© २०२३
बुटवल के हो ? कस्तो ठाउँ हो ? यसको भविष्य के मा छ ? यो छलफल र बहसको विषय बन्नुपर्छ अब । पहिले बुटवल जुन–जुन ठाउँलाई भनिन्थ्यो, ती ठाउँ बुटवल महानगरको रूपमा विकास र विस्तार हुँदै जाँदा विस्तारै ओझेलमा पर्दै गए । पहिले बुटवल भनेर पारी बुटवल अर्थात पुरानो बटौली बजारलाई भनिन्थ्यो । त्यो अहिले पूर्णरूपले ओझेलमा छ । त्यसलाई व्युँताउने विषयमा बहस, छलफल र नीति तथा कार्यक्रम बनाउन अभ्यास भैरहेका छन् । पछिल्ला वर्षहरूमा बुटवल उद्योग बाणिज्य सङ्घ र बुटवल उपमहानगरपालिकाले यसको अभ्यास गरिरहेका छन् । अर्को बुटवल भनेर पहिले पुकारिने ठाउँ अमरपथ, पुलचोक, गोलपार्क क्षेत्र जो हुन ति ठाउँ पनि विस्तारै ओझेल पर्दैछन् । यो अवस्था बुटवल बजार सुकेर नभई विस्तार भएर सिर्जना भएको हो । बुटवल प्राचिन कालदेखिकै बाणिज्य केन्द्र त हो नै, त्यस अतिरिक्त यो बुद्ध (ज्ञानी) पुरुषहरूको विचरण भूमि पनि हो । बुटवल बाणिज्य केन्द्र हो भन्ने विषयमा धेरैजना लेखक विद्वानहरूले लेखरचना प्रकाशित गरिसक्नु भएको छ । यसमा विवाद वा मतभेद छैन । यो निर्विवाद तथ्य हो । त्यस अतिरिक्त बुटवल एउटा महत्वपूर्ण धार्मिक पर्यटकीय क्षेत्र पनि हो र यसको भविष्य यसैमा छ भन्ने विषयमा चर्चा गर्नु यस लेखको उद्देश्य हो ।
बुटवलमा मानव बस्ती कहिलेदेखि रहेको थियो भन्ने विषयमा खोजविन गर्दा एक करोड दश लाख वर्ष अघिको एउटा ऐतिहासिक तथ्यसँग जोडिन पुगिन्छ । बुटवल नगर समिपको पाल्पाको दोभान क्षेत्रको तिनाउ नदी किनारस्थित जङ्गल विचको पहरामा २०३७ सालमा आदिमानव रामपिथेकसको दाँतको बङ्गारा भेटिएको थियो । उक्त दाँतको बङ्गारा त्रिभुवन विश्वविद्यालयको प्राकृतिक विज्ञान सङ्ग्रहालयमा संरक्षित छ । नेपाल सरकार हुलाक सेवा विभागले सो बङ्गाराको हुलाक टिकटमाला पनि प्रकाशित गरेको छ । यसकारण यो ऐतिहासिक प्रमाण हो । उक्त बङ्गारा आदिमानव रामपिथेकसको अवशेषको रूपमा उक्त पहरामा टाँसिएको अवस्थामा रहेको थियो वा तिनाउ नदीले माथितिरबाट बगाएर ल्याएको थियो र पहरामा टाँसिएको अवस्थामा रहन गएको हो भन्ने विषय फेरी अलग्गै सोधखोजको विषय हुन सक्छ । तिनाउ नदी किनारको पहरामा उक्त बङ्गारा भेटिएको तथ्य सत्य हो । यस तथ्यले बुटवल १ करोड १० लाख वर्ष अघि नै मानव पुर्खाको विचरण स्थल थियो भन्ने प्रमाणित गर्दछ । परापूर्वकालमा यो ठाउँ देवता र अप्सराहरूको विचरणस्थल हो भन्ने जनश्रुती छ । तिनाउ नदीको नामाकरण तिलोत्तमा नामक