© २०२३
नेपाल बहुभाषिक, बहुजाति र बहुधार्मिक मुलुकमा पर्दछ । यहाँ विभिन्न चाडपर्वहरू मनाउने गरिन्छ । यहाँ मनाउने चाडपर्वहरू मध्येमा कम खर्चमा मनाउँदै आएको चाड छठ हो । यो प्रकृति पुजामा आधारित रहेको पर्व हो । नेपालमा मनाइने अन्य चाडहरू भन्दा यो पर्व भिन्दै किसिमबाट मनाइन्छ । छठमा खासगरी ब्रत बस्ने र सूर्यको पूजा गर्ने गरिन्छ । सूर्यलाई विभिन्न देशमा विभिन्न नामले पुकारिन्छ र विभिन्न किसिमले पूजा गरिन्छ । महाभारतमा सूर्यको वारेमा आश्चर्यजनक कथन छ जो यस प्रकार छ :–कुन्तीसंग सूर्यको प्रार्थना गर्ने वेग्लै तरिका (मन्त्र) रहेछ । कुन्ती सागरमा नुहाउन गएको समयमा सूर्यको प्रार्थना गरिछन् । सूर्य प्रशन्न भएर कुन्तीको इच्छा पूरा गरे अरे । उनीबाट कर्णको जन्म भयो । त्यतिवेला उनी अविवाहित थिइन । पछि उनको विवाह पाण्डुसंग भयो । सन्तान नहुँदै पाण्डु शारीरिक संसर्गबाट बन्चित भए ।
कुन्तीले सन्तानको लागि पुनः धर्मराजको प्रार्थना गरिन अनि युधिष्ठिर जस्ता सत्यवादीको जन्म भएको कथा छ । यी कुराहरू बेग्लै प्रसङ्गका भए । जे भए पनि सूर्यमा केही शक्ति छ जुन शक्तिले गर्दा ब्रह्माण्ड उज्यालो भएको छ र तातो पनि भएको छ । हामीले ताप र प्रकाश सूर्यबाट पाएका छौं । सूर्य नभएको भए पृथ्वी न तातो हुनेथियो न उज्यालो नै हुनेथियो । सूर्यले गर्दा जीवहरू अस्तित्वमा रहन सम्भव भएको हो । समय जसरी वित्दै छ मानिसले उति उति खोजवीन गर्दैछ । अहिले सूर्यबाट प्राप्त हुने शक्तिलाई सौर्यशक्ति वा सौर्यउर्जा भन्ने गरिन्छ । यसलाई नविकरणीय उर्जा पनि भन्ने गरिन्छ । सौर्यबाट जुन शक्ति वा उर्जा पाइन्छ त्यसलाई जहाँ जसरी पनि प्रयोग गर्न सकिन्छ । कम खर्चमा निकै फाइदा लिन सक्ने श्रोत भनेकै सूर्य हो । प्राचिन सभ्यताको उत्पत्तिस्थल मानिने ग्रीकमा पनि आफ्नै किसिमबाट सूर्यको प्रार्थना गरिन्छ भने मिश्रमा यसको ढाँचा फरक छ । यस्तै जापानमा सूर्यको पूजा गर्ने शैली फरक छ । विश्वको प्राचीन सभ्यताको अर्को शिखर मानिने मेसोपोटामियामा पनि त्यतिवेला सूर्यको प्रार्थना वा पूजा गरेको पाइन्छ । देशको प्रचलन अनुसार सूर्यको पूजा गर्ने प्रचलन रहेकोले हुन्छ ।
नेपालमा छठ पर्वलाई कतै षष्ठि भनेर भनिन्छ त कतै छैठ पनि भनिन्छ । यसका नामहरू विभिन्न स्थानमा ठाउँ अनुसार बेग्लाबेग्लै छन् । किनभने स्थान विशेषमा भाषा फरक हुने गर्दछन् । कतै एउटा प्राचीन शब्द अपभ्रम्स भएर अर्कै हुन पनि पुगेको र कतै त अर्थ फरक पर्ने गरी शब्द बनेको पनि पाइन्छ । यसमा विविधता हुनु स्वाभाविकै हो । नेपालमा पञ्चायत कालभर कसले कहाँ कसरी चाडपर्व मनाउने गर्दथ्यौं खासै चासो हुँदैन्थ्यो । सिमित स्थानमा मनाउने हुनाले अरूका लागि खासै चासोको विषय पनि भएन । बहुदलीय व्यवस्थाको आगमनपछि विविध चाडको प्रचार सञ्चार माध्ययमबाट आउन लागे । सबै धर्मलाई समान रूपमा हेर्न लागियो अनि विभिन्न जात जाति र भाषा भाषिका रूपमा रहेका चाडहरू पनि बाहिर आए । सबै जात जाति भाषा भाषीले मनाउने चाडहरू यसैगरी प्रचारमा आउनु स्वाभाविकै थियो । अझ लोकतन्त्रको आगमन पछि त प्रायः सबै चाडहरूमा सरकारी विदाको व्यवस्था पनि भएको छ । यसले अझ चाडहरूको महत्वलाई बढाएको छ । सुदूर पश्चिममा मनाइने गौरा पर्वको कुरा गरौं चाहे सुदूर पूर्वमा मनाइने ल्होसार पर्वको कुरा गरौ अहिले आएर सबै चाडहरू आफ्नै घर आँगनमा आएजस्तै भएका छन् । सञ्चारको सदासयताका कारण हाम्रा सबै चाडहरू सबैका घरमा पुग्न सकेका हुन् भन्न सकिन्छ । पहिले इद बकरीद भनेपछि मुस्लिम धर्मावलम्वीहरूले मनाउने चाडका रूपमा चिनिने चाड हो । अव के हिन्दू के मुस्लिम ? एउटाको पर्वमा अर्को सहभागी हुन लागेका छन् । २०८० सालको दशैंमा विभिन्न स्थानमा मुस्लिम समुदायले हिन्दूको साथमा दशैं मनाएका समाचार आएका हुन् । यसैलाई धार्मिक सहिष्णुता भनिन्छ । यो सबै कुरालाई जोडेर हेर्ने हो भने लोकतान्त्रीक व्यवस्थाको एउटा उपलब्धिको रूपमा यसलाई हेरिनु पर्दछ । वास्तवमा नागरिक स्वतन्त्र नभैकन उसका रुचि र चाहनाका कुरा अगाडि आउन सक्दैनन् । हाम्रा चाडहरू आज यसरी व्यापक हुनुमा व्यवस्थाको परिवर्तन नै हो । हामी कति स्वतन्त्र र स्वाभिमानी भएछौ ? यो व्यवस्था परिवर्तनको एउटा अनुपम उदाहरण हो ।
नेपालको पूर्वी तराईमा विशेष धुमधामकासाथ मनाइने छठ पर्व नेपालीहरूको सहिष्णुताको चाड हो । छठ पर्व कार्तिक शुल्क षष्ठि तिथिमा मनाइन्छ । सूर्यको पूजा गर्न डालोमा सामग्रीहरू लिएर नदीमा जाने र पूजा पछि डालो नदीमा सेलाउने भएकाले पनि कसैले यसलाई डाला छठ पनि भन्ने गर्दछन् । त्यसो त यसलाई अन्य नामबाट पनि चिन्न सकिन्छ । जस्तो सूर्य षष्ठि , छठमाता, छैठ आदि नामबाट पनि चिन्न सकिन्छ । अझ यसलाई कसैले त प्रतिहार षष्ठि पनि भन्ने गर्दछन् । यसलाई जे सुकै नामले पुकारिए पनि यो खासगरेर सूर्यको आराधना नै हो । यसको थालनी कुरा गर्दा पाण्डवहरू वनबास गएको समयमा यसै दिन सूर्यको आराधना गरेको भन्ने किम्वदन्ती पनि पाइन्छ । नेपालको पूर्वी तराई र काठमाडौ उपत्यकामा विशेषरूपमा मनाइने छठ पर्व षष्ठिको साँझ डुब्दो सूर्यलाई नदी किनारमा पुगेर पूजा गरी अर्घ दिने र विहान उदाउँदो सूर्यको पूजा आराधना गरेर समापन गर्ने गरिन्छ । सूर्य पूजाको साथमा विभिन्न परिकार बनाउने, खाने खुवाउने पनि गरिन्छ । कतै रातभर नदी किनारमा जाग्राम बस्ने र भजनकृतन गर्ने पनि गरिन्छ । अत्यन्त उत्साहकासाथ मनाइने हुनाले र खानपानमा आफ्नै खेतबारीका बस्तु बढी मात्रामा प्रयोग गरिने हुनाले यस चाडले नेपालीपन बोकेको छ भन्न सकिन्छ । छठ मनाउनुको अर्थ चाड मनाउने मात्र नभएर यसलाई आरोग्य पर्वको रूपमा पनि मानिन्छ । विहानको उदाउँदो सूर्यको किरण शरीरमा पर्न गएमा चर्म लगायत विभिन्न रोगहरू नष्ट हुने विश्वास गरिएको छ । यसकारण “सूर्यस्य भागे अमृतस्य लोके” पनि भनिन्छ । यस पर्वमा फलफूल पर्याप्त मात्रामा चढाउने र उपभोग गर्ने गरिन्छ । फलफूलमा पनि बोट सहितको उखु, अदुवा, पात सहितको मुला, घरी सहितको केरा आदी प्रसादको रूपमा चढाउने प्रचलन छ । यसबाट यो पर्वलाई खानपानको पर्व पनि भन्न सकिन्छ ।
नेपालको भूमिमा जुनसुकै चाडहरू जुन रूप र आकारमा आएका हुन वा मनाउन थालिएको हो त्यसलाई त्यहि रूप र आकारमा मनाउन सकिएन भने हाम्रा चाडहरू हाम्रै लागि अभिषाप बन्दैनन् भन्न सकिन्न । अहिलेबाट अभिषाप थप्दै गए भोलीको पिंढीले थेग्नै नसक्ने हुनेछ । हामीले दशैं दशा हो भन्छौं । यो छठ यस्तो भन्ने अवस्थामा नपुगोस् । छठलाई सबैले धान्न सक्ने पर्वकै रूप र आकारमा मनाउन सकियो भने र आपसी मिलनको रूपमा लिन सकियो भने यसको सार्थकता भोली पनि रहने छ ता कि यसको सहजै खोजी पनि हुनेछ । यस वर्षको छठ पर्व यही मंसिर ३ गते आइतवार तदनुसार २०२३ नोभेम्वर १९ तारेखका दिन परेको छ । अन्तमा छठ पर्व मनाउने सम्पूर्ण मित्रजनमा हार्दिक मंगलमय शुभकामना । साथमा गएका अन्य पर्वहरू जस्तै यसलाई पनि अत्यन्त हर्षका साथ मनाउन सिकौं र सकौ भन्दै छठ पर्व मनाउने सबै मनहरूमा पुनः शुभकामना ।