© २०२३
तिहारको भोलिपल्ट साँझपख लुम्बिनी घुमघामको लागि पुगेको थिएँ । साँझपख लुम्बिनीमा मानिसहरूको चहलपहल खासै हुदैन र घुमफिर गर्दा सजिलो हुन्छ भन्ने मेरो अनुमान थियो । तर, त्यहाँ पुग्दा भने दृश्य बेग्लै थियो । झमक्क साँझ परिसक्दापनि शान्ति स्तुपादेखि नहर, शान्तिदीप सेरोफेरोमा मानिसहरूको भिडभाड थियो । लिटल बुद्धको मुर्तिदेखि मायादेवी मन्दिर परिसरसम्म मानिसहरूको बाक्लै चहलपहल थियो । स्वदेशी र विदेशी दुवै अनुहारहरू भिडमा थिए । मायादेवी मन्दिर दर्शन गर्न पुगेकाहरूमध्ये कहिले लुम्बिनीमा होटेल पाईदैन कि भन्ने चिन्ता गरिरहेका थिए । घुम्न पुगेका धेरैजनाहरूले लुम्बिनी र भैरहवामा बस्ने होटेल खोजेकोले अबेरसम्म लुम्बिनीमा घुमफिर गरेर फर्कने बताईरहेका थिए । लुम्बिनी पुग्ने यति धेरै मानिस त कोरोना शुरु हुनुभन्दा पहिले पनि थिएन । लुम्बिनीमा मात्र नभई कार्तिक महिनामा नेपालका परिचित पर्यटकीय गन्तव्यमा मात्र नभई उदियमान गन्तव्यहरूमा पनि घुमफिर गर्न जानेहरूको संख्या धेरै नै देखिन्थ्यो । चल्तीका पर्यटकीय गन्तव्यहरूमा र पर्यटक बस्ने होटेल समेत पाउन कठिन भएकोले पहिले नै होटेल बुकिङ गरेर र बुझेर मात्र गन्तव्यमा जानुपर्ने समाचारहरू समेत आए । केहि देशबाट जहाज चार्टर गरेर पनि नेपालमा घुम्न आएको देखियो । तीन वर्षदेखि थला परेको नेपालको पर्यटन क्षेत्रको लागि यो निकै सुखद समाचार हो । सन् २०२३ को जनवरीदेखि अक्टोबरसम्ममा आठ लाख ९ हजार ६७८ पर्यटक भित्रिएका छन् । यो संख्या हवाई मार्ग हुँदै आएका पर्यटकको हो । सन् २०२३ जनवरीदेखि जुनसम्म चार लाख ७६ हजार पर्यटक जहाज चढेर नेपाल भ्रमणमा आएका थिए । सन् २०२२ मा नेपालमा हवाईमार्गबाट २ लाख ९ हजार ३३४ जना पर्यटक आएका थिए र त्यो भन्दा दोब्बर संख्यामा स्थलमार्गबाट आएका थिए । अक्टोबरसम्मको तथ्यांक र विगत वर्षका पर्यटक आगमन प्रवृतिलाई आधार मान्दा यो वर्ष १२ देखि १५ लाख विदेशी पर्यटकहरू नेपाल भित्रने संकेत देखिन्छ । दशैँ तिहारको समयमा मौसम सफा भएको र रेमिट्यान्स धेरै भित्रिएकोले पनि आन्तरिक घुमफिरकर्ताहरूको संख्या राम्रै देखिएको छ । यसरि हेर्दा यो वर्ष संख्यात्मक दृष्टिले अहिलेसम्मकै धेरै पर्यटक घुमाउने वर्ष हुन सक्नेछ ।
