तिमीले मलाई कहिल्यै
आफूजस्तै मान्छे देखेनौ
देख्यौ त मेरो चमडीको कालो रङ मात्रै देख्यौ
तिमीले मेरो दिलको धड्कन सुनेनौ
सुन्यौ त मेरो देहाती लवज मात्रै सुन्यौ
ए राजधानी !
तिम्रो सामने
म हुने छैन अब
काँधमा
अमृतजस्तै मौध
र घीको डब्बा झुण्डयाएर
तिम्रो घर घर डुलिहिँड्ने
म हुने छैन
टाउकोमा
हरियर सब्जी
र पीयर फलको टोकरी बोकेर
तिम्रा गलीहरुमा घुमिहिँड्ने
म हुने छैन
साइकलमा
लोहाक टुकडा
र पुरान अखबारको बण्डल लादेर
खाली बोतलको दर–रेटमा
दू–चार आनाको हिसाब गर्दै
तिम्रा टोलहरुमा चक्कर लगाइहिँड्ने
म हुने छैन
म हुने छैन
तिम्रो अहङ्कारको धरहरा खडा गर्न
पुरेर आफ्नै भविष्य
असंख्य इमारतहरूको जग खोदिरहेको
तोडेर आफ्नै पसलीक हड्डी
सरियाको जाल बुनिरहेको
म हुने छैन
केवल माथ र पैर भित्र
आधा देह दरबज्जा बाहिर निकालेर
चक्रपथको जाममा
पुरान माइक्रोबसभित्र लटकिइरहेको
धूल–धुआको कोहराबाट होइन
विखालु तिम्रा नजरबाट बच्न
गमछाले छोपेर चेहरा
तिम्रो मनजस्तै पातर
र ठन्डा गलीहरूमा हिंडिरहेको
म हुने छैन
म हुने छैन
बिलकुल हुने छैन
पासपोरट बोकेर मेनपावर धाइरहेको
पुलिस रिकाडको फायल बोकेर
राहदानी आफिसमा लाइन लागिरहेको
तिम्रा खातिर
स्वप्न–मेलम्चीको पानी ल्याउन
सुरंग खोद्दा खोद्दै
सीतापाइलामा पुरिएर मर्ने
श्यामसुन्दर राय हुँ म
जुग जुगदेखि
केन्द्रीयताको भ्रम जमिरहेको
तिम्रो फोहर इनार सफा गर्दागर्दै
निस्सासिएर मर्ने
सन्तोष दास हुँ म
म–
एक ‘मस्र्या’
एक ‘भैया’
एक ‘धाेंती’
एक ‘देशी’
एक ‘मधेशी’
मरेकै हुँ बारबार
भट्टामा
सडकमा
सुरंगमा
इनारमा
जहाँ मरे पनि
तिम्रै लागि
मरेको हुँ म खुद
लेकिन गिरेन कहिल्यै मेरो लासमाथि
तिम्रो आँसुको एक बुँद
सिरियल हेरेर भने आँसु झार्ने
सात समुन्दरपारिको शोक बार्ने
तिम्रा लागि
किन कहिल्यै छापिन लायक भएन
गुमनाम मेरो मृत्युको खबर ?
किन पुगेन तिम्रो समवेदना
देहातको मेरो गाँवघर ?
तिम्रा लागि
म हुने छैन अब
जुलुसको लस्कर
क्रान्तिको गीत
छाती छाती र माथ माथमा
गोली खाएर ढल्ने सहिद
तिम्रा लागि
म हुने छैन अब
नदी तरेपछि फालिएको लाठी
बन्दुक बोक्दाबोक्दा थाकेको काँध
दूर देहातमा भत्किरहेको साँध
दुख्यो…
बहुतै
चित्
दुख्यो…
ए राजधानी !
तिम्रो सामने
म हुने छैन अब
अब त म
हिँड्नेछु आफ्नै बाटोमा
फर्किन्छु आफ्नै माटोमा
तिमीले दिएको सारा हिक्का र आँसु
तिमीसँग जोडिएका सारा रामकहानी
छोडिदिएको छु
तिम्रै अन्हार डेरामा
फर्किनुअघि
आफ्नै दुखिया बसेरामा
छोडिदिएको छु–
रङ्गीचङ्गी तिम्रा सारा समृद्घि र वैभव
तिम्रा अनन्त उन्मादहरू
लेकिन लगिरहेछु थोडा थोडा
तिमीले नै दिएका
जखमका केही यादहरू
मेरो अथाह दुःखको गवाह
ए राजधानी !
छोडेर तिम्रो सरहद
मधेश एक्सप्रेसमा नीचाँक ढलान झरिरहँदा
म तिमीलाई नै याद गरिरहेछु
के तिमीलाई मेरो याद आउला ?
आयो भने मेरो याद
कति काल बाद आउला ?
प्रेमले पक्डेर एक अर्काको हाथ
तिमी र म
सँगसँगै हिंड्ने दिन
कति साल बाद आउला ?