© २०२३
सल्यान, १५ पुस । सल्यानमा एक सय २७ जनाले नयाँ दृष्टि पाएका छन् । जिल्लाको शारदा नगरपालिकाले सञ्चालन गरेको निःशुल्क आँखा स्वास्थ्य शिविरमा एक सय २७ जना मोतियाविन्दुका बिरामीलाई सल्यक्रिया गरेर उज्यालो प्रदान गरिएको हो । शिबिरमा नौ सय ११ जनाले सेवा लिएको पनि नगरपालिकाले जनाएको छ ।
शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारीले शल्यक्रिया गरेका बिरामीहरूलाई चस्मा र औषधी बितरण गरे । आफूहरू जेष्ठ नागरिकको स्वास्थ्य प्रती सदैब चिन्तित रहेकाले जेष्ठ नागरिक लक्षित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको बताउँदै प्रमुख भण्डारीले भने, ‘मोतियाबिन्दुको सफल शल्यक्रिया पश्चात् आँखा देखेका जेष्ठ नागरिकको मुहारमा छाएको खुशी देख्दा मलाई निकै सन्तुष्टी मिलेको छ ।’ नेपाल नेत्रज्योति संघ कर्णाली प्रदेशको आर्थिक सहयोग र राप्ती आँखा अस्पताल रक्षाचौर दाङको प्राबिधिक सहयोग तथा सल्यान आँखा उपचार केन्द्रको ब्यवस्थापनमा निःशुल्क आँखा स्वास्थ्य शिविर संचालन गरिएको हो । कार्यक्रममा आर्थिक र प्राबिधिक सहयोग गर्ने संस्थालाई नगरपालिकाले कदर पत्र प्रदान गरेको थियो ।
शिविर समापन कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत लिलाधर बबाल, नेपाल नेत्रज्योति संघ कर्णाली प्रदेशका कार्यक्रम संयोजक प्रकाश भट्ट, राप्ती आँखा अस्पताल रक्षाचौर दाङ डाक्टर सन्तोष सुवेदी, सल्यान आँखा उपचार केन्द्रका अध्यक्ष केशब बुढाथोकी, आँखा उपचार केन्द्रका प्रमुख नबिना चौधरी लगायत प्राबिधिक टिम, आँखाका बिरामी र स्थानीयहरूको सहभागिता रहेको थियो । शिविरबाट दृष्टिविहीनताको न्यूनीकरण हुनुका साथै आर्थिक अभाव तथा अन्य कारणले घरमै दृष्टिविहीन भएर बसेकालाई सहज भएको शारदा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र हमालले बताए ।