© २०२३
भैरहवा, ३ कार्तिक । गुल्मेली सम्पर्क समाज रुपन्देहीले प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई स्वागत, सम्मान गरेको छ । तिलोत्तमा नगर पालिका वडा नं ४ मा रहेको श्री श्रृङ्गेश्वर धाममा स्वागत, सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रम गरेको हो ।
विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य वासुदेव घिमिरेले तिलोत्तमा नगरपालिकामा रहेको श्री श्रृङ्गेश्वर धाम ऐतिहासिक महत्व बोकेको बताउँदै सकारात्मक ब्यक्तिहरुले श्री श्रृङ्गेश्वर धाममा गरेको मेहनत, खर्च गरेको उर्जा, अग्रजहरुले खेल्नुभएको भुमिकाकै कारण यो स्थानसम्म आएको बताए ।
कार्यक्रमका रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले गुल्मेलीहरु सकारात्मक मनका धनी हुने बताए । उनले सकारात्मक कार्यका लागि गुल्मेली सम्पर्क समाज, श्री श्रृङ्गेश्वर धाम समाजका नमुना र प्रशंसा गर्न लायक काम भएको बताए ।
गुल्मेली सम्पर्क समाजका अध्यक्ष डाक्टर नारायण प्रसाद पन्थले श्री श्रृङ्गेश्वर धाम जस्तो पवित्र र पर्यटकिय महत्व बोकेको संस्था स्थापना गर्ने संस्थापक समितिलाई धन्यवाद ज्ञापन ज्ञापन गर्दै रुपन्देही जिल्लामा रहेका गुल्मेलीहरुलाई सम्पर्क समाजमा जोड्दै जाने, अझ धेरै सामाजिक कार्यमा संलग्न हुने प्रतिबद्धता ब्यक्त गरे ।
कार्यक्रममा समाजका सल्लाहकार पूर्व प्रजिअ टीकाराम घिमिरे, संस्थापक प्राध्यापक डाक्टर जिवलाल सापकोटा,वरिष्ठ सर्जन डाक्टर कृष्ण खनाल, पूर्व प्रमुख जिल्ला अधिकारी बाबुराम गौतम, सम्पर्क समाजका सिद्धार्थनगर शाखा प्रमुख केशवराज ज्ञवाली, समाजका सचिवालय सदस्य राजेन्द्र कुवंर, धामका अध्यक्ष ऋषि भण्डारी, समाजका संस्थापक तथा वरिष्ठ पत्रकार खिमानन्द भट्राई, जेष्ठ नागरिकका कार्यबाहक अध्यक्ष ओमीकला पुन, उपाध्यक्ष पारसमणी भण्डारी, महासचिव कृष्ण प्रसाद पोखरेल लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा साहित्यका सरु ज्ञवालीले कविता प्रस्तुत गरेकी थिइन ।
कार्यक्रममा रुपन्देही जिल्लामा आएका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई स्वागत गर्नुका साथै संस्थाका आजिवन सदस्यहरुलाई प्रमाण पत्र समेत प्रदान गरिएको थियो ।