© २०२३
केही मानिसहरूले विगतको वारेमा निकै चिन्ता गरेको पाइन्छ भने केही मानिसहरूले विगत र भविष्यको वारेमा चिन्ता गरेको देखिन्छ । यसो किन हुन्छ भन्दाखेरी वर्तमानलाई उपयोग गर्न नसक्नेहरू विगत र भविष्यप्रति बढ्ता चिन्तित देखिन्छन् । यो सफेद सत्य कुरा हो । चिन्ता गर्नुको साटो चिन्तन गर्नुपर्दछ । चिन्ता भनेको पिर, सुर्ता वा ध्याउन्न हो भने चिन्तन भनेको गम्भिर रूपले सोंचेर प्रश्नको समाधान निकाल्ने प्रकृया या बिम्व वा प्रतिकका माध्यमबाट कुनै विषयको समाधान निकाल्ने प्रकृया हो । विगत वर्तमान र भविष्यलाई लक्षित गरेर त्यसको समाधान हुने नीति श्लोकमा लेखिएको छ । जुन संस्कृत भाषामा उल्लेख गरिएको छ । “गते शोको नकर्तव्यो भविश्यं नैव चिन्तयत् । वर्तमानेन कालेन प्रवतन्ते विचक्षण ।” अर्थात वितेका कुरामा शोक गर्नु र भविश्यको चिन्ता गर्नु उस्तै हो । साथमा वर्तमानलाई उपयोग गर्नु साह्रै ठूलो बुद्धिमानी हो ।
विगतमा भएका वा विगतमा विग्रिएका घटनाका वारेमा चिन्ता गर्नाले गर्नुपर्ने र हुनुपर्ने काम समेत विग्रन्छ भनिन्छ । वितेको घटना जसले मानव जीवनमा चिमोटिरहन्छ । मन असन्तुलित बनाईदिन्छ अनि तन, मन र धन समेत क्षीण बनाइदिन्छ । त्यसले अगाडि बढ्न दिंदैन । यसले या त पश्चगमनमा लैजान्छ या त यथास्थितिमा रहन वाद्य बनाउँछ । यस्तै भविष्यको वारेमा पनि धेरै चिन्ता गर्ने वा सुर्ता गर्नेहरूलाई पनि सुन्दर उज्यालोतर्फ सोंच गर्न दिंदैन । हरेक मानिस वा मुलुकको वर्तमानको कार्यकलापबाट भविष्यको बारेमा आफै थाहा लाग्छ । आज आँप रोपियो भने कागती नफलेर आँप नै फल्छ । आज ऐसेलु रोप्ने अनि भोलीका दिनमा सुन्तला खोजेर हुँदैन । आजको व्यवहारले भोलीको नतिजाको वारेमा आफै बोल्दैजान्छ । कतिपय मानिसहरू आजको ठिक कर्तव्य के हो भन्ने बारेमा विचार गर्दैनन् हिंजो कर्तव्य नजानेको कुरामा अल्झने गर्दछन् । बर्तमानमा क्रियाकलाप गर्न नजान्नेहरूले बिगतको कामबाट चिन्तित हुनुका साथै भविष्यको वारेमा झन चिन्ता जाहेर गर्दछन् । कतिपय मानिसलाई वर्तमानलाई भरपुर उपयोग गर्नुपर्छ भन्ने नै थाहा छैन । आफूले गर्ने सबै क्रियाकलाप अरूको इसाराबाट वा अरूको (अदृश्य शक्तिको) चाहना अनुसार हुन्छ भन्ने सोंचका पनि हुन्छन् । वास्तवमा यो सोंचको दरिद्रता हो । यस्तै सोंचमा दरिद्रता भएकाहरूले वर्तमानलाई उपयोग गर्न जान्दैनन् । अनि अदृश्य शक्तिको भरमा लगेर सबैकुरा विसाउने गर्दछन् ।
विगतको वारेमा चिन्ता होइन विगतको समीक्षा गर्नुपर्दछ । समीक्षाबाट आउने निष्कर्ष र सकारात्मक कुरालाई अंगीकार गरेर वर्तमानलाई भरपुर उपयोग गर्नु पर्दछ । भगवान दे खटिया उपरले हुँदैन । अदृश्य शक्तिको खटनपटनमा विश्वास गर्नुभन्दा आफ्नो बाहुबलमा विश्वास गर्नुपर्दछ । मेहनतमा विश्वास गर्नुपर्दछ अनि मेहनत गर्नमा लाग्नुपर्दछ । जसले वर्तमानलाई भरपुर उपयोग गर्न जानेको हुन्छ उसले भविष्य उज्यालो देख्छ । वर्तमानलाई भरपुर उपयोग गर्ने सुत्र नजानेकाहरूले विगतबाट पछुतो बोकेर आउँछन् अनि भविष्यको वारेमा गहन सोंचमग्न हुन्छन् । यही हो चिन्ता गर्ने भनेको । वर्तमानमा मेहनत बढाएर शिक्षा आर्जन, जनआर्जन, मन आर्जन वा धन आर्जन गर्नतर्फ लाग्ने हो भने शिक्षाले दिने उज्यालो बाटो , जन जनबाट पाउने साथ सहयोग र धनबाट टार्ने खाँचो पनि पूरा हुन जान्छ । वर्तमानमा शिक्षा आर्जन भएन, जन आर्जन भएन, मन र धन समेत आर्जन भएन भने भविष्यमा केही आर्जन हुन सक्दैन । मानव जीवनका लागि आर्जन गर्नुपर्ने कुराहरू नै यिनै हुन् । यसबाट जीवनका धेरै लक्ष्य पूरा हुन सक्छन् । शिक्षा छैन भने ज्ञान पनि छैन । जन छैन भने साथ संगत र अफ्ठेरो परेको समयमा सहयोग हुँदैन । मन आर्जन छैन भने अरू मनसंग आफ्नो मन जोड्न सकिदैन । धन आर्जन छैन भने आवश्यक्ता पुर्ति गर्न सकिदैन । हुन त यहाँ उल्लेख भएका कुराहरूमा सबैभन्दा पछिल्लो कुरा धन हो तर धरै मानिसहरू जसरी पनि धन आर्जन गर्न र जति पनि आर्जन गर्ने मनस्थितिमा रहेको देखिन्छन् । यही कारण हो देशको जिम्मेवारी बोकेर गएका अगुवाहरू कहिले भुटानी शरणार्थीका नाममा र कहिले किलोका किलो सुन काण्डमा आफूलाई संलग्न गराएर धन आर्जनतर्फ लागेको देखिन्छ । यहाँ उल्लेख भएको धन आर्जनको कुरा कुनैपनि हालतमा गैर कानुनी तरिकाले आर्जन गर्ने भनिएको होइन । अति मेहनत गरेर राम्रो तरिकाले धन आर्जन गरेका तमाम मानिसहरू पनि यो देश दुनियाँमा रहेका छन् । उदाहरणको रूपमा उनीहरूलाई हेर्नुपर्दछ । गैरकानुनी मार्ग अपनाएर धन आर्जन गरेकाहरूलाई छट्के नजरले पनि हेर्नु हुँदैन भन्ने लाग्दछ । उनीहरूले आफ्नो जीवनको मार्ग आफै बन्द गरेका हुन्छन् । त्यस्तै प्रवृतिका व्यक्तिहरू जीवनको अन्तिम घडीमा पुगेर पनि चिन्ताबाट बच्न सक्दैनन् ।
वर्तमानलाई भरपुर उपयोग गर्ने भनेको सबैभन्दा पहिले राजनीति गर्नेहरूले नै हो । उनीहरू नै धेरै संख्यामा निकै कम छन् र आज राजनीति गर्नेहरूलाई गाली गर्नुको सार पनि यही हो । हरेकका मन र मस्तिष्कमा यही छाप बसेको छ । गहिरो गरी हेर्ने हो र बुझ्ने हो भने देखिने चित्र पनि यही हो । उनीहरूलाई हिंजो दुई नम्वरबाट आएको धनले राम्रै फाइदा दिए होला तर आजमात्र नभएर भोली समेत पछुताउनु पर्ने छ । उनीहरू कहिल्यै चिन्तनमा होइन चिन्तामा डुविरहने छन् । त्यो समयको वर्तमान आज विगत भएको छ । त्यो समयको वर्तमानलाई राम्ररी उपयोग गर्न नजानेका कारणले गर्दा उनीहरूले विगतलाई सम्झेर अनि भविष्यको वारेमा पनि चिन्ता गरेर वित्नेछ । आज कति जेल तथा हिरासत भोग्दैछन् भने कतिले भोलीका दिनमा पनि थप भोग्नेछन् । उनीहरूले मात्र नभएर उनीहरूका सन्ततिले समेत केही मात्रामा अग्रजको क्रियाकलापको परिणाम भोग्नुपर्ने छ ।
वास्तवमा आफूलाई आदर्शव्यक्ति ठान्नेहरूले हिंजो गरेका कार्यको समीक्षा गर्ने र राम्रा काम कुरालाई अनुसरण गर्न नबिर्सने । खराव कुराहरू छन् भने त्यहीँ त्याग्नु पर्दछ । कोही खराव त्याग्न नजान्नेहरू पनि हुने गर्दछन् तर त्यस्ता व्यक्तिहरूले भोग्ने पनि यस्तै कुरा हो । आफ्नो कामले आफै शोक मनाउने अवस्था आयो भने त्यो भन्दा लाजमर्दो के हुन सक्ला ? जसले जीवन सफल बनाउने सुत्र नै थाह पाएको हुँदैन उसले जीवनभर पछुतो बोक्ने भन्दा अरू केही हुने छैन ।
हाम्रा ऋषिमुनीहरूले वर्तमानलाई भरपुर उपयोग गरे । चाहे योग गरे चाहे शिक्षा आर्जन गरे चाहे मन र जन जोर्न सके । आज उनीलाई पूजा गर्नेहरू पनि छन् । विशिष्ठ स्थानमा पुगेको देख्नेहरू पनि छन् । हजारमा अत्यधिक संख्यामा ऋषिमुनीहरूको सम्मान गर्नेहरू छन् । यो हो एक प्रकारको सफल जीवन । उनीहरूले वर्तमानमा गर्नुपर्ने जति कार्यकलाप गर्न सकेका कारणले समाजमा सम्मानित जीवन बाँच्न सफल भएका छन् । यो सबैलाई जुर्न सक्दैन । यसको सिधा कुरा भनेको उही हो विगतमा गरेको काममा शोक नगर्ने । भविष्यको वारेमा पनि चिन्ता नगर्ने । आजलाई भरपुर उपयोग गर्ने । आदरणीय पाठक पाठक वृन्द ! आउनुस यहाँहरूलाई पनि जीवन सार्थक बनाउन मन लागेको छ भने वर्तमानलाई भरपुर उपयोग गर्नतर्फ लागौं । भगवान दे खटिया उपर कहिल्यै हुँदैन । भगवान दे मेहनत उपर भन्नुपर्दछ । वास्तवमा हुने पनि यही हो ।