© २०२३
गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका २ पिपलधारा वडा (साविक पिपलधारा गाविस) को शैक्षिक धरोहर हो गणेश माध्यमिक विद्यालय । यो विद्यालयको इतिहास खोजीनिती गर्दा वि.सं. २००० तिर गुरुकुल पाठ्शालाको रूपमा यसको श्रीगणेश भएको भेटिन्छ । पिपलधाराकै कटौजेका षडानन्द (गणेश) खनालले आफ्ना भाई भतिजा र आफन्तलाई गुरुकूल शिक्षा प्रदान गर्ने उद्देश्यले आफ्नै घरमा गुरुकुल पाठशाला खोल्नुभएको थियो । षडानन्द खनालले प्यूठानस्थित स्वर्गद्वारी मन्दिरको गुरुकुलको प्रतिरूप नक्कल गर्दै आफ्नो गाउँमा गुरुकुल खोल्नु भएको हो । उहाँ स्वर्गद्वारी मन्दिर एवं स्वर्गद्वारी महाप्रभुको यज्ञशालामा गणेशको रूपमा सेवा गरी ज्ञान र अनुभव आर्जन गरी गाउँ फर्कनुभएको थियो । त्यसैले षडानन्दको अर्को नाम गणेश रहेको हो । यो गुरुकुलमा गुल्मीकै धुर्कोट र छिमेकी अर्घाखाँची जिल्लाबाट पनि गणेशसँग सम्पर्कका मानिसले आफ्ना छोराहरूलाई गुरुकुल शिक्षा पढ्न पढाउँथे । त्यसबेला अहिलेको आधुनिक शिक्षा प्रणाली लागू भएको थिएन । गुरुकुल शिक्षा अन्तर्गत संस्कृत भाषामा बैदिक सनातन धर्म सम्बन्धी रुद्री, चण्डी, देवी भागवत, उपनिषद, बेद, आदि विषयको पढाई हुन्थ्यो । अध्यापन गराउने गुरु पनि संस्कृत भाषामा दख्खल भएका बैदिक सनातन धर्माचरण भएका पण्डित हुन्थे । यसरी हेर्दा यो गुरुकुल धुर्कोटका पहिलेका आठ गाविस, अहिलेका सातवटा वडा क्षेत्रको एवं गुल्मी जिल्लाको पुरानो गुरुकुलमध्ये पर्दछ । धुर्कोट क्षेत्रको सबैभन्दा पुरानो गुरुकुल सम्भवतः बस्तु वडास्थित गुरुकुल हो । यसको सञ्चालन वि.सं. १९८१ तिर भएको मानिएको छ । बस्तुस्थित हालको हिमालय माविको जग यही गुरुकुल हो ।
वि.सं. २००७ पछि मुलुकमा विद्यालय खोल्ने, खुल्नेक्रमको सुरुवात भयो । २००७ सालको जनक्रान्ति पछि सरकारको शिक्षा नीतिमा परिवर्तन आई गाउँ गाउँमा विद्यालयहरू खोल्ने क्रमको शुरुवात भएको हो । यसैक्रममा २०१५ सालमा पिपलधारामा पनि विद्यालय खोल्ने निर्णय भयो । २०१५ सालमा धुर्कोट क्षेत्र निर्वाचन क्षेत्र नम्वर ९० अन्तरगत थियो । यो क्षेत्रबाट निलाम्बर पन्थीले नेपाली काङ्ग्रेसको तर्फबाट उम्मेदवार भई सांसद निर्वाचित हुनुभएको थियो । निलाम्बर पन्थीको अगुवाईमा विद्यालय स्थापना गर्ने अभियान चल्यो । पिपलधारामा पनि विद्यालय स्थापना गर्ने सम्बन्धमा छलफलबाट गणेशले सञ्चालन गरेको गुरुकुल पाठशालालाई नै विद्यालयको रूप दिने निर्णय भयो । १५ वर्ष भन्दा बढी समयदेखि सञ्चालित यो गुरुकुल एउटा प्रतिष्ठित संस्थाको रूपमा स्थापित भईसकेको थियो । यसको नामकरण पनि गणेश विद्यालय नै गरियो । यसरी सुरुवात भएको थियो, हालको गणेश माध्यमिक विद्यालय । जो अहिले धुर्कोट क्षेत्रकै पुरानो एउटा शैक्षिक धरोहरको रूपमा प्रतिष्थापित छ । २०१५ साल पुस १५ गते यसको स्थापना