© २०२३
नेपाली हिन्दु नारीहरूको महान चाड हरितालीका तीज प्रत्येक वर्ष जस्तै यो वर्ष पनि हाम्रो घर आँगनमा तीज भाका मार्फत आएको छ । तीज भदौं महिनाको तृतीया तिथीका दिन पर्ने गर्दछ । तीजमा मुख्य गरी दरखाने दिन अर्थात् तीजको अघिल्लो दिनदेखि सुरु भएर ऋषिपञ्चमीका दिनसम्म ३ दिन मनाइन्छ । तीजको दिन नेपाली हिन्दु नारीहरूका लागि विशेष महत्वपूर्ण दिन मानिन्छ । अघिल्लो दिन मध्यरात सम्म दर खाने नाचगान गर्ने र भोलिपल्ट सबेरै उठेर नुवाइधुवार्ई गरि निरहार बसि पानी पनि नखाई भगवान शिवको पूजा आरधना गरेमा घरमा सुख, शान्ति र वैभव प्राप्त हुने विश्वासका साथ विवाहित महिलाले आफ्नो श्रीमानको लामो आयुको कामना गर्दछन् भने अविवाहित नारीले राम्रो र असल जीवनसाथी प्राप्तिकोे लागी वर मागे प्राप्त हुन्छ भन्ने धार्मिक जनआस्था रहेको छ । समयको परिवर्तन सँगै हाम्रा मौलिक चाडपर्वहरूमा पनि परिवर्तन सँगसँगै विकृति र विसंगतिहरूले पनि प्रवेश गरेको छ । यसको उदाहरण तीजलाई पनि मान्न सकिन्छ । तीज अहिले भड्किलो र महंगो बन्दै गएको छ । तीजको मौलिकताका साथै गीतका भाकाहरूमा पनि मौलिकता पाइँदैन तीजले धनी र गरिब बीचको भिन्नता पनि बढ्दै गएको छ ।
यो वास्तवमा राम्रो होइन । समय अनुसार तीजलाई छुट्टाछुटै महत्वका साथ मनाउन थालिएको छ । पहिला पहिला तीजलाई माईत जाने र मिठो मसिनो खाने अर्थमा लिइन्थ्यो अथवा वर्षभरि घरमा मेलापात, चुलोचौका, घाँसदाउरा गरेर शारीरिक रूपले थाकेको र घरमा पनि सासु–ससुरा, श्रीमान, नन्द आमाजु आदिको नराम्रो व्यवहार बाट मानसिक रूपमा पनि तनाव भइरहकोे अवस्थामा २/४ दिन भएपनि माईत जान पाए हुन्थ्यो भन्ने मनमा इच्छा हुन्थ्यो भने अर्कोतिर घरका सदस्यले माइत जान दिन्छन दिँदैनन होला भन्ने पिर महिलालाई उत्तिकै हुन्थ्यो । तीजमा माइत जान बुवाआमा दिदीबहिनी र बाल्यकालमा सँगसँगै खेलेका उकाली –ओराली गरेका साथीहरूसँग भेट्न र वर्षभरि घरमा भोगेका भोगाईहरूलाई तीजका गीत बनाएर समाजमा भएको शोषण र दमनको विरुद्धमा गीत गाई नाचगान गर्ने र दुःख सुख साट्ने महत्वपूर्ण चाडको रूपमा लिने गर्ने गर्थे भने अहिले तीजलाई सामर्थ देखाउने पर्वको रूपमा लिन थालियो । महँगा साडी गरगहना लगाउने र ठूला–ठूला पार्टी प्यालेसहरूमा गई विभिन्न थरीका परिकार र मदिरा समेत सेवन गर्दछन । पहिला एक दिन माइतमा मात्र खाइने दर अहिले एक महिना अघि देखि छर–छिमेकी इष्टमित्र र पार्टी प्यालेसमा गएर खाने विकृति रहेको छ ।
हाम्रो देश विभिन्न थरीका जातजाति, धर्म र संस्कृति, रिती–रिवाज र चाडपर्वको धनी छ । हाम्रा मौलिक चाडपर्व भनेका हाम्रा गहना हुन्, सम्पत्ति हुन जसरी हामीले आफूले लगाउने गरगहनाहरूलाई सुरक्षित साथ जोगाएर दराजमा राख्छांै त्यसैगरि यी हाम्रा सम्पत्ति जस्तै चाडपर्वहरूलाई यिनकै मौलिकपनमा बचाउन सकियो भने चाडपर्वको महŒव बढेर जान्छ । यी यस्तै चाडपर्वहरूले गर्दा हाम्रो जीवनमा कति खुसी, उमङ्ग र आशा लिएर आएको हुन्छ । यसले हामीलाई कति धेरै खुसी दिन्छ जुन खुसीलाई हामी पैसाले पनि किन्न सक्दैनौ । तीजको राम्रो पक्ष यो लाग्छ कि यसले हामीलाई शारीरिक मानसिक रूपले छोटो समयका लागि भएतापनि स्वस्थ्य राख्न मद्दत पुयाउँछ । अहिलेको व्यस्त समयमा मानिस खाली काम र दामको पछी पछी लागिरहेको छ । उसलाई आफ्नो र आफ्नो कामको बारेमा मात्र मतलब छ उसलाई परिवारसँग बस्ने कुराकानी गर्ने समयनै छैन । अहिलेको युग भनेको प्रविधिको युग पनि हो । यसले हामीलाई सहयोग पुयाइरहेको छ भने अर्कोतर्फ मानिसलाई ‘मेसिन’ जस्तो पनि बनाइरहेको छ । मानिस जति बेला पनि उसको अधिनमा रहेको जस्तो लाग्छ यसबाट टाढा राखेर यी हाम्रा चाडपर्वहरूले जसरी पनि हामीहरूमा एकआपसमा भेटघाट हुनुपर्छ । दुःख, सुख बाँड्नुपर्छ भन्ने सिकाएको हुन्छ भन्ने सामाजिक सद्भाव सहिष्णुता र भाइचाराको सम्बन्धलाई अझ बलियो र कसिलो बनाउन मद्दत गर्दछ ।
हामी आफ्नो चालचलन, रितीरिवाज बिर्सिएर अरूका चाडपर्वमा रमाउन थालेका छौं । यसैले नकरात्मक प्रभाव मान्न सकिन्छ । तीजमा लगाउनका लागि भनेर किनिने हजारौंं पर्ने साड़ी एक दिनका लागी भनेर किनिने गरिन्छ जुन खरिद गर्दा थुप्रै पैसा खर्च हुन्छ । हामी नेपालीहरु यथार्थतामा भन्दा अन्धविश्वासमा बढी विश्वास गर्दछौं । म यहाँ एउटा कुरा के जोड्न चहान्छु भने जब श्रावण महिना शुरू हुन्छ तब हामी नेपाली महिलाहरूले हरियो चुरा र महेन्दी हातमा लगाउने हो भने राम्रो हुन्छ भन्ने अन्धविश्वासमा हरियो चुरा र मेहन्दीमा थुप्रै पैसा खर्च गरिरहेका हुन्छौ । हामीलाई थाहा छैन कि यो मार्फत हाम्रो मुलुक बाट प्रत्येक वर्ष करोडौं रूपैयाँ छिमेकी देशहरूमा गइरहेको छ । अझ यति सम्मको उमेरले २/४ वर्ष लागेको ती कलिला नानीहरूका हातमा पनि हरियो चुरा लगाई दिएका हुन्छौं । यसरी बर्षमा २/४ दिनको लागी भनेर किन्ने र वर्ष दिन दराजमा थन्काउने अहिले हाम्रो देश अधिक संकट बाट गुज्रिरहेकोे अवस्था छ । यस्तो २/४ दिनको लाई भनेर गरिने देखावटीमा खर्च गर्न भन्दा दैनिक घर खर्च चलाउनका लागी सहज हुने कुनै ब्यवसायमा लगानी गरेर आर्थिक लाभ लिन सके राम्रो हुन्छ जस्तो लाग्छ ।
हाम्रा दाजुभाई, दिदीबहिनीहरू वैदेशिक रोजगारीका लागि विश्वका विभिन्न मुलुकमा गएर रगत पसिना गरी कमाएर पठाएको पैसाले देशमा विभिन्न किसिमका आर्थिक गतिविधिहरू चलेको अवस्था छ । त्यसरी दुःख गरी घरमा पठाएको पैसालाई हामी सही ठाउँमा खर्च गर्न सकेनौं भने भोलीका दिनहरूमा अफ्ठ्यारो परिस्थिति पनि आउन सक्छ । तसर्थ पैसा कमाउनु मात्र पनि कमार्ई गरे जस्तो हो भनी बुझ्न जरुरी छ । तीजमा खास गरी महिलाहरूले महिला माथि हुने सामाजिक, आर्थिक र राजनैतिक विभेदको बारेमा आवाज उठाउने र तीनका बारेमा सबैलाई सचेत गराउन सक्ने एउटा मौकाको रूपमा पनि लिन सकिन्छ । त्यसैले सर्वप्रथम महिला हामी आफू संक्षम बनौं, यदि हामी सक्षम भयौं भने देश बलियो बन्छ । यदि देश बलियो भयो भने यी हाम्रा मौलिक चाडपर्वहरूलाई हामीले बचाउन सक्छौं र देशको अस्तित्व पनि जोगाउन सकिन्छ । हामीले हाम्रा भावी पुस्ताहरूलाई दिन सक्ने भनेको यिनै हाम्रा मूल्यवान संस्कृति हुन् । त्यसैले यिनिहरूको महत्व बुझौं । अन्त्यमा हरितालीका तीज २०८० को उपलक्ष्यमा देश तथा विदेशमा रहने हुने बुवाआमा, दाजु, भाई तथा दिदीबहिनीहरूमा हरितालीका तीजको शुभकामना दिन चाहान्छ । तीज रमाइलो गरी मनाउनु होला, स्वस्थ रहनु, होला खुशी रहनु होला । धन्यबाद !