© २०२३
माओबादी केन्द्रले गत हप्ताको शनिवारदेखि जनतासंग माओबादी बिशेष अभियान सुरू गरेको छ । माओबादी पार्टीका अध्यक्ष प्रचण्डले भर्चुवल उद्घाटन गरेपछि यो रूपान्तरण बिशेष तीन महिने अभियान गाउँ केन्द्रित रहेको देखिन्छ । अभियान संचालनको पहिलो दिन त उसले देशका ६ हजार भन्दा बढी वार्डहरूमा बिभिन्न ढंगले गतिबिधि देखायो । राजनीतिक परिबर्तनका खातिर मुख्य भूमिका खेलेको यो शक्तिले यो अभियान थाल्दै गर्दा यसले मुलुकको ध्यान समेत केन्द्रित गरेको छ । अव माओबादी साँच्चिकै रूपान्तरण होला त ? रूपान्तरण हुने हो भने कुन बिन्दुबाट सुरू गर्ने ? साँच्चिकै प्रबृत्तिमा परिबर्तन हो कि सदस्यता बिस्तारसंग जोडिएको अभियान हो ? कैयन यी यस्ता यक्ष प्रश्नहरूको बीचमा उसले यो अभियान चलाइरहेको छ । त्यसो त जनतासंग फर्किने भनेर माओबादी केन्द्रले अभियान घोषणा गरेको यो पहिलोपटक भने अवश्य होइन । उत्पादन बिग्रेड बनाउनेदेखि संगठन सुदृढीकरण गर्ने अभियान घोषणा पनि बिगतमा भए । २०७९ को आमनिर्वाचन लगत्तै ठूलो अन्तरको बीचमा कांग्रेस एमाले भन्दा तेस्रो शक्तिमा खुम्चिएपछि २ महिने अभियान पनि घोषणा गरिएको थियो । तर, ती योजना र घोषणा घोषणामै सिमित रहेका थिए ।
यही सेरोफेरोमा पछिल्लो केन्द्रिय समिति बैठकमा सहभागी २१८ जना मध्ये अधिकांश केन्द्रिय नेताहरूले पार्टी बिग्रिएको र जनताबाट कट्दै गएको निष्कर्षबाट यो अभियानले प्रबेश पाएको छ । माओबादी नेताहरू यो अभियानलाई माओबादी शान्ति प्रक्रियामा आएपछि अव फेरी प्रमुख शक्तिका रूपमा उभ्याउन महत्वपूर्ण पानी ढलोको रूपमा लिएका छन् । यो अभियानमा बिशेषतः समाजबादी मोर्चाको अवधारणापत्र, पार्टीको दस्ताबेज, केन्द्रिय समितिले तय गरेका नारा तथा कार्यक्रम लिएर सवैजना जनताको घरघरमा पुग्ने लक्ष्य राखिएको छ । कार्यतालिका अनुसार तीन चरणको अभियान संचालन हुने बताइएको छ । वडा वडाले तोकेका कमाण्डरको नेतृत्वमा चलेको अभियान प्रक्रियामा स्थानीय तहमा पुग्दा जनताको काम जनतासंगै गर्ने र बस्दा हिंड्दा बोल्दा पार्टीको कुरा गर्ने निर्देशिकामा नै उल्लेख छ । ७ हजार २ सय ४३ वडामा परिचालित गरिएको यो अभियानबाट कम्तीमा २५ लाख मतदाता समक्ष प्रत्यक्ष सम्पर्क हुने र ८ लाख पार्टी सदस्यता बिस्तारको अपेक्षा राखिएको छ ।
यो कुरामा दुईमत छैन कि मुलुकको क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको एउटा प्रबाहमा परिबर्तनका मुद्दाहरूलाई संस्थागत गर्न मुख्य भूमिका खेलेको शक्ति हो माओबादी । सवैभन्दा बढी बलिदान र त्याग गरेको शक्ति पनि हो यो । यसो हुँदाहुँदै पनि पछिल्ला दिनहरूमा हिजो जुट्ने प्रक्रियामा थियो, बिस्तारै फुट्ने सिलसिलाले हिजोका सशस्त्र युद्धकालका सहयात्रीहरू आजसंगै छैनन् । यसले फुट्नेहरूलाई अहिलेसम्म आउँदा कति लाभ दियो ? हिजोको माओबादी आन्दोलनलाई आज कुन अवस्थामा, अनि उचाईमा पु¥याईरहेको छ ? त्यो एउटा समिक्षाको बिषय छ भने कम्युनिष्ट नीति अनुसार नेतृत्वबहन हुन नसक्दा माओबादीभित्र आम प्रश्न उठिरहेका छन् । यही इतिहासको एउटा निर्मम समिक्षा हुनुपर्ने बेलामा माओबादी केन्द्रको अभियान थालनी भएको छ । सांगठनिक संरचना केन्द्रमा फुक्दै गएको तर जनस्तरमा सुक्दै गएको सन्दर्भमा माओबादीले मुलुकभरका आम कार्यकर्तामा उत्साह ल्याउने अनि जनस्तरमा जोडिने कार्यक्रमको रूपमा लिएको यो अभियान माओबादी सिंगो पार्टी पंक्तिका लागि अन्तिम परीक्षा हो । यतिबेला कैयन प्रश्न उठिरहेका छन् कि सवैभन्दा ठूलो क्रान्तिकारी र परिबर्तनका कुरा गर्ने यो पार्टीभित्र एउटा पुस्ता नै धकेलिने अबधिसम्म पनि नेतृत्व परिवर्तन हुन नसक्ने गरेको परिपेक्ष्यमा पुस्तान्तरणको बिषयले पनि अहिले प्रबेश पाएको छ । साथै पार्टीभित्र झांगिएका कैयन बिकृति र बिसंगतिका बिषयमा पनि जसरी कुरा उठान भैरहेका छन्, कुरा मात्र उठान हुने तर रूपान्तरण हुन नसक्ने हो भने यी अभियान र बहसका बिषयहरू अवश्य नै निरर्थक हुन सक्छन् ।