मिति मानिएको छ । यसको बार्षिकोत्सव हालसम्म वार्षिक रूपमा मनाउने नगरिएकाले स्थापना मिति ठ्याक्कै भन्न गाह्रो छ । कहिलेकाहीँ फाटफुट रूपमा मनाउँदा पुस १५ लाई नै स्थापना दिवस मान्ने गरिएको छ । २०१५ साल पुस १५ गते एकदेव खनाललाई एक रूपैयाँ तलव पाउने गरी शिक्षक भर्ना गरेको अभिलेखको आधारमा स्थापना दिवस पुस १५ नै हो भन्ने मानिएको छ । विगतमा विद्यालयमा आगलागी भई कागजात एवं निर्णय पुस्तिकाहरू जलेकाले पछिल्लो पिँढीले यसको स्थापना दिवस यकिन गर्न गाह्रो भएको हो । श्रुति परम्पराबाट यसको स्थापना दिवस यकिन हुनुपर्ने हो तर त्यसो हुन नसक्नु लापरवाही हो । स्थापना दिवस बर्षेनी नमनाउनु पनि लापरवाही हो । ४० को दशकमा यो निमाविमा स्तरोन्नती भयो । ५० को दशकमा माध्यमिक तहमा स्तरोन्नती भयो । हिरक जयन्ती वर्ष २०७५ सालमा बल्ल उच्च माध्यमिक तह (हाल माध्यमिक तह) अर्थात प्लस टु मा स्तरोन्नती गर्ने निर्णय भयो । २०७५ साल माघ २३ गते यसलाई प्लस टुमा स्तरोन्नती गर्ने प्रतिबद्धता वा घोषणासभा आयोजना गरियो । धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलको प्रमुख आतिथ्यमा पिपलधाराका जनप्रतिनिधि, समाजसेवी, अगुवा एवं शिक्षाप्रेमी व्यक्तित्वहरूको उपस्थितीमा सो घोषणा सभा भएको थियो । सो घोषणा सभामा राम्रो जनसहभागिता थियो । यसबारे सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरिएको फोटोमा पनि प्रशंसा र खुसी प्रकट गरिएका प्रशस्त कमेन्ट छन् । यसपछि प्लस टु सञ्चालनार्थ पिपलधारा वडाका बासिन्दाहरूबाट चन्दा वा दान स्वरूप रकम सङ्कलन गर्ने नीति अख्तियार गरियो । यसका लागि २०७५ साल फागुन १४ गते पिपलधाराका वडाध्यक्ष नविन जि.सी.को संयोजकत्वमा १ सय २२ सदस्यीय मूल समिति एवं ११ सदस्यीय कार्य सम्पादन तथा अर्थ सङ्कलन समिति गठन गरियो । आर्थिक समितिले पहिले गाउँमा बस्नेहरूबाट नभई गाउँभन्दा बाहिर बस्नेहरूबाट रकम उठाउने निर्णय लियो । गणेश माविमा प्लस टु सञ्चालन गर्ने सोंच बनेपछि वडाध्यक्ष नविन जि.सी.ले मसँग सल्लाह लिनुहुँदै सहयोग गर्न आग्रह पनि गर्नु भएको थियो । मैले उहाँलाई पुरापूर सहयोग गर्ने बचन दिएको थिएँ । २०७५ साल चैत १४ गते बुटवलमा पिपलधाराबाट बुटवल एवं रूपन्देही जिल्लामा आई बसोबास गरेका व्यक्तिहरूको भेला आयोजना गरियो । भेलामा राम्रो सहभागितामा गहन छलफल र विद्यालयको अवस्था बारे समिक्षा भयो । पिपलधाराबाट अहिलेसम्म सबैभन्दा धेरै बसाईसराई गरी आउनेको बाक्लो सङ्ख्या बुटवलमा रहेको छ । भेलाले मेरो संयोजकत्वमा १४ सदस्यीय अर्थ सङ्कलन उपसमिति गठन ग¥यो । म यो विद्यालयलाई आफूसक्दो सहयोग गर्न बढी नै इच्छुक थिएँ, छु । कारण– हामीलाई एवं पिपलधारा गाउँलाई नै शिक्षाको ज्योती नफैलिएको समयमा अक्षर चिनाउने विद्यालय हो यो । मैले कक्षा १ देखि ७ सम्म अध्ययन गरेको विद्यालय । यो विद्यालयले मलाई अक्षर चिनाएको मात्र नभई सम्मान पनि दिएको थियो । कक्षा २ देखि ७ सम्म सधै विद्यालय प्रथम, कक्षा मनिटर, सरसफाई, अक्षर लेखन, अनुशासन आदि अतिरिक्त क्रियाकलापमा पनि यस विद्यालयले मलाई पुरस्कार दिन्थ्यो । यो विद्यालयले मलाई नेतृत्व कला पनि सिकाएको थियो । मलाई यो ऋण चुक्ता गर्नुथियो । प्लस टु अभियानमा जोडिने अठोट गरेँ मैले । मैले उपसमितिको संयोजक लिँदा यही विद्यालयका एकजना शिक्षकले तपाईलाई यो सुहाएन भन्नुभएको थियो । मैले यो अभियानको अवस्था र अवरोध मनमनै समिक्षा गरेँ । अगुवा हुँ भन्नेहरू धेरैको दोहोरो चरित्र अनुभव गरेँ । यस विद्यालयबाट लाभ र प्रतिष्ठा लिएका धेरै व्यक्तिहरूले समेत दोहोरो चरित्र अपनाउँदै पछाडीबाट अवरोध खडा गर्ने गरेको बुझेँ । उनीहरूले यो अभियान सफल हुँदैन, अहिले नै गुणस्तरीय पढाई छैन, प्ल टु पनि चल्दैन भन्ने गरेको पाएँ । जस लिने भए भनि इष्र्या गर्नेहरूको पनि कमी थिएन ।
पिपलधारामै सञ्चालित अर्को मावि ज्ञानोदय माविलाई यो अभियानविरुद्ध उक्साउने गतिविधि पनि भए । मैले प्रतिकुल वातावरण अनुभव गरेँ । त्यसपछि मैले २०७६ साल बैशाख १ गते सहयोगी हातहरूलाई जोडिन अनुरोध गर्दै एकपटक यो विद्यालयलाई सहयोग गर्न भनि मेरो फेसबुकमार्फत अपिल प्रकाशित गरेँ । कामको शुरुवात पनि पिपलधाराबाट नगरी छिमेकी गाविस नयाँगाउँका मित्रहरू नोमबहादुर जि.सी.र प्रकाश पोखरेल, हाडहाडेका छन्द बहादुर पहराई, बस्तुका कृष्ण भण्डारी लगायतका प्रबुद्ध साथीहरूसँग आर्थिक सहयोग मागेर शुरु गरेँ । दवाव पैदा गर्न यसो गरेको थिएँ । यसै गुरुकुलमा अध्ययन गरी मुलुकको उद्योग मन्त्री एवं नेपाली काँङ्ग्रेसका केन्द्रिय सदस्य बनेका अर्घाखाँची जिल्लाका ढुण्डीराज शास्त्रीबाट समेत रकम सहयोग लिएर सुरुवात गरेँ । यो प्रतिकुल परिस्थितीमा नगद रकम व्यक्तिगत रूपमा लिइयो भने समस्या अनेक आउन सक्ने बुझेर विद्यालयलाई विद्यालयको नाममा अलग्गै बैंक खाता खोलेर रकम सबैलाई बैंकमा पठाउने व्यवस्था मिलाउन आग्रह गरेँ । बुटवलमा उठेको रकम बुझेर यहीँ कोष जम्मा गरेर विद्यालयलाई व्याज मात्र दिने व्यवस्था मिलाउँ भनि दुईजना अगुवा साथीले मसँग प्रस्ताव गर्नुभएको थियो । यि सबै प्रबृत्तिहरू अनुभव गर्दा म झस्कीएको थिएँ । मैले विद्यालयको इतिहास र योगदान बारे सन्देश लेखेर पिपलधाराका सयौं साथीहरूलाई म्यासेन्जरमा पठाएँ । बाँडिएका र भाँडिएका मनहरूलाई प्लस टु अभियानमा जोडिन उत्प्रेरित गरेँ । मोटिभेट गरेँ । सहयोग गर्ने मनकारी दाताहरूको नाम सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरी सार्वजनिक गरेँ । मैले पुरै एक वर्ष यो अभियानलाई तन मन धनका साथ मद्दत गरेँ । यो अभियानलाई सफल बनाउन मैले यति धेरै ध्यान केन्द्रित गरेँ की साथीहरूलाई हामी पदमा भएपनि यो अभियानको जस महेन्द्रले लिए