© २०२३
गुल्मी, १८ असोज । निरन्तर बर्षाका कारण पहिरो खसेपछि गुल्मीका चार वटा प्रमुख सडकहरू अबरुद्ध बनेका छन । काली गण्डकी करिडोर सडक अन्तर्गत कालीगण्डकी गाउँपालिकाको कालाखोलामा पहिरो गएपछि बिहीबार दिउँसोदेखि उक्त सडक अबरुद्ध बनेको हो ।
त्यसैगरी वर्षाका कारण पहिरो गएपछि मंगलबारदेखि अबरुद्ध रिडी–अर्घाखाँची सडक अझै सञ्चालनमा आएकोे छैन । लगातार रूपमा वर्षा भैरहेको कारण सडक सुचारु गर्न समस्या परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । उक्त सडक खण्ड अन्तर्गत रुरुक्षेत्र गाउँपालिकाको साखर भन्ने स्थानमा सडक माथिबाट चट्टान सहितको पहिरो खसेपछि मंगलबार अपरान्हदेखि उक्त सडक अवरुद्ध बनेको हो ।
वर्षाको कारण तम्घास ‐ईन्द्रगौंडा सडक पनि बुधबार अपरान्हदेखि अबरुद्ध बनेको छ । उक्त सडकखण्ड अन्तर्गत मुसिकोट नगरपालिका ४ स्थीत दोभानमा सडक माथिबाट पहिरो खसेपछि सडक अबरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) डिल्लीनारायण पाण्डेले बताए ।
त्यसैगरि वर्षाका कारण पहिरो गएपछि गुल्मीदरबार गाउँपालिका अन्तर्गत गौंडाकोट ‐बलीथुम) जुभुङ् सडक पनि अवरुद्ध बनेको छ । गए रातीदेखि अबरुद्ध बनेको रिडी–रुद्रबेणी–वामीटक्सार सडक भने सञ्चालनमा आएको छ । उक्त खण्ड अन्र्तगत सत्यवती गाउँपालिका ५ को बाँदरे भीरमा गएको पहिरो हटाएपछि आज अपरान्हदेखि सडक सुचारु भएको हो । तीन दिनदेखिको लगातार बर्षाका कारण जिल्लाको जनजीवन प्रभावित बनेको छ । जिल्लाका अधिकांस ग्रामिण सडकहरू अबरुद्ध बनेपछि यातायात सेवा प्रभावित हुँदा मानिसहरू समस्यामा परेका छन । बाढी पैह्रोले क्षती पुराउन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले खोला तटीय र पहिरोे जोखिम क्षेत्रका बासिन्दाहरूलाई सर्तक भई सुरक्षीत स्थानमा बसोवास गर्न आग्रह गरेको छ ।