© २०२३
आदरणीय बाबा,आमा ।
सादर प्रणाम !
खै ! कहाँबाट, कसरी सुरु गरौं पत्र लेख्न ? कलम समाउने हात कापिरहेको छ, मुटु ढुकढुक गरिरहेको छ तैपनि यो पत्र लेख्ने समयसम्म हजुरहरुको आशिर्वाद र पशुपतिनाथको कृपाले बाँचिरहेको छु नै भन्नुप¥यो । यतातिरको खबर त तपाईंहरुले पनि रेडियो, टेलिभिजनबाट थाहा पाउनु भएछ । यहाँको खबर सुनेर तपाईंहरु मुर्छित बनेको र अहिलेसम्म होसमा नफर्किएको कुरासमेत छिमेकी भाइ बिरुले हिजोमात्रै फोनमा जानकारी गराएको थियो । यस्तो सुनेर म निकै अत्तालिएको छु अनि चिन्तित पनि बनेको छु ।
बाबा ! जन्मभूमि भनेर मात्रै नहुदो रहेछ । समयानुकूलको शिक्षा , स्वास्थ्य , रोजगारीजस्ता आधारभूत आवश्यकताहरु समेत नपाइने देखेपछि वाध्य भएर विदेश नै रोज्नुप¥यो ।
देशमा प्रजातन्त्र आएको पनि यतिका वर्ष बितिसक्यो, देशमा समृद्धि आउनेछ, नेपालीहरु काम, दाम र मामका लागि विदेशी भूमिमा भौतारिनु पर्ने छैन भन्दै व्यवस्था परिवर्तनका लागि पटक पटक आन्दोलन पनि नभएका होइनन् तर ती सबै हामीजस्ता सामान्य नागरिकका लागि भएका रहेनछन् भन्ने कुरा बल्ल बुझ्दैछु । सामान्य जीवन चलाउनसमेत कठिन हुन थालेपछिको अवस्था र बैंकको ऋणले कँस्दै लगेपछि एकमात्र विकल्प वैदेशिक रोजगारी नै हो भनेर मैले हजुरहरुलाई पहिलोपटक भन्दै गर्दा तपाईंहरुले कत्ति मन दुखाउनु भएको थियो, त्यो अहिले पनि झल्झली सम्झिन्छु ।
आमाले त झन रुँदै भन्दै हुनुहुन्थ्यो ,“बाबु हाम्रो यस्तो बुढेसकालमा हामीलाई सहाराबिहिन बनाएर विदेश नजा ! तर के गर्नु उमेर पनि बढ्दै जान थाल्यो, परिवारको लागि औषधि उपचारदेखि लिएर सामान्य दैनन्दिन खर्च समेत धान्नका लागि नेपालमै बसेर केही उपाय देखिन, त्यसकारण जन्मभूमिको मायालाइ छातीमा राख्दै सुनौला सपना बोकेर बिदेश पुगेको हुँ । बाबाले मलाई पढाउँदा खोजेको ऋणको व्याजसमेत तिर्न नसकिने अवस्थालाई बुझेर अध्ययनको बहानामा तपाईंहरुको न्यानो काखलाई केही समयको लागि छोडेर यहाँसम्म आएको थिएँ तर सोचेजस्तो रहेनछ यहाँ । युद्धलाई आफ्नो अभिष्ट बनाउने देशहरु सिमित स्वार्थका लागि एक–आपसमा मिसाइल आक्रमण गर्न समेत पछि पर्दा रहेनछन् । मर्ने र मार्ने कार्यलाई सामान्य मान्दा रहेछन् । मानवताको त कुरै नगरौं । करिब चारपाँच दिनजसो भयो जताततै बम, गोला, बारुदका आवाजले यो मन निकै त्रसित बनेको छ । हामीसँगै आएका दशजना साथीहरु ऐया ! समेत भन्न नपाई मृत्युवरण गर्न पुगेका छन् । केही साथीहरूको अत्तोपत्तो नै छैन । चारैतिर युद्धको विभिषिकाले आक्रान्त छ । धुवाँको मुस्लोले कतै केही देखिदैन । रकेट आक्रमणका कारण सहर ध्वस्त बन्दैछ । हामी केही साथीहरू ज्यान बचाउन सकिन्छ कि भनेर बङ्करभित्र लुकेर बसिरहेका छौं । यस्तो अवस्थामा केही गुहार पाइन्छ कि भनेर नेपाल सरकार, यहाँको राजदुतावास लगायत सबैलाई खबर पु¥याएकै हो तर कतैबाट पनि मौखिक आश्वासनबाहेक कुनै त्यस्तो सहयोग पाएका छैनौं । अन्य देशबाट आएका नागरिकहरुलाई ती देशहरूले आ–आफ्नो देश अथवा सुरक्षित स्थानतर्फ स्थानान्तरण गरेको पनि सुनिदैछ तर हाम्रो अवस्था क्षण क्षणमा निरीह एवं अत्यासलाग्दो बन्दै गइरहेको छ ।
अन्त्यमा बाबा, हजुरले आफ्नो स्वास्थ्यको ख्याल गर्नु । ऋण,सापटी गरेरै भए पनि आमाले नियमित खाँदै गरेको औषधि किनेर खुवाउने व्यवस्था मिलाउनु, आउँदै गरेको दशैमा त्यो सानो भाइलाई एकसरो नयाँ कपडा किनिदिनु भन्दै डरले थरथराहट भएको हातमा रहेको कलमलाइ यहीं बन्द गर्छु । बाँकी अर्को पत्रमा ।
उही तपाईंहरुको छोरा
राहुल
(इजरायलबाट)