© २०२३
संसार परिवर्तित छ । खासगरी विज्ञान, सूचना सञ्चार तथा प्रविधिको द्रूत विकास र तीन वीन प्रविधिहरू जीवन र जगतका लागि प्रयोग भैरहेका कारण परम्परागत बेञ्च डेस्कमा बसेर लिइने प्राज्ञिक शिक्षाको सट्टा नयाँ नयाँ शिक्षा पद्धतिको प्रचलन बढेको छ । प्रविधि प्रधान शिक्षा, जीवनोपयोगी सिप, जीवन पर्यन्त शिक्षा र सिकाई विविधीकरण प्रमुख विश्वब्यापी प्रबृत्तिहरूका रूपमा स्थापित भएका छन् । यी प्रबृत्तिहरू हाम्रो शिक्षा पद्धतिमा कति उपयोग भएका छन् ? थप कार्यान्वयनकालागि आफूले कसरी कार्य गर्न सकुँला भन्ने चिन्तन गर्नु आवश्यक छ ।
प्रविधि प्रधान शिक्षा : आर्टिफिसियल इन्टेलिजेन्स् (एआई) ले मानव सभ्यतालाई नै पुनःसंरचित गरेको छ । उद्योग, ब्यवसाय, उत्पादन, शासन पद्धतिदेखि शिक्षाका क्षेत्रमा समेत एआईको प्रभाव बढेको छ । कक्षाकोठामा डिजिटल डिभाइसको उपलब्धता वा पहुँच सुनिश्चित गरी शिक्षक एवम् विद्यार्थीले भच्र्युअल सहयोगबाट कक्षा एवम् गृहकार्य गर्ने, अध्ययन–अध्यापन गर्ने, स्वतन्त्र स्वनिर्देशित सिकाइ गर्ने, दूर तथा अनलाइन पद्धतिबाट आफ्नै गतिमा सिकाइ, अनुवाद तथा बहुभाषिक सिकाइ र अन्य प्रयोजनका लागि एआईको प्रयोग बढिरहेको छ । चीनमा विद्यार्थीको मुखाकृति कम्प्युटरबाट अध्ययन गरी सिकाइमा केन्द्रित भए नभएको पहिचान गर्ने गरिएको छ । युनेस्कोका अनुसार शिक्षामा भएको असमान पहुँचको समस्यालाई समाधान गर्नका लागि एआईको महत्वपूर्ण भूमिका हुने सम्भावना छ । कोभिड–१९ महामारीका कारण विद्यालयहरूमा कप्म्युटर प्रविधिको प्रयोग र अनलाइन शिक्षाको प्रचलन बढेको छ । अनलाइन दूर सिकाइका माध्यमबाट विद्यार्थी जतिसुकै दुर्गम भू–भागमा रहेको भएतापनि दूरशिक्षाको पहुँच सम्भव छ । दुर्गम तथा ग्रामीण वस्तीका २७० मिलियन बालबालिकाहरू परम्परागत विद्यालय शिक्षाबाट बञ्चित भैरहेको सन्दर्भमा एआईको माध्यमबाट दूर शिक्षा प्रदान गर्न सकिन्छ । ब्यस्त शहरीया मानिसहरूका लागि पनि दूर तथा खुला सिकाइ कोर्स (मूक) को अवसर छ भने जीवन पर्यन्त सिकाइकालागि वेवसाइट, वेवटुल्स्, कोर्सेरा, क्यानभास लगायतका प्लेटफर्म उपलब्ध छन् । त्यस्तै अचेल विज्ञ वा प्रख्यात ब्यक्तिबाट शिक्षण गरिने एप्सहरू पनि बनेका छन् । उदाहरणका लागि बिबिसीले निर्माण गरेको म्यास्ट्रो प्लेटफर्ममा जुलिया डोनाल्डसनले हस्तलेखन कक्षा सञ्चालन गर्दछन् । यस्तै भच्र्युअल कक्षाको साथै इमर्जेन्सी स्वास्थ्य सेवा, सर्जरी लगायत कार्यमा भच्र्युअल रियालीटीको प्रयोग बढिरहेको छ । रोबोट मेसिन, रोबोट मान्छेको प्रयोग भएको छ । तसर्थ शिक्षामा प्रविधिको भूमिका र उपयोग बढाउन हामीले धेरै कार्य गर्नुपर्ने छ । कोभिड महामारीका समयमा प्रविधितर्फ थोरै पाइला चालेको हाम्रो शिक्षा पुनःकापी किताबमा फर्केको प्रत्यक्ष शिक्षण सिकाइले प्रविधिको बढ्दो उपयोगलाई पछ्याउन सक्ने अवस्था आउदैन । एक्काइसौं शताब्दीको सूचना प्रविधि प्रधान विश्व बजारमा बिकाउनका लागि प्रविधिमैत्री शिक्षण वातावरण बनाउनु आजको आवश्यकता हो ।
