© २०२३
धार्मिक द्वन्द्व भन्नाले विभिन्न धर्मका अनुयायीहरू बीचमा उत्पन्न हुने बाह्य तथा अन्तरविरोध, असहमति, वा झगडालाई बुझिन्छ । धार्मिक द्वन्द्व विशेषतः राजनीतिक, सामाजिक वा सांस्कृतिक मुद्दाहरूसँग सम्बन्धित हुन्छ । धार्मिक द्वन्द्वले विश्वका धेरै देशहरू हिंसा, अन्याय, वा युद्धको कारण बनेका छन् ।
हाम्रो देश नेपाल विविध विचार, सोच, दृष्टिकोण, मूल्य मान्यता, संस्कृति, व्यवहार तथा फरक–फरक मत भएका मानिसहरूको साझा थलो हो । हरेक मानिस स्वभावतः फरक हुन्छ र उसको अर्को व्यक्ति, समाज, परिस्थिति र संसारलाई हेर्ने नजर नै भिन्न हुन्छ तर त्यही फरक र विविधताका बीचमा एकता हुनु पनि नेपालको मौलिक विशेषता हो । पछिल्लो केही समय यता देशका जिम्मेवार ब्यक्तिहरुका अभिब्यक्ति, सरकारका निर्णय, गतिविधिहरुको पक्ष र बिपक्षमा तर्क राख्नेहरुले सामाजिक संजालका वालहरु भरिएका छन् । तिनै स्टाटसमा कमेन्ट गर्नेहरुका कारण शान्त एवं पवित्र भूमि नेपालको वातावरण क्रमशः धुमिल बन्दै गएको छ । केही दिन पहिले सरकारका जिम्मेवार मन्त्रीले दिएको अभिब्यक्तिसँगै एकाएक माहोल तातेको छ । यसै सन्दर्भमा देशका विभिन्न स्थानहरूमा हिन्दुहरुले अत्यन्तै श्रद्धा गर्ने गाईको हत्या गर्न लागेका बिभत्स तस्वीरहरु सामाजिक संजालहरुमा राख्ने काम भैरहेको छ । यसले हिन्दुहरुलाई उत्तेजित पारिरहेको अवस्था छ । यस्तो परिस्थितिलाई राज्यको नेतृत्व तहले अत्यन्तै सुझबुझपूर्ण तवरले समस्या समाधान र नागरिकहरुका बीचमा भाइचाराको सम्बन्ध सुदृढ गर्न भूमिका खेल्नुपर्नेमा उल्टै उत्तेजित बनाउने खालका अभिव्यक्ति प्रकट गरिनु निश्चय पनि निन्दनीय र खेदजनक छ ।
त्यसैगरी नेपाल सरकारले अधिकांश जनताको आस्था र विश्वासका धरोहरहरुमाथि अनावश्यक हस्तक्षेपमा मात्रै सक्रिय रहेन, बिदा कटौतीका नाममा हिन्दुहरुका चाडपर्वहरुमा दिइदै आएका बिदासमेत हटाउने दुष्प्रयास गरेको छ । यो दीर्घकालीन धार्मिक द्वन्द्वको बिजारोपण हो । त्यसको शुरुवात भइसकेको छ । सामाजिक संञ्जाल र अनलाइनमा जसरी विना कुनै तथ्य र तर्कका समाचार आइरहेका छन् यसले जातीय द्वन्द्वसंगै धार्मिक द्वन्द्वको मानसिक तयारी सुरु भइसकेको सन्देश दिएको छ । युरोपियन युनियन जोसंग हामीले आफ्नै देशका सामान्य दैनन्दिन कार्य सम्पन्न गर्नका लागि समेत अनुदान माग्यौं, कार्यक्रमहरु दियौं, त्यसैको परिणाम हो नेपालमा धार्मिक र जातीय द्वन्दको सुरुवात । सामाजिक सञ्जालमा देखिएका प्रतिक्रियाले नेपाली–नेपाली बिच गहिरो द्वन्द्वको बिजारोपण भइसकेको आभास पाइएको छ । पञ्चायतकालमा पनि यो मुलुकमा सबै धर्मावलम्बी थिए । राजदरवारको ठीक अगाडि मस्जिद थियो । हिन्दू राजाले दरवारबाट बाहिर निस्कंँदा उनको नजर सवैभन्दा पहिले मस्जिदमाथि पथ्र्यो होला तर नेपालमा कहिले पनि धार्मिक दङ्गा र उन्माद भएन । तर लोकतन्त्र आएको छोटो अवधिमा