© २०२३
एकसय सैतिस वर्षको उमेरमा काठमाडौंको शिवपुरीमा ब्रह्मलिन हुनुभएका श्रद्धेय सन्त श्री शिवपुरी बाबाले स्वधर्म शिक्षणको क्रममा भक्तजनहरूलाई भन्नु भएको थियो – भर्तृहरिका तीन शतक कण्ठस्थ गर्नुपर्दछ ।
१. बैराग्य शतक ठिक आत्माका लागि हजार पुस्तक भन्दा बढिया छ ।
२. श्रृङ्गार शतक सांसारिक तथा व्यवहारिक बुद्धिका लागि बढिया छ ।
३. नीति शतक ठिक मन बनाउनको लागि बढिया छ ।
उहाँको शिवपुरीमा रहेको समाधीस्थलमा राजर्षि भर्तृहरिको निम्न श्लोक सिंगमरमरमा लेखेर टाँगिएको छ– ‘आफ्नो पाखुरालाई तकिया गरी, सूर्य चन्द्रलाई आफ्नो बत्ति बनाई समस्त इच्छाबाट मुक्त भएतापनि बैराग्यलाई आफ्नो श्रीमती बनाएर महाराजधिराज जस्तै खाली भँुईमा पल्टेर यहाँ आराम गरिरहनु भएको छ एउटा भिक्षु’ ।
श्री शिवपुरी बाबाले आफ्नो स्वधर्म शिक्षा र श्रीमदभगवत गीताको शिक्षा एवं शाक्यमुनि बुद्धको शिक्षामा भिन्नता नभएको बताउनु भएको छ । उहाँले शाक्यमुनि बुद्ध निकै माथिल्लो तहको बुद्धपुरुष भएर राजसभा देखेपनि राजा भने नदेखेको सिद्धपुरुषको रूपमा चर्चा गर्नु भएको पाइन्छ आफ्ना भक्तजनहरूसँग । जुन प्रसङ्गहरू भक्तहरूले शिवपुरी बाबाको स्वधर्म शिक्षाको रूपमा सङ्कलन गरी प्रकाशनमा ल्याएका छन् । उहाँले सनातन धर्मका त्रिदेव ब्रह्मा, विष्णु र महेश्वरलाई पनि ठूलो महत्व दिनुभएको छैन । ‘पहिले म उनीहरूको अनुयायी थिएँ, अहिले उनीहरू मेरा अनुयायी छन्’ भनेर प्रष्टसँग बताउनु भएको पाइन्छ । शिवपुरी बाबाले दुई पटक संसार भ्रमण गरेपछि अन्तिम गन्तव्यस्थल काठमाडौंको पशुपति क्षेत्रको शिवपुरी डाँडालाई बनाउनु भएको थियो । उहाँले आफ्नो अनुभवबारे लेख्ने हो भने हजारौ सङ्ख्यामा पुस्तक तयार हुने कुरा पनि बताउनु भएको पाइन्छ । उहाँको जन्म भारतमा भएको थियो । एकसय वर्षको उमेरतिर उहाँ शिवपुरीमा बस्न आउनु भएको थियो । उहाँको नाम गोविन्दानन्द भारती हो । यस्ता सिद्ध बुद्ध व्यक्तित्वहरूको व्यक्तिगत जीवन बारेका विवरण भने प्रायः लुकाईएका हुन्छन् । शिवपुरी बाबाले पनि आफ्नो व्यक्तिगत जीवनबारे चर्चा गर्न नरुचाएको देखिन्छ । उहाँको जन्म एक धनाढ्य राजनीतिक तथा आध्यात्मिक परिवारमा भएको थियो । उहाँसँग भक्तहरूले व्यक्तिगत जीवनबारे सोद्धा स्वधर्मबारे मात्र सोध्न आग्रह गर्नुहुन्थ्यो । व्यक्तिगत जीवनका कुराले शिक्षा ओझेल पर्ने उहाँको भनाई छ ।
