Butwal Today

बसपार्कका यात्रुलाई सुविधा दिन बुटवलले सुविधासम्पन्न शौचालय बनाउँदै

२ आश्विन २०८०, मंगलवार
अ+
अ-

बुटवल, २ असोज ।

बुटवलको नयाँ बसपार्कमा स्नानगृहसहितको सुविधा सम्पन्न शौचालय बन्ने भएको छ । १ करोड ८० लाख ८४ हजार लागतमा बन्ने शौचालय निर्माणस्थलमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले शिलान्यास गरे ।

शिलान्यासपछि बोल्दै नगर प्रमुख पाण्डेयले बसपार्कलाई स्तरीय, सुविधासम्पन्न र सुरक्षित बसपार्कका रुपमा विकसित गर्ने उद्देश्यका साथ योजना अगाडि बढाएको बताए ।

उनले बसपार्कमा उज्यालोका लागि २ वटा हाइमास्ट लाइट, स्तरीय क्यान्टिन, कोशेली घर, ७ तले कार पार्किङ भवन, सुविधासम्पन्न शौचालय र विश्रामस्थल बनाउने योजना नगरले अगाडि बढाएको बताए ।

उनले बसपार्कलाई सफा र व्यवस्थित राख्नका लागि यातायात व्यवसायी र मजदुरहरुले पनि उत्तिकै चासो दिनुपर्ने बताए ।

बुटवललाई सफा, सुन्दर र हरियाली शहर बनाउनका लागि नगरले निरन्तर अभियान सञ्चालन गरेको र यसमा जनसहभागिता तथा संघसंस्थाहरुले समेत यसलाई प्राथमिकताका साथ चासो दिएमा बुटवल उदाहरणीय शहर बन्ने बताए ।

उनले नयाँ बसपार्क सुधार तथा व्यवस्थापनमा नगरले निरन्तर काम गरिरहेको बताउँदै बुटवललाई उपयुक्त विश्रामस्थल बनाउनका लागि चरणबद्ध योजना बनाएको बताए । नयाँ बसपार्कलाई सिटी बसपार्क बनाएर अर्को बसपार्क बनाउने गरी तयारी भइरहेको उनले बताए ।

३० वटा शौचालय कक्ष, १० वटा स्नान गृह र विश्रामस्थल रहने शौचालयमा महिलाहरुका लागि सेनेटरी प्याड, बालबालिका हेरचाहका लागि उपयुक्त स्थलसमेत रहने योजना महाशाखाका निर्देशक सुमन श्रेष्ठले बताए । वडा नं ९ का अध्यक्ष प्रदीप श्रेष्ठले बसपार्कलाई सुधार गर्दै स्तरीय बनाउनका लागि स्थानीयको समेत साथ र सहयोग आवश्यक हुने बताए ।

आगामी असारभित्रै निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढाउने सिभिल विल्डर्स एण्ड इन्जिनियरिङ कन्ट्रक्सनका सञ्चालक रामु ज्ञवालीले बताए ।