© २०२३
झन् झन् गाँठो पर्दै पर्दै आएका
सप्पै सप्पै बन्धन तोडेर
मुक्तिको गन्तव्यमा पुग्ने बाटो
सुरु हुन्छ–
साना साना प्रश्नहरूबाट
तर, सप्पै सप्पै मौन छन्
कोही गरिरहेका छैनन्
ससाना प्रश्नहरू
सोधिरहेका छैनन्—
अनुहारमा गहिरो खाडल बनेर
धसिएका हाम्रा गालाहरूका बीचमा
वर्षौंपछि अचानक
एकैछिनका लागि मिसिन आइपुगेका
यी अति पुष्ट र चिल्ला
कसका हुन् गालाहरू ?
हाम्रा अर्धनग्न आङलाई जिस्काउँदै
तिनका गलामा झुन्डिएका
कसले गाँसेका हुन् ती मालाहरू ?
सारङ्गीजस्ता करङहरूलाई
वर्षौंपछि फेरि
झूटको जुठो र कागजको मुठोले
ठेल्दै र पेल्दै
भोको हाम्रो बस्तीमा पसिरहेका
भीमकाय यी
अगस्ति भुँडीहरू कसका हुन् ?
आफ्ना सात पुस्ताका लागि
गगनचुम्बी होटेल, महल, मल र कर्पोरेट हाउसको
निर्माण योजना बनाउँदै
सुकुमबासी हाम्रा लागि
वर्षौंपछि फेरि
नक्कली सुर्ता देखाउनेहरू यी को हुन् ?
नक्कली पुर्जा देखाउनेहरू यी को हुन् ?
मनको घाउ त देखिन्न बरै !
तर, हातका ठेला फुटेर
दुखिरहेको घाउ हेर्दै टोलाइरहेको
हाम्रो एकसुरे ध्यान भङ्ग गर्दै
वर्षौंपछि फेरि
राशिअनुसारका
बहुमूल्य पत्थर र सुनका औंठीले सुसज्जित
सुकोमल औंलाहरू जोडेर
हामीलाई नमस्कार गरिरहेका
यी हातहरू कसका हुन् ?
अहँ,
कोही गरिरहेका छैनन् प्रश्नहरू
ससाना प्रश्नहरू
जबकि,
सप्पै सप्पै बन्धनहरू
केवल तोडिनका लागि हुन् ।
सन् २०१७, जनवरी, बुटवल ।