© २०२३
लुम्बिनी, ११ कात्तिक ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको बुद्धजन्मस्थल लुम्बिनीमा हुने भ्रमणको तयारी थालिएको छ । नेपालको चारदिने भ्रमणका क्रममा कात्तिक १४ गते बुद्धजन्मस्थल लुम्बिनीको भ्रमणका लागि समय तय भएपछि लुम्बिनी विकास कोषले तयारी शुरु गरेको हो । कोषले शनिबार लुम्बिनी साँस्कृतिक नगरपालिका, भिक्षु भिक्षुणी सहित सरोकारवालाहरुसँग बैठक गरी महासचिव गुटेरेसको भ्रमणलाई भव्य बनाउनेबारे छलफल गरेको छ ।
महासचिव गुटेरेस प्रधानमन्त्री पुष्पकमल दाहालको निमन्त्रणमा कात्तिक १२ (अक्टोबर २९) मा नेपाल आउने तय भएको हो । लुम्बिनी विकास कोषका उपाध्यक्ष, संविधानसभा सदस्य डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले महासचिव गुटेरेसको लुम्बिनी भ्रमण भव्य बनाउने गरी तयारीमा जुट्न आग्रह गरे । महासचिवको भ्रमणले लुम्बिनीबाट विश्वशान्तिको सन्देश विश्वभर दिन सकिने बताए । महासचिव गुटेरेसलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संगै लिएर आउनेछन् । १४ गते विहान ८ः३५ बजे गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थल आईपुग्ने र त्यहाँबाट हेलीकप्टरमा सिधै लुम्बिनी आउने प्रारम्भिक कार्यक्रम बनेको छ । महासचिव गुटेरेस हेलिप्याडदेखि चार नम्बर गेट, शान्तिदिप हुँदै मायादेवी मन्दिरसम्म जाने बताईएको छ ।
बैठकमा कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई, लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख सजरूद्धिन खान, उपप्रमुख कल्पना हरिजन, कोषका सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, बरिष्ठ निर्देशक ज्ञानिन राई लगायतको उपस्थिति रहेको थियो ।
यसअघि महासचिव गुटेरेसले अक्टुबर १३ देखि १५ सम्म नेपाल भ्रमण गर्ने कार्यतालिका तय भएको थियो । तर, अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेपछि उक्त भ्रमण स्थगित गरिएको थियो । गुटेरेसले कात्तिक १४ गते संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यतालिका पनि तय भएको छ ।
महासचिव गुटेरेस सन् १९९५ देखि २००० सम्म पोर्चुगलका प्रधानमन्त्री थिए । संयुक्त राष्ट्रसङ्घको महासचिवका रूपमा उनको यो दोस्रो कार्यकाल हो । उनी पहिलो कार्यकालका लागि सन् २०१६ मा महासचिवमा नियुक्त भएका थिए ।
यसअघि सन् २००८ संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव वान की मुनले नेपाल भ्रमण गरेका थिए । त्यतिखेर पनि मुनले लुम्बिनी भ्रमण गरेका थिए ।