© २०२३
मानिस जन्मेपछि मर्नुपर्छ । जन्मने र मर्ने प्रकृया सृष्टिको सुरुवात संगै चलिरहेको छ । हो हामी नवजात शिशु हुँदै बालक, किशोर र युवा हुँदै बृद्धावस्थामा पुग्ने गर्छौँ । युवा हुँदाको अवस्थासम्म प्रायः हामी सबैले अविभावकको साथ पाएर सजिलै जिएका हुन्छौ । जब बृद्ध अबस्था आउँंछ तब मानिस चिन्तामा पुग्छ । यो अवस्था भनेको सारै दुखदायी अवस्था हुन्छ । प्रेसर, सुगर, कोलेस्ट्रोल, थाइराइड, मुटुको रोग, पोस्टेड आदी जस्ता अनेकन रोगले समात्दै जान्छ । बृद्धावस्थामा मानिसहरू धेरै किसिमका रोग र औषधीको शिकार बनेका हुन्छन् । जसलेगर्दा उनीहरू कमजोर बन्दै जान्छन् । त्यो बेलामा मानवीय सहाराको जरुरत पर्दछ या त्यतिखेर मानिसले परनिर्भर भएर बाँच्नुपर्ने अवस्था आउँछ । पछिल्लोसमय धेरै ठाउँमा बृद्धबृद्धा अलपत्र परेको हामीले पाउँछौँ । कहीँ गरिबीको कारण यो अवस्थामा काल रोज्ने र खोज्ने बनाएको हुन्छ भने धेरै ठाउँ आफ्नै सन्तानले रेखदेख नगरेका कारण बृद्धबृद्धा अलपत्र परेको अवस्था छ । यतिखेर उनीहरू न त आत्महत्या नै गर्ने बाटो रोज्न सक्छन न त उनीहरू शान्तिको श्वास फेरेर जिउन सकेका छन । यस्तो परिस्थितिले बृद्धहरू बडो जटिल अवस्थामा छन् ।
नानी काल आएन, किन बाँच्न परेको छ र परिवारको बोझ भएर ? जस्ता शब्दहरू बृद्धाहरूको मुखबाट दिनदिनै सुन्नुपर्ने हुन्छ । के भयो भन्ने प्रश्नमा उनीहरू भन्ने गर्छन न त छोरो बोल्छ न त बुहारी नै । नाति नातिनासम्म मोबाइलमा रमेका हुन्छन । हामी बुढाबुढीको नजिकै आउँदैनन्, न त दुःख बिमार नै सोध्ने गर्छन न त भोक प्यासनै । यस्तो अबस्थामा के बाँच्नुुु, मरेकै ठिक । आजकल त पृथ्वीलाई नै बोझ भएछौँ भन्ने लाग्छ । पहिले पहिले त मोबाइल भन्ने थिएन । नाति नातिनाहरू हजुरबा आमासँंग खेल्थे, रम्थे, त्यसैले समय गएको पत्तै हुन्थेन, अहिले के जमाना आयो कोही कसैसँग बोल्दैन । सबै घोप्टिएका हुन्छन, हामी दुई बुढाबुढी मात्र आपसमा कति बोलिरहने, वाक्क लाग्छ, उनीहरू भन्छन् ।
कुनै बृद्धले भन्छन– भएका सन्तान सबै प्रदेशी भए, गुहार माग्ने ठाउँ छैन । बिमार हँुदा अस्पताल पु¥याउने मानिस छैन । कहाँ हो कहाँ प्रदेशबाट आफ्नो ख्याल गर्नु भन्ने शब्दले स्याहार सुसार पुग्दैन, पैसा त पठाउँछन, पैसाले स्याहार गर्दो रहेनछ, अस्पताल लग्ने, चेकजाँच गराउने, औषधी ल्याएर खान दिने मानिस कोही छैन के गर्नु, काल आएन । गाउँमा दाजुभाई आफन्तकोमा, डाँडा पाखा पखेरा घुमिन्थ्यो र दिन गएको पत्तो हुदैनथ्यो । तर शहरमा आफ्नै घरमा भाडामा बसेको मानिससम्म बोल्ने चलन रहेन्छ । बोले वा केही सोधे कहाँको पाखे हो भन्छन । कस्तो बिना पर्खालको जेलमा परिएछ । दिन गुजार्नै गाह्रो छ । जानु कहाँ जानु, पैदल हिँडे धुवाँ, धुलो र गर्मी हुने कुनै साधनमा चढे पैसा चाहिने र जाने गन्तव्य पनि छैन भने जाने कहाँसम्म जाने ? हामी गाउँमा बसीरहेकाहरूलाई सारै दिक्क लाग्दो रहेछ उनी भन्छन ।
दशथरी औषधीको भर छ, चिल्लो पीरो खानु हुंदैन, दाँत धेरै त झरिसके, एक दुईवटा बचेका दाँतले केही टोक्दैन, घरमा छोरा बुहारी अनि नाति नातिनालाई नरम खाना रुच्दैन, गिलो भयो भन्छन । दुइथरी पकाउन पकाउनेलाई दुःख हुन्छ भन्छन । न त खानामा न त लगाउनमा न त घुम्नमा जवान सरह हामी बुढाबुढीले सक्दैनौ, न त यी कुराहरूमा परिवारमा समावेश गराइन्छ । हामीलाई त पुरै घाँडो भएर बाँच्नु परेको छ । बडो कठिन भनेको बुढेसकाल रहेछ । धेरै जसोका घरमा छोराछोरी घरमै छैनन, भएकाका घरमा बृद्धलाई सेवा र सम्मान छैन । बिगतमा तिनै बाउआमाले जन्माएर हुर्काएका सन्तानले अहिले बाउ आमा गनाउने, फोहरी, पाखे, जंगली भन्दै परपर लखेट्ने जस्ता ब्यवहार भोग्नुपरेको केही बृद्धबृद्धा बताउँछन । कतिपय घरमा छोरा जागीर खान वा ब्यापार गर्न बाहिर जाने अनि घरमा बुहारीले तातो पानी माग्दा पनि झर्किने, खाजा दिन पनि मतलव नराख्ने अनि दिउसोको वा खाली पेटमा खानुपर्ने औषधी पनि छिमेकीमा पानी मागेर खानुपर्ने जस्ता समस्या देखिने गरेका छन् ।