यसैले इतिहासको एउटा निर्मम र कठिन घडीमा छ– माओबादी केन्द्र यतिबेला । साथै अवसरलाई चुमेर नयाँ संभावनाको बाटो पक्रने अवसर पनि उत्तिकै छ । हाल सत्ता संचालनको नेतृत्व गर्दैगर्दा देशका सवै शासकीय तथा प्रशासनिक संरचनाहरूमा बिकृति र बिसंगति छन् । भ्रष्टाचारले देश बिक्षिप्त छ । हरेक क्षेत्र हेर्दा मुलुक नराम्ररी थलिएको छ । दैनिकी औसत दुई हजारका आसपासमा देशका प्रतिभावान युवायुवतीहरूले देश छाड्ने क्रम बढेको छ । संसदीय चरित्रको तर समाजबाद उन्मुख नाम दिएको यो लोकतान्त्रिक राज्यव्यवस्थामा माथिबाटै मुहान सफा गर्न माओबादी नेतृत्वको सरकारले चालेको अभियान पनि सह्रानिय छ । भ्रष्टाचारका फाइल खोलेर भ्रष्टाचार संस्कृतिलाई अन्त्य गर्न थालिएको प्रयास र कदमलाई ठिक ढंगले ब्यवस्थापन गर्न सकियो भने माओबादी केन्द्रको मात्र बिषय होइन कि मुलुक साँच्चिकै सुशासनको मार्गमा प्रबेश गर्ने आधार तयार हुन सक्दछ तर मुद्दा उठाउने ठिक ढंगले ब्यवस्थापन गर्न सकिएन भने माओबादीका लागि क्षयीकरणको दिशामा जाने बाटो यो भन्दा केही हुनेछैन । यस्तै सांगठनिक संरचना निर्माणमा पनि बासी कार्यशैली, नेताहरूका आ–आफ्नै समूह, गुटबन्दी र परिवारबाद जस्ता गलत अभ्यासबाट उठ्न जरुरी छ । कार्यकर्ता र जनतामा नयाँ तहबाट बिश्वास लिने बाटो तय गर्नैपर्दछ ।
आम कार्यकर्ताको योग्यता, क्षमता र त्यागको पृष्ठभूमिको सही मूल्याँकन हुन सकेन भने अभियानको रिहर्सल गरेर मात्र हुने केही होइन । सधै सत्तामा जोडिएर अवसरको फाइदा लुटिरहने एउटा समुह अनि सदैव कुनै कुरा राख्न पनि पहुँच पु¥याउन नसकेका अर्को निमुखा कार्यकर्ता समूहबीचको दरारले पनि माओबादी आन्दोलनभित्र समस्याका पोका झन गाँठो पर्दै गएको छ । माओबादीलाई सच्चाउन खोजिएको हो भने यो संस्कृतिको पनि अन्त्य हुनु जरुरी छ । यस्का साथै छरिएर रहेका माओबादी शक्तिहरूलाई नयाँ शिराबाट एकीकरणको कोर्षमा पु¥याउन सार्थक पहल पनि थालिनुपर्दछ । हरेक नेता कार्यकर्ताले आफ्नो क्षमता र योग्यता प्रदर्शन गर्ने अवसर पाउनैपर्दछ । अव मुलुकमा हरेक क्षेत्रमा संख्यामा होइन गुणको खोजी भइरहेको तथ्यलाई बुझ्न जरुरी छ । अहिले सरकारले गरेको कामको बलमा पनि संगठन बिस्तारलाई अगाडि बढाउन खोजिएको छ । सरकारले गरेका कामबाट पूर्ण सन्तुष्ट भइहाल्ने अवस्था छैन तथापी प्रयासहरू भने प्रशंसनीय नै छन् । माओबादी केन्द्र जनतासंग जोडिनु पूर्व आम कार्यकर्तामाझ पुगेर गुनासो सुन्ने हिम्मत गर्न सक्नुपथ्र्यो तर पनि कार्यकर्ता परिचालनमा पनि यो अभियानले बल त देला तर अभियानमा हामी कहाँनिर चुक्यौं ? यो जनतासंग सोध्ने हिम्मत गर्नैपर्दछ ।
खराव प्रबृतिको अन्त्य गर्न यो अभियान कोसेढुंगा बन्नैपर्ने हुन्छ । केन्द्रीकरणको नाममा अध्यक्ष प्रचण्डको वरिपरी घुम्ने भीड जस्तै भएको यो पार्टी अहिलेसम्म कसरी पार्टीका रूपमा जोगिन पुगेको छ र जनताबाट के कति कारणले टाढिदै, अलग हुँदै गएको छ । माओबादीले यथार्थमै आत्मसमिक्षा सहित मूल्याङ्कन गर्न सक्नुपर्दछ । त्यसैले रूपान्तरण केवल ०८४ को आम निर्वाचनलाई लक्षित गरेर मत सुरक्षित गर्ने बिषयसंग मात्र होइन कि साँच्चिकै खराव प्रबृतिको अन्त्य गर्न सकियो भने मात्र यो अभियानको सान्दर्भिकता रहनेछ । समस्याको चाङभित्र हुर्किएको माओबादी आन्दोलनभित्र रूपान्तरण नेतृत्व तहबाटै हुन सक्छ कि सक्दैन ? खोजीको बिषय बनिरहेको छ ।