भन्ने अवस्था बन्यो । तर मेरो उद्देश्य जसरी पनि विभिन्न बाधा अवरोधलाई छिचोल्दै अभियानलाई सफल बनाउनु पर्छ । बसाईसराई गरी बाहिर जान नसकेका, जो गाउँमा छन् तिनीहरूका बालवालिकाहरूले प्लस टु गाउँमै पढ्ने अवसर पाउनु पर्छ भन्ने भावना मात्र थियो । साथै मावि तह सञ्चालित गणेश माविमा प्लस टु सञ्चालन हुन नसकी आधारभूत तह (कक्षा आठ) मा झर्नबाट जोगाउनु पर्छ भन्ने मात्र थियो । किनकी सरकारले कक्षा आठसम्म आधारभूत तह र ८–१२ तहलाई माध्यमिक तह मान्ने नयाँ नीति अख्तियार गरेको छ । अभियान निरन्तर चलिरहेको बेला अचानक कोरोना भाइरसको महामारी आयो । २०७९–८० सालदेखि साथीहरूले अभियानलाई फेरी अघि बढाउनु भयो । गाउँमा घरदैलो घुमेर अर्थ सङ्कलन गर्ने र दाताहरूका फोटो र रकम विवरण फेसबुकबाट सार्वजनीक गर्ने अभियान चलाउनु भयो । फेसबुकबाट सार्वजनीक गर्ने कार्यक्रम निकै प्रभावकारी सावित भयो । दाताहरू आफ्नो फोटो र रकम विवरण फेसबुकमा देख्न, पढ्न र लाइक, कमेन्ट समेत हेर्न पाउँदा मख्ख पर्नुभयो । मेरो बुझाईमा यो फेसबुक र मेसेन्जरको सुविधा नभएको भए यो अभियानले यति ठूलो परिमाणमा रकम सङ्कलन गर्न पक्कै सफल हुने थिएन । अभियानको सुरुवातमा मैले यदि फेसबुक र मेसेन्जरको सुविधा नभएको भए घरमै बसेर सयौं मनहरूलाई जोड्न र मोटिभेट गर्न सक्ने थिइनँ । २०८० साल मंसिर महिनासम्ममा नब्बे लाख रूपैयाँ भन्दा बढी रकम सङ्कलन भएको विद्यालयसँग तथ्याङ्क छ । त्यसमध्ये ७० लाख बढी नगद सङ्कलन भएको छ । बाँकी उठ्ने क्रममा छ । बोलेको रकम ९० लाख बढी पुगेको छ । यो विद्यालयप्रति पिपलधारामा जुन अपार समर्थन र सहयोग प्राप्त भयो त्यो निकै प्रसंसनिय र स्मरणीय छ । अभियान सफल हुँदै गएपछि सर्वदलीय र सर्वपक्षीय सहयोग जुट्यो । सबै मनहरू जोडिए । विद्यालयको प्लस टु अभियानको लागि अर्थ र विद्यार्थी सङ्कलन अभियान सफल भयो । बाधा अवरोधहरू सबै हटेर गए । यसरी नै विकासमा जनसहभागीता जुट्नु जुटाउनुपर्छ । प्लस टु बाट पनि ३ वटा ब्याच निस्कीसकेका छन् । २०७६ साल साउन २६ गतेबाट यो विद्यालयमा प्लस टुको पढाई सञ्चालन भएको थियो । यो विद्यालय गाउँको मध्य भागमा अवस्थित छ । सबैलाई पायक स्थलमा छ । पूर्वाधारले सम्पन्न छ । अब खाँचो गुणस्तरीय पढाइको हो । यो सङ्कलित रकम सदुपयोग होस् । दुरूपयोग नहोस् । दीर्घकालसम्म यो रकम बैंकमै रहोस् ।
अन्तमा, यो अभियानमा मेरो संलग्नता बारे गणेश खनालका नाती कृष्ण र केशव खनाल एवं पूर्व शिक्षक बामदेव खनाल, पिपलधारा चौतारी विश्व सञ्जाल गुल्मीका पूर्व अध्यक्षहरू कमल जि.सी., टोपबहादुर गौतम र बाबुराम थापा लगायत धेरै महानुभावहरूले फेसबुकमा लेख्नुभएका प्रेरणादायी र उत्साहप्रद कमेन्टहरू सधैं स्मरणमा ताजै राख्नेछु । उहाँहरूले मेरो भूमिकालाई उच्च प्रसंसा गर्दै विद्यालयले सधै सम्झीरहने कमेन्ट लेख्नुभएको थियो ।