आध्यात्मिक शिक्षाको जिज्ञासु भएकाले मलाई बडो अचम्म लाग्यो – यस्तो उच्च कोटीको महान सन्त जसले प्रभुको दर्शन गरि सक्नु भएको छ, उहाँले समेत राजर्षि कवी भर्तृहरीको शिक्षाको मुक्त कण्ठले प्रसंशा गर्नु भएको छ । उहाँको समाधिस्थलमा भर्तृहरी रचित श्लोक टाँगिएको छ । भर्तृहरीको शिक्षाको महिमा कति उँचो रहेछ । शिवपुरी बाबाको अर्को भनाइबाट पनि म आश्चर्य चकित छु – ‘एउटा गोप्य कुरा, यशुक्रिष्ट, बुद्धहरू पनि नयाँ जन्म लिएर अहिले कहिँ चुपचाप बसिरहेका छन्’ ।
यस्ता महान सन्त शिवपुरी बाबाले समेत प्रसंशा र प्रचार गरेको भर्तृहरी शिक्षाले हाम्रो देशमा भने महत्व पाएको छैन । भर्तृहरीले शिक्षा नेपालमा प्राप्त गर्नु भएको हो – बुद्धवल्ली (बुटवल) मा । अर्थात भर्तृहरी शिक्षा नेपालमा जन्मेको हो । बुटवल समिपको पाल्पाको दोभानको कुहिरे भिरमा रहेको गुफामा जन्मेको हो । यहि गुफामा प्राप्त गरेको ज्ञान उहाँले लोकमा बाँड्नु भयो । बैराग्य शतक, नीति शतक र श्रृङ्गार शतक जस्ता एक एक सय श्लोक भएका शतक त्रयको रचना गरेर । मानव चरित्रको प्रष्ट व्याख्या गरिएको यस्तो साहित्य सायदै संसारमा दोस्रो नहोला । लोकलाई बुझाउन सकियोस भनेर यि श्लोकहरू मुक्तकको शैलीमा रचित छन् । १७ औं शताब्दीतिर भर्तृहरीको शिक्षा युरोपमा प्रचार शुरु भएको मानिन्छ । पश्चिमाहरूले भारतको इतिहास, साहित्य, भाषा एवं धर्मको अध्ययन गरिनुलाई भारत विद्या भन्छन् । त्यसको शुरुवात राजर्षि भर्तृहरीका यिनै शतक त्रयको डच अनुवादबाट भएको मानिन्छ । जसलाई एक डच प्रचारक रोजक अब्राहिमले दक्षिण भारतमा सन् १६५१ मा प्रचार गरेका थिए ।
भारतमा प्रथम ब्रिटिस गभर्नर जनरल वारेन ह्याष्टिङ्गले श्रीमद्भागवत गीतालाई अङ्ग्रेजीमा अनुवाद गर्न लगाएका थिए । उनले नै भूमिकामा लेखेका थिए– “वृटिश साम्राज्य समाप्त होला, गीता सदैव रहिरहन्छ” ।
भर्तृहरीले अष्टसिद्धि प्राप्ति र शतक त्रयको रचना बुटवल समिपको दोभानको कुहिरे भिरको गुफामा बसेर गर्नुभएको थियो । श्रृङ्गार शतक उहाँ आफैको भोगविलासको अनुभव, नीति शतक चक्रवर्ति राज्य सञ्चालनको अनुभव र बैराग्य शतक बैराग्य पछि सन्यासी जीवन अनुभवको आधारमा रचिएका उत्कृष्ट रचना हुन । भर्तृहरी रचित वाक्यपदीय नामक व्याकरण ग्रन्थ पनि विख्यात छ । पाणिनीको व्याकरणको प्रयोग घटेर भाषिक सभ्यता बिग्रिसकेको अवस्थामा वाक्यपदीय लेखेर भर्तृहरिले लोकलाई भाषिक सभ्यतातिर पुनर्जागृत गरेको पाइन्छ । जमर्न लेखक हर्मन हेस्सेको सिद्धार्थ उपान्यासले सन् १९४६ को नोबेल साहित्य पुरस्कार पाएको थियो । मैले सिद्धार्थ उपन्यासको नेपाली अनुवाद अध्ययन गरेको छु । त्यसको तुलनामा यि शतक त्रय धेरै उच्च कोटीका छन् ।
