© २०२३
निरु गुरुङ (मनु)
बुटवल, २४ मंसिर ।
रूपन्देहीको तिलोत्तमा नगरपालिका १४ मा पार्क निर्माण सुरू गरिएको छ । तिलोत्तमा नगरपालिकाका प्रत्येक वडामा एक पार्क बनाइने उद्देश्यअनुरूप वडा नम्बर १४ मा पार्क निर्माण कार्य अघि बढाइएको हो । शनिबार एक कार्यक्रमको आयोजना गरी नव टिकुलीगढ युवा क्लवको आयोजनामा अब छिट्टै डिपिआर बनाएर पार्क निर्माण अघि बढाइने क्लबले जनाएको छ ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका गृहमन्त्री तथा प्रवक्ता सन्तोष कुमार पाण्डेले पार्क निर्माणका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले अब यसलाई पर्यटकीय दृष्टिकोणले अगाडि बढाउनु पर्ने उल्लेख गरे । पार्कहरूका कारण हरेक मानिस स्वस्थ रहन मद्दत पुग्ने र मनमा शान्ति छाउने र यस्तै गरी सधैं साथमा रहेर काम गर्ने प्रतिबद्धता गरेका छन् ।
त्यस्तै तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य तथा सामाजिक विकास समिति संयोजक रवि सेन्चुरीले अहिले पार्कको सुरूवात भएको र यसलाई आगामी दिनमा तिलोत्तमा १४ को गहना बनाउनु पर्ने बताए । क्लबका सल्लाहकारसमेत रहेका संयोजक सेञ्चुरीले पार्कका लागि पालिकाबाट बजेट छुट्टयाइएको तर त्यो अपुग भएकोले त्यसका लागि प्रदेश सरकारबाट सहयोगको अपेक्षा गरेको बताए । पिकनिक स्थल घुम्न आउने स्थल बनाएर वरिपरि रमणीय दृश्य बनाउने र उनले पार्क बनेमा रोजगारीको अवसर सृजना गराउने अपेक्षा गरे ।
वडाअध्यक्ष आश्विन पौडेलले नगरले प्रत्येक वडामा रू १ लाखका दरले बजेट विनियोजन गरिसकेको बताए । तर रकम अपुग भएकाले प्रदेश सरकारले पनि यसमा सहयोग गर्नु पर्ने उनले आशा व्यक्त गरेका छन् ।
पूर्व वडाअध्यक्ष सोहन प्रसाद थारूले योजनावद्ध तरिकाले डिपिआर बनाएर काम अगाडि बढाउनु पर्ने बताउँदै युवाको जोस जाँगरलाई खेर जान नदिन आग्रह गर्दै भैलो खेलेर रकम जुटाको क्लबका भाइबहिनी लगायत सबैलाई शुभकामना र बधाई दिए ।
हाल पार्क निर्माणस्थलमा झाडी सरसफाइको काम भैसकेको छ । करिब १ बिगाहा जग्गामा पार्कको अन्य कामका लागि अब छिट्टै डिपिआर बनाएर अघि बढाइने क्लवका अध्यक्ष विजय गुरूङले बताए ।
कार्यक्रममा क्लवका सचिव शान्ति पुन, बुद्धि थापा मगरलगायतले पनि मन्तव्य व्यक्त गरेका थिए ।
देउँसी भैलो खेलेर संकलन भएको रू तीन लाख रकमबाट पार्कको निर्माण कार्य अगाडि बढाइएको क्लवका दिपक श्रीस मगरले बताए ।