यसपाली विदेशी पर्यटकहरूको संख्या बढ्नुमा देश भित्रको आन्तरिक वातावरण र अन्तर्राष्ट्रिय क्षेत्रमा देखिएको संकट प्रमुख देखिएका छन् । युक्रेन र रुसबीचमा लामो समयदेखि चालिएको युद्धले गर्दा युरोपलाई असुरक्षित महसुस गर्नु, आर्थिक मन्दीको कारण युरोप र अमेरिका भन्दा विश्वमै सस्तो मुलुकहरूमा पर्ने भनिएको नेपालजस्ता देशहरूमा घुमफिर गर्न सजिलो हुने जस्ता कारणले युरोप र अमेरिकाबाट नेपालमा पर्यटक आउन थालेका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ र लुम्बिनी भ्रमणले भारतीय मिडियामा नेपालको चर्चा हुनु, भारतीय युवा भ्लगरहरूले नेपालमा घुमेर बनाएका भिडियोहरू भारतीय र अन्य मुलकका भारतीय मूलका नागरिकमा लोकप्रिय हुनु, भारतमा हिन्दु राष्ट्रबादको ज्वाला सल्कनु जस्ता कारणले भारतीय पर्यटक र तीर्थयात्रीको संख्या विगतमा भन्दा राम्रो देखिएको छ । कोरोनाको कारणले ४ वर्षदेखि विभिन्न बौद्धराष्ट्रका बौद्धमार्गीहरू चाहेर पनि नेपाल भ्रमणमा आउन सकेका थिएनन् । कोरोना कहर हटेकोले पनि धेरै बौद्धमार्गीहरूले अहिले नेपालका बौद्धस्थल दर्शन गर्ने राम्रो अवसर पाएका छन् । लामो समय नेपालमा चलेको द्वन्द कम भएपछि नेपाल भ्रमणमा आउन डराउने पर्यटकहरू पनि अहिले घुम्न आएका छन् । विदेशीलाई नेपालमा ल्याउन विदेशमा पुगेका नेपाली नागरिकहरूले व्यक्तिगत रूपमा गरेको प्रचार र नेपाल सरकारले विदेशी पर्यटक लक्षित गरि संचालन गरेका प्रवर्द्धनात्मक कार्यक्रमले पनि यसपाली धेरै विदेशी पर्यटक भित्राउन सहयोग पुगेको छ ।
यो वर्षमा देशका पर्यटकीय गन्तब्य र सामान्य घुमफिरयोग्य स्थानहरूमा पनि नेपालीहरू घुमफिर गरिरहेको देखिन्छ । नेपालभित्र घुमफिर गर्ने नेपालीहरूको संख्या कोरोना कहर कम भएदेखि नै निरन्तर बढिरहेको देखिएको छ । युवापुस्तामा नयाँ कुरा जान्ने र सामाजिक संजालमा देखाउन खोज्ने रहर अति उच्च भएकोले पनि धेरै ठाउँमा घुमफिर गर्ने र फोटो तथा भिडियोहरू अपलोड गर्ने प्रवृति निकै बढेको छ । नेपालभित्र घुमेर बनाईएका पूर्वी ब्ल्युज र घुमन्ते जस्ता भ्लगहरूले गर्दा युवाहरूलाई घुमफिरमा हुरुक्कै बनाएको छ । तिनै तहका सरकारले निर्माण गरिरहेका पर्यटकीय पुर्वाधारहरू, पर्यटकीय क्षेत्रहरूमा यातायातको पहुँच, स्थानीय सरकारले संचालन गरिरहेका घुमौँ कार्यक्रम, पर्यटनसंग सम्बन्धित संघसस्थाहरूले आन्तरिक पर्यटन बजारमा आफ्नै बलबुताले संचालन गरिरहेका प्रवद्र्धनात्मक कार्यक्रमले पनि घुमफिर गर्न नेपालीलाई सहज भएको छ । विदेश गएर फर्केकाहरूले पनि घुमफिरमा रुची देखाउदै आफ्नो परिवारलाई नेपालकै विभिन्न स्थानहरूमा घुमाउन लैजाने र उनीहरूको देखासिकी गर्दै अरूपनि घुमफिरमा जाने भएकोले नेपालीहरूमा देशभित्र घुमफिर गर्ने बानीको विकास भैरहेको छ । नेपालको पर्यटन क्षेत्रको लागि यो राम्रो संकेत हो र दिगो पर्यटनको आधार पनि हो ।
