© २०२३
बुटवल, २१ पुस ।
बुटवलको ऐतिहासिक जितगढी किल्लामा नेपाली सेनाद्वारा बुटवल उप–महानगरपालिकालाई किल्ला हस्तान्तरण गर्ने कार्यक्रम आयोजना गरिएको थियो । जसमा प्रमुख अतिथि थिए राष्ट्रपति रामचन्द्र पौडेल । विशिष्ट अतिथिका रुपमा रहेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले गरेको भाषणमा पटकपटक चिप्लिएपछि हाँसोको पात्र बनेका छन् ।
कार्यक्रममा अन्य सबैजसो अतिथिहरु राष्ट्रपति रामचन्द्र पौडेल, बुटवल उपमहानरपालिकाका प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्यालले लिखित रुपमा सम्बोधन गरेकोमा मुख्यमन्त्री चौधरीले भने लिखित नभै मौखिक सम्बोधन गरे ।
उनले बुटवल उपमहानगरपालिकालाई पटकपटक ‘उपनगरपालिका’ भनेर संम्बोधन गरे । उनले यसरी ‘उपनगरपालिका’ भनेर सम्बोधन गर्दा मुख्यमन्त्रीको सचिवालयको समेत दर्शक दीर्घाबाट आलोचना भएको थियो । ‘कमसेकम लिखित रुपमा त बोल्नुपर्छ, मिष्टेक हँुदैन’ भन्ने आवाज समेत दर्शक दीर्घाबाट आएको थियो ।
मुख्यमन्त्री चौधरीले राष्ट्रपति रामचन्द्र पौडेल भन्नुपर्नेमा पटकपटक सम्माननीय प्रधानमन्त्री समेत भन्न भ्याएका थिए ।
सम्बोधन गर्ने क्रममा मञ्चमा उपस्थित संघीय सरकारको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्र राजआचार्य उपस्थित भएपनि मुख्यमन्त्री चौधरीले भने मन्त्रालयको नाम सही ढंगले भन्न सकेनन् । उनले महिलामन्त्री मात्रै भनेर संम्बोधन गरेका थिए ।
मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले केही समय पहिला गुन्डा नाईके’ को रुपमा रहेका सरोज थापा उर्फ रोज राणालाई प्रदेशको मन्त्री बनाएपछि पनि आलोचित भएका थिए । उनले मन्त्री बनाएपछि उनको अर्को खेमा अहिले चर्को आलोचनामा उत्रिएको छ ।
मुख्यमन्त्रीको विशेष कार्यक्रममा संम्बोधन लेख्ने, तयार गर्ने वा विवरणहरु उल्लेख गराउने भन्दै जम्बो ‘सचिवालय’ समेत बनाएको भएपनि पटकपटक मुख्यमन्त्रीले यस्ता विशेष कार्यक्रममा सचिवालयको काम नदेखिँदा मुख्यमन्त्रीको ‘सचिवालय’ पनि आलोचनाको पात्र बनेको छ ।