सीपमूलक शिक्षा, आजको आवश्यकताः अब परम्परागत प्राज्ञिक कोर्स सञ्चालन गर्ने कलेजहरूको सट्टा ब्यवसायिक, प्राविधिक ज्ञान दिने, कार्यस्थलको आवश्यकतालाई समाधान गर्ने सिप सिकाउने शिक्षालय, बजारको आवश्यकतालाई पूरा गर्ने जनशक्ति उत्पादन गर्ने शिक्षालयको आवश्यकता छ । यही तथ्यलाई आधार बनाई युरोपियन काउन्सिलले सन् २०२३ लाई युरोपियन सिप वर्षका रूपमा मनाएको छ । एकातिर कार्यस्थलमा आवश्यक प्रविधि र भौतिक सिप भएको जनशक्ति अहिलेको आवश्यकता हो भने अर्कोतिर समालोचनात्मक तथा सिर्जनात्मक सोंचाई, सिप, सञ्चार सिप, वैयक्तिक एवम् अन्तरवैयक्तिक सिप, समस्या समाधानसिप, नागरिक सिप, डिजिटल साक्षरता, स्व–ब्यवस्थापन, तनाव तथा द्वन्द्व ब्यवस्थापन जस्ता मानवीय सिपहरू विकास गर्नु पनि आवश्यक छ । त्यस्तै उद्यमशीलता, सार्वजनिक प्रबचन र नेतृत्व सिप विकासका कार्यमा शिक्षाको भूमिका महत्वपूर्ण बन्दै गएको छ । दूर्भाग्य नै मान्नुपर्छ कि नेपालको शिक्षाले जीवनोपयोगी सिप वा नरम सिप भएका, उद्यमशील र नागरिक सिप तथा नेतृत्व सिप भएका नागरिक उत्पादन गर्न सकेको छैन ।
सिकाई विविधीकरण : पछिल्लो समयमा सिकाईका लागि ध्यान केन्द्रित गर्ने वानी घट्दै गएको छ । एकाग्रतापूर्वक ध्यान दिएर सुन्ने वा एउटै कार्यमा लामो समयसम्म टिकिरहने बानी घटेको छ । तसर्थ खेल विधिबाट शिक्षण गर्ने, मनोरञ्जनात्मक विधि प्रयोग गर्ने, विषयवस्तुलाई स–सानो अंशमा विभाजन गरी अध्ययन गर्ने नानो लर्निङ्ग विधिहरू अहिलेका प्रचलित शिक्षण तरिका हुन् । यस्तै अहिलेको विद्यार्थी जन्मदै मोबाइल, कम्प्युटर देखेको भएकोले ती मसिनको प्रयोग गरी सिक्न चाहन्छ । ती साधनको पहुँच भएका बालबालिकाहरूको सिकाई क्षमतापनि बढी हुने भएकाले उनीहरू स्वतन्त्र सिकाई विधिको अवलम्बन गर्न चाहन्छन् । शिक्षकको प्रत्यक्ष सहयोग मात्रा कम गर्दै आफ्नै प्रयासबाट खोजी तथा प्रयोगात्मक विधिबाट सिक्ने चलन बढेको छ । तसर्थ शिक्षण कार्यको परम्परागत अवधारणा परिवर्तन गरी सिकाउने कार्यको नयाँ अवधारणा अनुसार चल्नु आवश्यक छ । डिजिटल सिप विकास, फ्लिपलर्निङ्ग, ब्लेन्डेड लर्निङ्ग, परियोजना कार्यमा आधारित सिकाइ, विद्यार्थी केन्द्रित विधिहरू, प्रयोगात्मक कार्य, ओज तथा अनुसन्धान कार्य गरेर सिक्ने कार्यको अभ्यास गराउनु आवश्यक छ ।
जीवनपर्यन्त सिकाई : जुनसुकै पेशा वा स्वरोजगारमा टिकिरहनका लागि सम्बन्धित क्षेत्रको ज्ञानको अद्यावधिक गर्ने, आफ्नो सिपको पुनर्ताजगी गर्ने, नयाँ सिप सिकेर वैकल्पिक क्षेत्रको खोजी गर्ने क्षमता राख्दछन् । जसले आफ्नो विद्यमान क्षमतामा मख्ख परेर नयाँ सुधारात्मक क्षेत्रको खोजी गर्दैनन् उनीहरूको प्रगति रोकिन्छ । तसर्थ विद्यालयमा स्व–सिकाई अभ्यास गराउनु आवश्यक छ । शिक्षाको प्रमुख कार्य औपचारिक शिक्षा पश्चात् पनि ज्ञान, सिप अद्यावधिक गरी आयआर्जन गर्ने कार्यका लागि उत्प्रेरित गर्ने बनेको छ ।