© २०२३
नेपाल विविध संस्कृति भएको मुलुक हो । यहाँ मनाइने विभिन्न चाडपर्वका आ–आफ्नै विशेषताहरु रही आएका छन् । त्यसैमध्येको एक महत्वपूर्ण पर्व हो तीज । तीज पर्व विशेषगरी नारीहरुले आफुले भोगेका सुखदुःखका पक्षहरुलाइ गीतका माध्यमबाट पोख्ने पर्वका रुपमा नेपाली समाजमा विकास हुँदै आएको बुझिन्छ । सानै उमेरमा विवाह भइ कर्म घर जानुपर्ने, त्यहाँ रहँदा बस्दा आफुले भोग्नुपरेका कष्टहरुलाई माइतमा आई बाल्यकालका साथीहरूका माझमा लयात्मक तरिकाले प्रस्तुत गर्ने र आफ्नो मनलाई सन्तुलित बनाउने उद्देश्यबाट तीज पर्वको सांस्कृतिक पक्ष विकास हुँदै आएको हो ।
नेपाली नारीहरुले गाउने तीज गीत तथा आफ्ना पिर व्यथाहरु पोख्ने प्रचलन अहिले तीजमा हराउँदै गएकोले पनि पछिल्लो समय तीजमा विकृती भित्रिएको ठान्न थालिएको छ । समूहमा गाइने तीज गीत अहिले विभिन्न खाले प्रतियोगिताहरुमा सीमित हुने अवस्था पनि एकातिर आउन लागेको छ भने अर्कोतिर तीजको अघिल्लो दिन दर खाने परम्परालाई एक महिनादेखि नै दर खाने तथा रमाइलो गर्ने प्रचलनले तीजमा हर्षाेल्लास थप्नुको साटो तीजको मौलिकतामा नै ह्रास आउँदै छ । महङ्गा लुगा तथा गहरगहनाले झकिझकाउ भएर भोजभतेर गर्ने, तडकभडक गर्ने, छाडा शब्दहरुको प्रयोग तथा गायनमा रमाउने आदि कुराहरुले गर्दा तीज मनाउने शैली धेरै नै अगाडि बढेको र मौलिकता बिर्सिन थालेको हो कि भन्ने शंका गर्न कुनै अप्ठ्यारो पर्दैन ।
मानवको रूपमा हामी हाम्रो जीवनयापन र अस्तित्वको लागि हामीले यो समाजमा विभिन्न संस्कृतिहरू, परम्परा, संस्कारहरू, रीतिरिवाजहरू अपनाउदै आएका छौं । सामान्यतया, चाडपर्वलाई ती परम्पराहरू भनिन्छ, जुन हाम्रो महिमा र पहिचानसँग मिल्दोजुल्दो हुन्छ । नेपालको सन्दर्भमा आजको आधुनिक पुस्ताले हाम्रो संस्कृति, परम्परा र चाडपर्वहरूलाई उत्तम नभई असभ्य बनाएको छ । वास्तवमा पछिल्लो समयमा सूचना र प्रविधिको उच्चतम विकासका कारण तीज पर्व बढी भड्किलो, खर्चिलो र देखासिखिमा केन्द्रित रहेको पनि भन्न थालिएको छ । हाम्रो संस्कृतिले गति छोडी पथभ्रष्ट भई नकारात्मकताको दिशामा अगाडि बढिरहेको छ । कतिपय विकृती विसंगतिको स्वरुप पनि तीजबाट झल्किरहेका छन् । महिनौ दिन अगाडि पार्टी प्यालेसमा तीज पर्व मनाउने प्रचलन हावी भएका छन् । एक सामाजिक पर्वको रुपमा रहेको पर्वलाई देखासिकी र नसाजन्य पदार्थमा लट्ठिएर मातेका गतिविधिहरु देख्न सुन्नमा आइरहेका छन् । तीजको समयमा हिन्दु नारीहरु चलिआएको संस्कार जोगाउन भन्दा पनि विनाशको प्रवृत्तितर्फ लागेको पाइन्छ । अहिलेको तीज भड्किलो र अनावश्यक देखासिकीले भरिएको छ । गाउँ, समाज मात्र नभएर सम्पूर्ण देश नै यो गलत गतिविधिको शिकार बनेको छ । अहिलेको टिकटकले नेपाली चेलीबेटीको मन, मष्तिस्कमा परम्परा धान्न र पचाउन नसक्ने उच्छृङ्खलता भरिदिएको देख्न सकिन्छ ।
धार्मिक आस्था र सामाजिक सद्भाव झल्कनुपर्ने तीज पर्वलाई वर्गीय पहिचान हुने चाँड बनाइदै लगिएको महशुस हुँदै आएको छ । धार्मिक आस्था र पारस्पारिक मिलनको रुपमा लिइनुपर्ने तीज पर्वलाई पछिल्लो समय गहना र फेसन प्रदर्शन गर्दै मासु र मदिरासहित उच्छृृङ्खल गतिविधि प्रदर्शन गर्ने पद्धतिका रुपमा लिइयो । यसले संस्कृतिको संरक्षण हुने होइन, विकृती निम्तिनुका साथै पर्वको मौलिकता नै हराउँदै जाने खतरा बढ्दै गएको छ ।
तीज नेपाली नारीहरुको एक विशेष पर्व हो । यही विशेष पर्वको अन्तर्लयलाई लत्याउँदै जानुपर्छ भन्ने मानसिकताकै कारण होला दुई दिन मनाउने तीजलाई हाल आएर महिनौँ अगाडिदेखि मनाउन थालिएको छ । सुरूमा संभ्रान्त परिवारका महिलाले पैसा उठाउँदै पार्टी प्यालेसमा तीजको दर खुवाउने चलन चलाए । अहिले त्यो परम्परा जस्तै भएको छ । एक महिना अगाडिदेखि सहरका पार्टी प्यालेसमा तीजको दर खाने र खुवाउनेको भिडभाड हुने गरेको पाइन्छ । विभिन्न संघ संगठन, सम्पर्क मञ्च, आमा समूह, दिदीबहिनी समूह आदि नामका थुप्रै यस्ता समूहले महिलालाई दर खुवाउने गरेका छन् । तीज आउन धेरै दिन बाँकी हुन्छन् तर केही दिन अघि देखि नै तीजको नाममा विभिन्न कार्यक्रम हुन थालेको पाइन्छ । संस्कृतिलाई निरन्तरता दिने अथवा संस्कृति संरक्षण गर्ने नाममा त्यसको धार्मिक तथा सांस्कृतिक पक्षलाई बिर्सिदै पाश्चात्य शैलीलाई अङ्गीकार गर्ने प्रवृत्तिले भोलिका दिनमा पर्वको असली मूल्य र महत्व नै लोप हुने त होइन भन्ने चिन्ता सर्वत्र व्याप्त छ ।