© २०२३
केही समययता नेपालमा लागू भएको संघीयताको वारेमा विभिन्न कोणबाट प्रश्न उठन लागेको छ । यसलाई जवरजस्त दवाएर हुनेछैन । नेपालमा संघीयताको आवश्यकता छ भन्नका लागि पुष्टि गर्ने नियम, कानुन र व्यवहार चाहिएको छ । कतिपय विश्लेषकहरूले नेपालमा संघीयता विदेशीले लादेको उपहार हो भन्ने समेत गर्दछन् । यसमा कति सत्यता छ ? भोलीका दिनमा वहस र छलफल गर्दै गरौंला । तर आज संघीय संसदमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरूले समेत यसको औचित्यको वारेमा पुष्टि गर्न सकेको देखिदैन् । कतिपय प्रदेशहरूमा विजनेश भएन भनेर प्रदेश संसदको बैठक बस्न सकिरहेको छैन । यसमा वहस गर्नेहरूले केन्द्रमा संंघीय सरकार र स्थानीय स्तरमा स्थानीय सरकार भए पुग्छ भन्ने तर्क गरेको पनि सुनिन्छ । वर्तमान अवस्थामा प्रदेश सभा विजनेशविहिन हुनुले र नागरिकका कामकाज नियमितरूपमा चलेको देख्दा संघीयता वा प्रदेशसभाको आवश्यकता कति भन्ने प्रश्न उठने गर्दछ । २०६२÷०६३ को जनआन्दोलनताका नेपालमा अव राजतन्त्रको आवश्यकता छैन । गणतन्त्र हुनुपर्छ भन्ने नारा लागेका हो । नेपालमा राजसंस्था महंगो मात्र नभएर नेपालको प्रजातन्त्रमा पटकपटक धोखा भएका कारणले राजतन्त्र र राजसंस्था चाहिदैन भनिएको हो । राजसंस्था नेपालबाट हटेपनि एक प्रकारको त्रास कम भएको छ । राजा र राजसंस्था मन नपराउनेहरू धेरैले सास्ती भोग्न वाध्य भएका थिए । यो मारमा यो पंक्तिकार समेत परेको हो । पञ्चायती व्यवस्था र राजसंस्थाको समर्थन गर्न नसेका कारणले राजकाज मुद्दा खेप्नुपरेको र मुद्दा खेप्दाका वखत पाएको यातना अहिलेपनि मनमा ताजै बसेको छ । कुनै व्यक्ति वा संस्था मन नपर्दैमा यातना भोग्नु भनेको प्रजातन्त्र लोकतन्त्र होइन । यस्ता यातना भोग्ने मात्र नभएर तमामको ज्यान समेत गएको हो । विभिन्न स्थानमा विभिन्न वहानामा नेपाली आमाका केही सपुतहरूले ज्यान गुमाएको इतिहास हामीसंग ताजै छ । वर्तमान लोकतान्त्रिक गणतन्त्रको नाम नेपालीको रगतले लेखिएको हो । यो कुनै कसैको दातव्यले प्राप्त भएको होइन । अहिलेपनि गणतन्त्र शव्दलाई गहिरो गरी नियालेर हेर्ने हो भने र यो लेखिएको मसी सुँध्ने हो भने नेपाली नागरिक जसले विभिन्न समयमा आफ्नो ज्यानको आहुती दिए उनीहरूको रातो रगत र त्यही रगतको गन्ध पाउन सकिन्छ । स्वाभिमानी नेपालीको रगत पसिनाबाट आएको यो गणतन्त्र आज कौडीको मूल्यमा विक्री हुने सम्भावना बढेर गएको छ । यसको कारक भनेको नेपाली नागरिक नभएर सत्ता सञ्चालकहरू नै हुन भन्न सहजै सकिन्छ ।
हुन त विगतदेखि वर्तमानसम्मका सत्ता सञ्चालकहरूले सारा सबै राम्रो काम आफ्नै शासनको समयमा भएको भनेर थाक्नुभएको छैन । तर जुन देशका नागरिक साक्षी छन् त्यही मुलुकका शासकहरूले आफ्नो बढाइ चढाई गरेको कत्ति पनि सुहाउँँदैन । सारा विकास निर्माण आफै गरेको र आफू सत्तामा रहेको समयमा रामराज्य भयो भन्नु यो भन्दा सफेद झुठ अर्को हुँदैन । नेपालमा लागू भएको संघीयताको पुष्टि विकास निर्माण भन्दा पहिले गर्नुपर्दथ्यो । आज प्रदेश सरकार र प्रदेश साँसदहरूले केन्द्रीय सत्ताका कारण यो कुण्ठित हुँदै गएको छ भन्ने अभिव्यक्ति दिंदै गरेको सुन्न पाइन्छ । अर्कोतर्फ यी प्रदेशस्तरका निकायले आफ्नो उपस्थिति वास्तवमै देखाउन सकेका छैनन् ।