अवस्था यस्तै रह्यो भने नेपालमा आउँदा दिनमा विदेशी पर्यटक संख्या वृद्धिले निरन्तरता पाईरहनेछ । तर विदेशी पर्यटन बजार निकै नाजुक हुने र सामान्य घटनाबाट छिटो प्रभावित हुने भएकोले नेपालमा कुनै अस्थिरता आउने वित्तिकै अहिलेको संख्या ह्वात्तै घट्ने निश्चित छ । पर्यटकको संख्या बढ्नु निश्चय पनि खुशीको कुरा हो । पर्यटक संख्या बढेसंगै पर्यटकको लागि सेवा सुविधा समेत वृद्धि गर्नुपर्छ । अहिलेसम्म पर्यटकको अस्थिर प्रवाहले गर्दा नेपालका पर्यटन व्यवसायीहरूले पर्यटनमा ठुलो लगानी गर्न सकिरहेका छैनन् । अधिकांश पर्यटकीय सेवा सुविधा र पुर्वाधारहरू परम्परागत पर्यटकलाई सुहाउने किसिमका छन् । पर्यटकीय सेवा र पुर्वाधारहरू चलेका गन्तव्यमा मात्र सिमित छन् । यस्ता सुविधाहरूले बदलिदो पर्यटक रुचिलाई सन्तुष्ट पार्न सहज हुदैन । पर्यटनमा नेपाली मौलिकता नभेट्दा विदेशी पर्यटकहरूले भ्रमण गरेको ठाउँको बारेमा सकारात्मक धारणा बनाएर फर्कन सकेका छैनन् । पर्यटकीय रुटहरू निर्धारण गर्ने र त्यसमा पूर्वाधार, प्रचार र जनशक्ति तयार गर्ने काम हुन् सकेको छैन । अर्को पटक आउला नआउला भन्दै आएको बेलामा सोहोर्नु पर्छ भन्दै पर्यटकलाई सेवा सुविधाको चर्को शुल्क लिने र लुट्ने प्रवृति अझै पनि देखिएको छ । यस्ता विविध कारणले गर्दा नेपालमा भुमफिर गर्ने स्वदेशी र विदेशी पर्यटकले लामो समय नविताउने र धेरै रकम खर्च नगर्ने प्रवृतिमा सुधार हुन सकेको छैन । पर्यटकको धेरै रुची रहने काठमाडौं पूर्वको बागमती र कोशी प्रदेश अहिलेपनि विभिन्न नाममा अशान्त छ , यसले पनि विदेशी पर्यटकहरू फैलावटमा तगारो तर्सिन सक्ने देखिन्छ ।
नेपालको पर्यटन क्षेत्रमा अहिले देखिएका सुखद संकेतलाई दिगो बनाउनको लागि अहिले पर्यटकलाई धेरै ठाउँ पुर्याएर बसाई लम्ब्याउने, स्थानीय सामग्री बेचेर लाभ लिने र राम्रो आतिथ्यता प्रदान गरेर उनीहरूलाई नेपालप्रति सकारात्मक बनाउनको लागि तिनै तहका सरकार, पर्यटन व्यवसायी र स्थानीय नागरिक अघि सर्नुपर्छ । देशभित्र घुम्नुपर्छ भन्ने भावनाको विकास युवापुस्तामा विकसित भैरहेको छ र पारिवारिक भ्रमणको लहर चलिरहेको छ । आन्तरिक पर्यटकमुखी नेपाली पर्यटन व्यवसाय बनाउने हो भने पनि पर्यटकको कमि हुनेछैन । आन्तरिक पर्यटकलाई घुमफिर गर्नको लागि छोटा पर्यटकीय सर्किट बनाउने र त्यहि सर्किटलाई तन्काउदै पर्यटकलाई धेरै घुम्न मिल्ने वातावरण निर्माण गर्नुपर्छ । पर्यटकहरूलाई आउने र फोटो खिचेर फर्कने नभई घुम्ने, किन्ने र लैजाने बनाउनको लागि स्थानीय उत्पादन, सस्कृति र प्रकृतिलाई पर्यटन व्यवसायको अभिन्न अंग बनाउनु पर्छ । यस्ता कामहरू गर्न सकिएमा नेपालमा हाल देखिएको पर्यटनका संकेतहरू पर्यटनमा साच्चिकै सुखद भविस्यको बलियो आधार बन्न सक्नेछन् ।