© २०२३
सुनवल, १७ असोज । नेपाल प्रहरी श्रीमती संघले नवलपरासीको रामग्राम नगरपालिका–१५ ननईस्थित जनता आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । जिल्लामा रहेका सामुदायिक विद्यालयहरु मध्ये अति गरिब तथा विपन्न समुदायका बालबालिकाहरु अध्ययन गर्ने विद्यालयको पहिचान गरी संघले उक्त सामाग्री वितरण गरेको हो ।
विद्यालयमा बुधबार एक कार्यक्रमको आयोजना गरी संघकी अध्यक्ष लक्ष्मी कुँवरले कक्षा ५ सम्म अध्ययन गर्ने सम्पूर्ण विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेकि हुन् । विद्यालयमा ९५ विद्यार्थी अध्ययनरत छन् । उनीहरुलाई कपि, कलमलगायतका शैक्षिक सामाग्री वितरण गरिएको हो । शैक्षिक सामाग्री वितरण गर्दै संघकी अध्यक्ष कुँवरले बालबालिकाहरुलाई शिक्षा क्षेत्रमा अभिप्रेरित गर्नका लागि सामाग्री वितरण गरेको बताईन् । संस्थाले अति विपन्न विद्यार्थीहरु सँगै जेष्ठ नागरिक, समाजमा पछाडी परेका समुदायहरुलाई आवश्यकताका आधारमा सहयोग गर्दै आएको अध्यक्ष कुँवरले बताईन् ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) काजी कुमार आचार्यले सामाजिक संस्थाहरुले गर्ने रचनात्मक कार्यले सम्बन्धित संस्था र सरोकारवालाहरुलाई अगाडी बढ्न अभिप्रेरित गर्ने बताए । नेपाल प्रहरीको काम प्रभावकारी हुनका लागि समुदायको सहयोग महत्वपूर्ण हुने भन्दै एसपी आचार्यले समुदायबाट सकरात्मक सुझाव र सहयोगको अपेक्षा गरेको बताए । कार्यक्रममा रामग्राम १५ का वडा अध्यक्ष धनपत यादव, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पशुपति चौधरी लगाएतले शैक्षिक समाग्रिले विद्यार्थिलाई पठनपाठनमा उत्साह थप्ने विश्वास व्यक्त गरे ।