© २०२३
बुटवल, १९ असोज । एक जना समाजसेवी तथा ब्यवसायीले आफनो जन्मदिनको अवसरमा श्री पक्लिहवा माध्यमिक विद्यालय, सिद्धार्थनगर वडा नं. १ पक्लिहवामा ‘निःशुल्क स्कुल ड्रेस वितरण कार्यक्रम’ गरेर मनाएका छन । समाजसेवी युवा व्यवसायी श्रृजना बनियाँले आफ्नो जन्मदिनको सुअवसरमा विद्यालयमा अध्ययन गर्ने बालविकास देखि कक्षा ८ सम्मका विपन्न तथा जेहेन्दार ५१ जना विद्यार्थीहरुलाई करिब चालिस हजार बराबरको एक–एक सेट स्कुल ड्रेस (विद्यालय पोशाक) वितरण गरेका थिए ।
कार्यक्रममा समाजसेवी बनियाँले आफ्नो जन्मदिनको अवसरमा केही भएपनि शुभ कार्य गर्न पाउँदा आफुलाई आनन्द, हर्षित तुल्याएको र भोलिका दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता जाहेर गरे । व्यवस्थापन समितिका अध्यक्ष सुशील गुरुङ्गले जन्मदिनको पार्टी महंगो होटल–रेष्ट्ररेन्टमा फजुल खर्च गरेर मनाउने परम्परालाई त्याग्दै हाम्रो समाज यस्तै प्रकारले विपन्न तथा असहायको सहयोगमा खर्च गर्दा समग्र समाजलाई सुमार्गमा डोराउन टेवा पुग्ने बताए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सल्लहाकार याम बहादुर थापा, सदस्य सलुजा विश्व सेन्चुरी, विद्यालयका प्रधानाध्यापक बसन्तकुमार बस्नेत, शिक्षक देवि प्रसाद न्यौपानेले यस्तै नमुना कामबाट समाजमा रुपान्तर सम्भव हुने बताए ।