© २०२३
बुटवल,६ असोज । दसैँ बिदा सुरू भएसँगै रुपन्देही र आसपासमा बस्दै आएकाहरु आफ्नो पुख्र्यौली थातथलो जानेको संख्या बढेको छ । तर, रुपन्देहीमै बसेर दसैँ मनाउनेको संख्या पनि ठूलै छ । दसैँ बिदालाई थप रमाइलो,रोमाञ्चक र आननन्दायी बनाउंदै कहाँ घुम्न जाने भन्ने सोचिरहनु भएको छ भने बुटवलबाट नजिकमा रहेका लुम्बिनी केबलकार लगायतका पर्यटकीय ठाउँमा पुगेर प्रकृतिसँग रमाउन सकिनेछ ।
यसवाहेक बुद्ध जन्मस्थल लुम्बिनी,शंकरनगर वनबाटिका,फुलबारी, हिलपार्क, ग्लोबल पिस पार्क, मिनी फेवा ताल, मिलन पार्क पनि भ्रमणयोग्य स्थलहरू हुन् ।
यस्तै तिलोत्तमा कुन्जलापुरको कुञ्ज पार्क सैनामैनाको मलमला, पानी दह लगायतका पर्यटकीय क्षेत्र पनि घुम्न लायक छन् ।
देवदहको पाकरी वृक्ष, गौतमबुद्ध पार्क, गौतमबुद्ध राष्ट्रिय उद्यान देवदह क्षेत्रका पर्यटकीय स्थलहरू हुन् । यस्तै कञ्चन गाउँपालिकाको दानापुर ताल र गैडहवाको गैडहवा ताल पनि पर्यटकीय क्षेत्र हुन् ।
तर यी माथिका मध्ये नयां र सुविधासम्पन्न पर्यटकीय गन्तव्य भने लुम्बिनी केबलकार र यसको टप स्टेशन बसन्तपुर नै हो । गत जेठ १५ बाट सञ्चालनमा आएकाले यो रुपन्देही र प्रदेशकै नयां पर्यटकीय गन्तव्य बनेको हो ।
डेढ अर्ब बढी लगानीमा केबलकार,जीपलाइन, रेष्टुरां लगायत पर्यटकीय पुर्वाधार बनेकाले छोटो समयमै यहां आन्तरिक र भारतीय पर्यटकको आकर्षण छ । बुटवलको बमघाटमा बटम स्टेशन र पाल्पाको तिनाउ गाउंपालिका बसन्तपुरमा टप स्टेशन बनाई सञ्चालनमा आएको लुम्बिनी केबलकार चढेर १५ मिनेट भित्र पाल्पाको बसन्तपुर पुग्न सकिने भएकाले बिदाको सदुपयोग गर्दै घुम्ने लहर मौलाएको छ ।
चाडपर्वलाई मध्यनजर गरी कम्पनीले टिकटमा ४० प्रतिशत र रेष्टुरेन्टमा १० प्रतिशत छुट समेत दिएकाले परिवार सहित र समूहमा घुम्न आउनेको संख्या उत्साहजनक रहेको अपरेसन मयानेजर डिएन कायस्थ सैंजूले बताए ।
‘लुम्बिनी प्रदेशकै पहिलो केबलकार अनि यसमा चढेर बुटवल र तिलोत्तमाको दृश्यावलोकन, बसन्तपुरको स्वच्छ वातावरण,प्रख्यात शक्तिपीठ कामाख्या देवीको आकर्षक मन्दिर संगै दुर्गा माताको सय वर्ष पुरानो मन्दिरले आन्तरिक र भारतीय पर्यटकलाई आकर्षित गरेको छ’–अपरेसन म्यानेजर सैजूले भने–‘यस वाहेक बसन्तपुरमा जीपलाइन पनि सञ्चालन भएको छ । जीपलाइन चढेर रोमाञ्चक अनुभव लिन केटाकेटी,युवा देखि बृद्धबृद्धासम्म लालायित हुने गरेका छन् । दशैंलाई लक्षित गरी दुई वटा लिंगे पिङ पनि बनाइएका छन् । स्तरीय रेष्टुरेन्ट,घुमफिरका लागि बसन्तपुर डांडामा प्रशस्त ठाउं भएकाले धेरैले नयां पर्यटकीय गन्तव्य बसन्तपुरलाई रोज्ने गरेका छन् ।’
सैंजूका अनुसार जेठ १५ देखि हालसम्म करिब ८० हजार पर्यटकले लुम्बिनी केबलकारको यात्रा र बसन्तपुर भ्रमण गरेका छन् ।
आर्थिक र पर्यटन क्षेत्रमा कलम चलाउने पत्रकार प्रदीप आचार्यले पर्यटनको नयाँ गन्तव्य बुटवल – बसन्तपुर जोड्ने लुम्बिनी केबलकार बनेको उल्लेख गर्दै बसन्तपुरमा बन्दै गरेका थप पुर्बाधार र शुरुवाती चरणमै देखिएका भारतीय पर्यटकको आकर्षणले यसको संभावना राम्रै देखिएको बताए ।