© २०२३
बुटवल, १७ पुस । सोमबार अपराह्न विद्यालयबाट फर्किएका कक्षा ३ पढ्ने ८ वर्षीय सागर चौधरीको बसको ठक्करबाट मृत्यु भएपछि अवरुद्ध भएको सडक खुलेको छ । जनकल्याण माध्यमिक विद्यालय दुधरासका विद्यार्थीलाई सम्झाइबुझाइ गरेर बाटो खुलाएको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसी बताए ।
भे १ ख ३६९७ नम्बरको बसले ठक्कर दिँदा सागरको घटनास्थलमा मृत्यु भएको थियो । ठक्करपछि विद्यार्थीहरूले इलाका प्रहरी कार्यालय तुलसीपुरको गाडी र बसमा तोडफोड गरेका थिए । लगत्तै उनीहरूले तुलसीपुर–घोराही सडकखण्ड अवरूद्ध गरेका थिए । पीडित पक्ष, प्रहरी प्रशासन र बस समितिका बीचमा सहमति भएपछि सडक मध्यराति खुलेको हो । मंगलबार पनि विद्यार्थीहरूले विद्यालय बन्द गरी फेरि सडक अवरुद्ध गरेका थिए ।
प्रहरी स्रोतका अनुसार बस धनीले बीमाबापत पाँच लाख र थप पाँच लाख मृतक परिवारलाई दिने सहमति भएको थियो । बालकको शव पोष्टमर्टमका लागि तुलसीपुरस्थित राप्ति प्रादेशिक अस्पतालमा राखिएको छ । पोष्टमार्टमको तयारी भइरहेको र त्यसपछि परिवारले शव बुझ्ने सहमति पनि भइसकेको छ ।