियो । उनको एउटै मात्र फोटो जताततै बनाइएको थियो, उभिएको फोटो । एडम स्मिथसँग सम्बन्ध स्थापित गर्न अठारौं शताब्दीमा लगाइने कोट र टोपी लगाएर मोबाइलमा फोटो खिचें । फोटो खिच्ने काम बेनु, अनुराज र भागीरथीले गरे । आज अर्थशास्त्रका विद्यार्थी र शिक्षकको प्रेरणा एडमस्मिथ हुन् तर उनको प्रेरणाका पात्र तीनजना छन् एउटा उनकी आमा जसको वात्सल्य उनले सन् १७८६ सम्म प्राप्त गरे । अर्को उनका गुरु, ग्लास्गोमा मोरल फिलोसोफीका प्रोफेसर फ्रान्सिस हचेसन जसको प्रभावले वेल्थ अफ नेशन्स जस्तो पुस्तक लेखिएको हो र तेस्रो प्रभावशाली दार्शनिक डेविड ह्युम । जसका आशावादी विचारले विलियम पिटको शासन व्यवस्था संचालित थियो र उनको कतिसम्म प्रभाव थियो भने उनका आशावादी विचारको खण्डन गर्नका लागि माल्थसले नाम लेखेर खण्डन गर्ने सामथ्र्य नभएर गुमनाम निबन्ध एन एसे अन पपुलेन लेख्न पयो । एकछिन एडम स्मिथसँग र वेल्थ अफ नेशन्ससँगको निकटता उनले पाएको आमाको वात्सल्य, आमालाई बुढेसकालसम्म उनले गरेको सम्मान र प्रेम, गुरुलाई उनले गरेको आदर तथा ह्युमका आशावादी विचारको चिन्तन गर्दै किर्काल्डीबाट एडिनबरातिर फर्कें ।