बिडम्बनाको कुरा, दोभान–बुटवल क्षेत्रमा जन्मभएको भर्तृहरि शिक्षा नेपालमा लोप भएको छ । राणाशासन कालमा राजदरबारमा भर्तृहरि नाटक मन्चन गरिन्थ्यो । बाबा भरथरीको नामले लोकले उहाँलाई पुकार्दथ्यो । कवि शिरोमणि लेखनाथ पौड्यालले भर्तृहरिको बैराग्यको घटनामा आधारित भई तयार गरेको भर्तृहरि निर्वेद नाटक पाट्यक्रममा पनि समावेश थियो । संस्कृतका कवि हरिहरले शम्भुपति गुरु गोरखनाथ र अवन्तीका पति भर्तृहरिसँग सम्बन्धित भर्तृहरि निर्वेद नामक नाटक रचना गर्नुभएको छ । शान्त रस प्रधान ऐतिहासिक उक्त नाटकलाई योगी नरहरीनाथले हिन्दीमा अनुवाद गर्नुभएको छ । २० औं शताब्दीमा नेपालमा प्रचलित भर्तृहरि नाटक पनि हरायो । बुद्धवल्लीमा जन्मेर पश्चिमा मुलुकसम्म फैलिएको भर्तृहरि शिक्षाको महत्व हामी बुटवलवासीले अब बुझ्नु पर्दछ । यसको प्रचार प्रसार र पालना गर्ने/गराउनेतर्फ हामी लाग्यौ भने यसबाट मुलुकको विकासमा टेवा पुग्ने छ ।
रूपन्देहीमा शाक्यमुनि बुद्ध र बुद्ध शिक्षा जन्मेका त हुन नै । अर्का अद्वितिय त्यागी चक्रवर्ति राजा (भारतको उज्जैन राज्यका) भर्तृहरिले राजपाट त्यागीकन ज्ञानको खोजीमा हिमालय तर्फ जानेक्रममा दोभान–बुटवलको कुहिरे भिरको गुफामा तपस्या गरी अष्टसिद्धि ज्ञान प्राप्त गर्नु भएको थियो । शाक्यमुनि बुद्ध र भर्तृहरि जस्ता बुद्ध पुरुषको शिक्षाको प्रचार प्रसारमा हामी सबै जुटौँ । भर्तृहरि शिक्षाको सेवन गरेपछि संसारको जुनसुकै रचना फिक्का लाग्छ । एकपटक सेवन गरी हेरौँ त !
म भर्तृहरी जस्तो त्यागी पुरुष संसारमा कसैलाई मान्दिनँ । जसले ४७/४८ वर्षको लाउँलाउँ र खाउँखाउँ उमेरमा चक्रवर्ति राजाको पद र सयौँ रानीको सुख सयल त्यागेर ज्ञानको खोजीमा भारतको गोरखपुर हुँदै गोरखनाथको दिक्षा लिएर बुटवल (बुद्धवल्ली) मा आउनुभयो । बुद्धवल्लीमा उहाँको मनोकाङ्क्षा सिद्ध भयो । सिद्धबाबाको रूपमा लोकमा प्रसिद्ध हुनुभयो । बुटवल–दोभानको सिद्धबाबा मन्दिरमा गरिने एक सिद्ध पुरुषको पुजा उहाँको भएको जनश्रुति छ । यस सम्बन्धि खोज अनुसन्धान गरी बुटवलको सिद्धबाबा मन्दिरले भर्तृहरी नाथ स्मृति ग्रन्थ पनि प्रकाशित गरेको छ ।