© २०२३
बुटवल, १२ पुस । लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजनामा प्रधानमन्त्री कप पुरुष एक दिने प्रदेश क्रिकेट प्रतियोगिता शुरु भएको छ । सिद्धार्थनगर क्रिकेट स्टेडियम, भैरहवामा विहिबार भएको उद्घाटन खेलमा कपिलवस्तु जिल्ला क्रिकेटले विजयी शुरुवात गरेको छ ।
कपिलबस्तुले रुपन्देहीलाई ६१ रनले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।
टस जितेर ब्याटिङ रोजेको कपिलबस्तुले ४३ ओभरमा ८ बिकेटको नोक्सानीमा १ सय ६१ रनका लक्ष्य तयार गरेको थियो । मोहमद हुसैनले १० चौकाको मद्यतले ६९ बलमा ६८ रनको शानदार अर्धसतकीय पारी खेलेका थिए । यसैगरि गोबिन्द थारुले ३७ बलमा ४ चौका र एक छक्काको मद्यतले नटआउट ३२ रनको योगदान दिए । रुपन्देहीका बिष्णु कठायत र सन्तोष यादवले समान २—२ बिकेट लिएका थिए ।
मध्यम लक्ष्य पाएका रुपन्देहीका ब्याट्सम्यानहरु ३०.१ ओभरमा केवल एक सय रनमा समेटियो । ओपनर ब्याट्सम्यान मृनल गुरुङले ६४ बल खेल्दै २५ रन बाहेक कसैले दोहोरो अंकको रन जोड्न सकेनन । चौथो र पाचौ नम्बर ब्याटिङ गर्न मैदान छिरेका विश्वास खत्री र सन्तोष यादव शुन्यमा आउट भए । क्याप्टेन कृष्ण कार्की ३ रनमा पेभिलियन फर्किए ।
कम स्कोरमा रुपन्देहीलाई रोक्न कपिलबस्तुका बलर मोहमद हुसैनले १ मेडलसहित २० रन खर्चेर शानदार ४ विकेट लिए । यसैगरि सम्सुजमा खान र राज अग्रहरीले समान २—२ बिकेट लिएका थिए । खेलमा शानदार ६८ रन जोड्दै ४ बिकेट लिएका अलराउण्डर मोहमद हुसैन म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।
शुक्रबार नवलपरासी र पाल्पा टिमका बिचमा खेल हुने प्रदेश सदस्य तथा संयोजक प्रथम पराजुलीले बताए । छनौट खेल अन्तरगत सिद्धार्थनगरमा कपिलवस्तु, परासी, पाल्पा र रुपन्देही जिल्ला तथा लमहीमा बाके, बर्दिया र दाङ जिल्लाको खेल हुने छन ।