नै द्वन्द्वको लागि सवै मानसिक रुपमा तयार भइसक्नु मुलुकका लागि गम्भीर खतराको संकेत हो र विडम्बना पनि । जुन कार्यमा युरोपियन मुलुकहरु हात धोएरै लागेका थिए, उनीहरुले अपेक्षित सफलता पाउने वातावरण निर्माणमा राज्यका जिम्मेवार व्यक्तिहरु लाग्नु अर्को दुःखद् पक्ष हो । पश्चिमाहरु त्यसमा पनि नेपालको भलो चिताउन समेत कन्जुस्याइँ गर्नेहरुमा यति धेरै दम्भ बढी सक्यो कि नेपालमा के हुनुपर्छ के हुनु हुंदैन भन्ने बिषयमा उनीहरु सारा कुटनीतिक मर्यादा नाघेर बोल्न र व्यवहार प्रदर्शन गर्न थालेका छन् ।
कसैको धर्ममा गाई खाने होला, कसैको धर्ममा गाइलाई माताको रुपमा पुज्ने होला, सबैका आ–आफ्नै रितिरिवाज एवं परम्परा रहिआएका छन्; तर ती रीतिरिवाज अनि धर्मका आडमा समाजलाई भाँड्ने कुत्सित प्रयास सुरु हुन थालेको छ । जुनवेला संसदमा धर्म निरपेक्ष राष्ट्रको घोषणा हुँदै थियो त्यसबखत प्रचण्ड, ओली र देउवाजस्ता नेतृत्वहरुले मुस्कुराएर ताली ठोकेका मात्रै थिएनन् खुलेरै त्यस्तो व्यवस्थाको प्रशंसामा थुप्रै शब्दहरु खर्चिएका पनि थिए । फलस्वरूप मुलुक त्यतिबेला देखि नै धार्मिक द्वन्द्वको कुचक्रमा फस्न सुरु भएको थियो । नेपाल धर्म निरपेक्ष राष्ट्र घोषणा भएकै दिन क्रिश्चियनहरुका सर्वोच्च गुरु पोपका ब्याटिकन प्रवक्ताले नियमित पत्रकार सम्मेलनमा भनेका शब्द थिए– ‘प्रभुको दयाले एउटा इंटा थपिएको छ । अर्थात संसारको प्राचीनतम धर्मका नामले चिनिने एउटा मुलुक पतनतर्फ उन्मुख भयो र दक्षिण एसियामा हाम्रो मिशन अझ वढी सशक्त हुनेछ । अझ तत्कालीन समयमा भारतको केरलामा रहेको दक्षिण एसियाको सबैभन्दा ठूलो चर्चमा खुशीयाली मनाइएका समाचारहरु भारतीय संचारमाध्यमहरुले प्रकाशित गरेका थिए । नेपालको मामिलामा अन्य मुलुकले त्यसप्रकारको खुशी मनाउनुमा गम्भीर रहस्य लुकेको अनुमान स्वाधीन नेपालीले गरेका थिए । धर्म निरपेक्ष राष्ट्र घोषणा भएको दशक पनि नवित्दै नेपाली राजनीतिका खलपात्रहरुका कारण मुलुक धार्मिक द्वन्द्वको चपेटामा फस्ने अवस्था आइपुगेको सहजै अनुमान गर्न सकिन्छ ।
पछिल्लो समय युरोपियन युनियनले जसरी हाम्रो संबिधानमाथि नै धावा बोल्दै जातीय द्वन्द्व चर्काउन जुन हर्कत गर्न खोजेका छन् र त्यही हर्कतलाई धर्म, संस्कृति एवं सस्कार के–हो भन्नेमा विचार नपु¥याउनेहरुले गरिरहेका छन् । यसले पनि के दर्शाउँछ भने द्वन्द्वका लागि आधार तयार भयो कि भएन भनेर उनीहरुले परीक्षण गरिरहेका छन् । यसरी हाम्रोजस्तो मौलिक संस्कृति एवं पुर्वीय सभ्यताको जननी देशमा कुटनीतिक मर्यादा नाघेर बोल्ने अधिकार कसलाई पनि छैन । यसलाई नियन्त्रण गर्नु सरकारको सुझबुझपूर्ण कदम हुनेछ, अन्यथा स्वाधीन र मौलिक इतिहास बोकेको देश परचक्रीको हातमा हुनेछ । अतः धार्मिक द्वन्द्वलाई निरुत्साहित गर्दै एक–आपसमा भाइचाराको भावना अभिवृद्धि गराउने कार्यमा नेतृत्व पंक्ति लागोस् ।