कुनै बृद्धाले बुढा गए म एक्लै परेँ, मेरो त बोल्ने साथी नै छैन । घरमा कोही छैन, एउटो भको छोरो स्वास्नी लिएर बिदेशमा छ । उनीहरूले उतै दुई बच्चा बनाए भन्छन । न त ति बच्चा देख्नु छ न त भेटनु छ । सुत्केरी स्याहार्न पनि म त रोगी बोलाएनन्, सासु बोलाएर सबै गरायौँ भन्छन । अलि अलि घर खर्च पठाउँछन । औषधी खान जेनतेन पुग्छ । कहिले त त्यही दवाई ल्याइदिने मानिस हुदैन, गाउँमा बरु गुहार पाइन्थ्यो यहाँ त गुहार पाईदो रहेनछ, शहरका मानिस कति ठूला हुन, कसैको मुखमा हेर्ने बोल्ने चलन रैनछ, केही सोध्यो नसुने जस्तो गरेर हिँडछन् ।
सहरमा बुढाबुढीको साथी पाइँदो रहेनछ । यो सहरमा कोठामा मरेपनि गन्ध नआई कसैले कसैको चासो दिन्छन जस्तो मलाइ लागेन । उनी बुढी आमा आफ्नो गुनासा सुनाउँछिन । म गुल्मीको मानिस, मेरी श्रीमती स्वर्गे भएको अहिले आठ बर्ष भयो । एक बर्ष भयो बुटवल झरेको म बुढीको यादमा तडपेको यही बर्ष हो, सात बर्ष गाउँमा मलाई साथी भाइले बुढीको याद आउन दिएनन् तर सहर के झरेंथें बल्ल बुढी सम्झिने भएँ । यो सहरमा छोरो कमाउन र बुहारी घरधन्दा सकेपछि टिकटकमा रमाउन अनि नाति नातिना दिनभर स्कुलमा र आएपछि मोबाइलमा कार्टुन र पब्जीमा रमाउने गर्छन । यो हजुर बा हो भन्नेसम्म उनीहरूलाई थाहा छैन । कोही आफन्त आएर मुखमा हेर्दैनन्, ढोग्न मान्दैनन, के यस्ता दिन आए म छक्क परिरहेको छु । यस्तो अवस्था रहिरहे अबका दिन कस्ता हुने हुन, हाम्रो समाजको संस्कार र संस्कृति कतातिर जाने हा,े रिटायर लाइफ बृद्ध अवस्थामा कसरी गुजार्ने हो, परिवारबीचको अपनत्व यसरी हराउँदै गएपछि आफ्नै छोराछोरीले बाउ आमा नै नचिन्ने दिन आउला जस्तो लागिरहेको छ, उनी भन्छन ।
प्रत्येक घरको एक न एकजना परदेसिएको छ । घरमा जवान मानिस छैनन, कि त बृद्ध कि त बच्चा घरमा छन । गाउँको हाल बेहाल छ, बाँदरको बासस्थान बनेको छ, सहरदेखि कता नै जाने । सन्तानले म जन्मेको घर भनेर माटोमा नमिलिसिकेको भए फोटो खिच्ने बाहेक अर्को बिकल्प छैन । युवा जति प्रदेश छन, एकाध गाउँ कुरेका बुढाबुढीले सहरदेखि झिकाएको रासन खाएर बाँचेका छन । खेतबारी सबै बाँझिएको छ, भारत तथा बंगलादेशको खाद्यान्न खाएर नेपालीहरू बाँचेका छन । बरु खाडीमा गएर ८० डिग्रीको तापमा काम गरेर पैसा कमाउने तर आफ्नै देशमा केही गरौं भन्ने सोंच छैन र सोंच आएर फर्केका पनि सफल हुन सकेका छैनन् । सरकारले किसानलाई कुनै सहुलियत नदिँदा खुल्ला भारतीय बजार सँग प्रतिस्पर्धामा कारोवार गर्न नसक्दा घाटा मात्रै भएको छ । जसको परिणाम बिदेश पलायन हुन युवालाई रहर होइन बाध्यता बनाएको छ । जसको नतिजा बुढा बाउ आमाले दुःख कष्ट झेल्नुपरेको छ । हेला होँचो भएर बेसाहारा भएर बाँच्नुपरेको छ । जन्मेपछि बृद्धावस्था प्रायः सबैको आउँछ । सबैको जीवनमा माथि भनिएजस्तो परिस्थिति आउन सक्छ । तसर्थ यस्तो समस्याबाट बच्न समयमै समाजको प्रत्येक व्यक्ति वा समाजले अथवा राज्यले कदम चाल्नुपर्ने होइन र ?