© २०२३
विदेशबाट छुट्टी मनाउन घरमा आएको पनातिले जिबालाई मुसार्दै प्रश्न सोध्यो, “जिबा हजुर कति वर्षको हुनुभयो ?”
कान कम सुन्ने जिबाले ‘के भन्छ हँ’ भन्नुभयो ।
पनातिले जिबाको नजिकै गएर पुनःसोही प्रश्न दोहोर्यायो ।
बल्ल जिबाले उत्तर दिनु भयो । “म १०४ वर्षको भएँ ।अब आउने चैत्र २५ गतेबाट १०५ वर्षको लाग्छु ।”
“ओ माई गड”— पनातीले दङ्ग पर्दै भन्यो, —“यतिका वर्ष कसरी बाँच्न सक्नु भयो त ?मलाई पनि बताउनुस न जिबा !”— पनातिले जिज्ञासा राख्यो ।
जिबाले भन्नु भयो, “मैले भनेका कुरा राम्ररी सुनेर आफ्नो जीवनमा लागु गर है बावु ।”
घरमा बनाएका शुद्ध चिजहरू मात्र खानु ।
अखाद्य वस्तु ( जंक फुड ) नखानु ।
समयमै खाना खानु ।
समयमै सुत्नु र मस्तसँग निदाउनु ।
बिहान भुक्भुकोमा (सूर्योदय सँगै )उठ्नु र नुहाइ धुवाइ सर–सफाई नियमित गर्नु ।
ब्यायाम, खेलकुद गर्नु
अध्ययन निरन्तर अगाडि बढाउनु ।
सकारात्मक कुरा सोंच्नु र सबैको भलो चिताउनु ।
परोपकारी सहयोगी बन्नु ।
सादा जीवन उच्च बिचार राख्नु ।
भुत (विगत)बाट पाठ सिक्नु
भविष्यप्रति आशावादी बन्नु चिन्ता नगर्नु ।
वर्तमानको चिन्ता गर्नु ।
आज राम्रो गर्नु ।आज राम्रो कर्म गर्न सके भूत,भविष्य वर्तमान सबै सप्रिन्छ ।
यिनै दिव्य वाणी सुनाउँदै जिबाले पनातिलाई दीर्घायुको रहस्य बताउनु भयो ।
पनातिको शिरमा हात राखी अश्रुमिश्रित नयनले पनातिको चेहरा नियाल्दै आशिर्वाद दिदै भन्नुभयो – ‘संसारको जुनसुकै ठाउँमा रहेपनि आफ्नो देश, आफ्नो धर्म, भाषा, संस्कृति, आफ्ना परिवार आफ्ना मान्छे नविर्सिनु नि !’
जिबाको दीर्घायुको रहस्यले हर्षान्वित बनेको पनातिले जिबालाई भन्यो, हजुर अझ धेरै वर्ष बाच्नुस है ! म अर्को पटक हजुरको बर्थ डे मनाउन धेरै गिफ्टहरू लिएर नेपाल आउछु ल !
तिलोत्तमा १
नीलगिरिपथ
शंकरनगर रूपन्देही ।
२०८०/६/११