हामीले सुन्दै आएको कुरा के हो भने सबै नागरिकको पहुँच केन्द्रसम्म नहुन सक्छ । केन्द्रबाट मात्र विकास निर्माण सम्भव नहुन सक्छ । त्यसकारण प्रदेश सभा वा प्रदेश सरकारमा सहजरूपले पहुँच हुन सक्छ । यसकारण संघीयता आवश्यक छ भनिएको हो । यही कुरा सुन्दै आएको छ । नेपालको भूभाग कति ठूलो छ र ? नेपालीको पहुँच हुन नसक्ने ? यहाँ कति नेपालीलाई केन्द्रीय सरकार सामु काम परेर जाने खालको हुनसक्छ र ? अर्को कुरा वर्तमान अवस्थामा नेपालको सात प्रदेशमा रहेका साँसद र प्रदेश सरकार र त्यस मातहतमा हुने खर्च विवरण हेर्ने हो भने आँङ सिरिङ्ग गर्दछ । हिंजो हामीले राजतन्त्र वा राजसत्ता बढता खर्चिलो भयो पनि भन्यौं तर विगतको राजपरिवारमा भएको खर्च भन्दा अहिलेको खर्च चारखण्ड बढेको छ । हिंजो राजसंस्थामा लगाएको खर्च बचाएर हामीले कहाँ के वस्तुमा खर्च लगायौं ? अथवा बचत गरेका छौं भने कहाँ कसरी सञ्चित गरिएको छ ? आज आम नागरिक जान्न चाहन्छन् ।
कतिपयका मनमा संघीयताप्रति प्रश्न उत्पन्न भएपनि यसको विरुद्धमा मुख खोलीहालेको अवस्था छैन । हिंजो संविधान सभाको निर्वाचनको समयदेखि संघीयताको विरोध गर्ने र त्यसको विपक्षका बोल्नेहरूले अहिले आड पाउने सम्भावना बढेर गएको छ । नेपालको राजनीति यतिवेला खिचडी खालको बनेको छ । संघीयता चाहिन्छ एकाथरी, चाहिदैन अर्कोथरी । मसानघाट पुगेको राजतन्त्र चाहिन्छ एकथरी । नेपालमा राजतन्त्रको औचित्य समाप्त भयो अर्कोथरी । धर्म निरपेक्षता हुनुपर्छ एकथरी, धर्मनिरपेक्षता हुुनुहुँदैन अर्कोथरी । हिन्दू राज्य हुनुपर्छ एकथरी, सबै धर्म र त्यसका अनुयायीहरूको उत्तिकै सम्मान हुनुपर्दछ अर्कोथरी । अझ आश्चर्य के छ भने संघीयताको विरोध गर्नेहरू मौका पाए सरकारमा सहभागी हुन पछि नपर्ने अनि हामी सत्ताको लागि राजनीति गर्दैनौं भन्नेहरू देखापरेका छन् । उनीहरू आफूलाई नेपालका सच्चा कम्युनिष्ट भनेर थाकेका छैनन् । एउटा भए पनि साँसदका निम्ति जसको पनि बुई चढन लाज नमान्नेहरूले आज रुखको ठूलै हाँगो निहुराएको धक्कु दिएको सुन्दा झन ठूलो आश्चर्य लाग्दछ ।
आफूले आफूलाई सच्चा देख्नु सच्चाई हो कि आम नागरिकले मत दिएर सर्वाधिक मत पाउनु सच्चाइ हो ? यसको वारेमा आज वहस हुन आवश्यक छ । जुन कम भयो जस्तो लाग्दछ । संघीयताको कुरासंगै वर्तमान नेपालका राजनेता र राजनीतिक दलहरू केही छोडेर भन्नुपर्दा कुनै दिन फिस्टे चरोले आफ्नी आमासंंग रुखको ठूलै हाँगो निहुराएँ भनेको भन्दा फरक देखिएन । फिस्टे चराले रुखको हाँगो निहुराउन सक्छ कि सक्दैन ? जुन पार्टीलाई नागरिकले मत दिन चाहँदैन कूल मिलाएर एकसिट आउँदैन भन्ने जान्दाजान्दै ठूलो रुखको ओत लाग्नुपर्दछ । उसैले हामी सच्चा कम्युनिष्ट भनेर रट लगाउनु सबैभन्दा ठूलो वेइमानी हो । यस प्रकारका वेइमानीको खेती गर्नेहरूले गरेको राजनीतिको खेती कति फल्ला र नेपाली नागरिकले कति फल पाउलान ? अर्कोतर्फ जुन दल नागरिकका नजरबाट दिनदिनै गिर्दो अवस्था छ र बिना आडभरोसा उसको उभिने क्षमता क्षीण हुँदै गएको महसुस गरिरहेको छ । आज लोकतन्त्र, गणतन्त्र हाम्रै बलबुताबाट आएको भनेर गफ दिनु र संघीयता पुष्टि गर्ने आधार दिन नसक्नु यो पनि आफैमा लाजमर्दो कुरा हो । यस प्रकारका छलछामका कुरा गर्नु भन्दा नगर्नु राम्रो हुने थियो । फर्सीको लहराले मैले आँपको बोटलार्ई उभिन सहारा दिएको छु भन्नु र नेपालमा हामी र हाम्रो पार्टी विना कोही पनि आफ्नो अस्तित्वमा उभिन सक्दैन भन्नु एउटै कुरा हो । यसमा फरक छैन । नेपालीले दुःख जिलो गरेर ल्याएको प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, संघीयता सबैकुरा नागरिकले पत्याउने गरी आएको हुुनुपर्दछ । यसले नागरिकलाई सम्वोधन गर्न सक्नुपर्दछ । बर्तमानमा हामीले पाएको उपहार यो पाच्य हुने खालको छैन । यसकारण उपहार, उपहार जस्तै देखिनु पर्दछ । चेतना भया ।