अप्सराको नामबाट गरिएको हो भन्ने जनश्रुती छ । तिलोत्तमा पौराणीक पात्र हुन् । त्यस समयमा अप्सराहरू मध्ये उनको नाम अग्र पङ्तीमा आउँछ । तिनाउ नदीको अर्को नाम तिलोत्तमा हो भन्ने प्रमाण बुटवलसँग जोडिएको अर्को समृद्ध नगर तिलोत्तमा नगरपालिकाको नामाकरण तिलोत्तमा रहेको तथ्यले प्रमाणित गर्दछ । तिलोत्तमा अप्सरा देवताहरूको प्रिय रहिछन भन्ने प्रमाण उनको नामबाट नदीको नामाकरण भएबाट पनि स्पष्ट हुन्छ । अप्सरासँगै देवताको प्रसङ्ग स्वभाविक रूपमा आउँछ । हाम्रा पौराणिक ग्रन्थहरूले यही बताउँछन् । यस आधारमा परापूर्वकालमा यो क्षेत्र देवता र अप्सराहरूको विचरण भूमी थियो भन्ने प्रमाणित हुन्छ ।
परापूर्वकालदेखी बुटवल उत्तर दक्षिण ओहर दोहोरको प्रवेशद्वार (ढोका) रहेछ । दक्षिणबाट उत्तर हिमालय तर्फ ज्ञानको खोजीमा राजा, महाराजा, साधु, सन्त, योगी, ऋषि, महर्षि, राजर्षिहरू यही बाटो भएर जाँदा रहेछन् । हुन पनि दक्षिणको समथर भागको अन्त्य यहि बुटवलमा हुन्छ र पहाड र हिमालय क्षेत्रको शुरुवात पनि यहिँबाट हुन्छ । पुराना ऋषि महर्षिहरूले ज्ञान भूमि भारत र अध्यात्म क्षेत्र नेपाल भनेका छन् । महर्षिकल्प योगी नरहरिनाथको अध्यनको सार पनि यही रहेको छ । त्यसैले पहिले भारत क्षेत्रका ज्ञानी ध्यानीहरू अध्यात्म क्षेत्र नेपालको हिमालयतर्फ निकै आउजाउ गर्थे । बुटवल उनीहरूको जमघट स्थल रहेछ । यहाँको पुरानो घना जङ्गल, मनोरम तिलोत्तमा नदी, दोभान क्षेत्रका झरना र पहाड विचका गुफाहरू ती ज्ञानी ध्यानीहरूका आकर्षण स्थल रहेछन् । यिनै बुद्ध (ज्ञानी) पुरुषहरूको विचरण स्थल भएकाले यसको नाम बुद्धवल्ली रहन गएको रहेछ । बुद्धबल्लीको अपभ्रम्स रूप बुटवल हो भन्ने भनाई महर्षिकल्प योगि नरहरीनाथको छ । योगी नरहरीनाथले बुटवलको ट्राफिकचोकस्थित दुर्गा पञ्चायन मन्दिरमा राखिएको एउटा शिलालेखमा बुद्धवल्ली (बुटवल)–८ भनि उल्लेख गर्नुभएको छ । जनश्रुती अनुसार बुटवल सत्य, त्रेता, द्वापर तीनै युगमा बुद्ध पुरुषहरूको विचण भूमी हो । त्रेता युगमा भगवान रामचन्द्र बुटवल हुँदै रुरु क्षेत्रस्थित कालिगण्डकीमा स्नान गर्न एवं गुल्मीको रेसुङ्गा र स्याङ्गजास्थित उत्तर गङ्गा राम नदीमा स्नान गर्न पुगेको जनश्रुती पाइन्छ । द्वोपर युगको अन्त्यताकाको महाभारत युद्धका एक बहुचर्चित पात्र अश्वत्थामाको तपस्या वा साधना स्थल हो बुटवल दोभान क्षेत्र ।
अष्ट चिरञ्जिवी मध्ये एक मानिएका अश्वत्थामा अहिले पनि यसै क्षेत्रमा विचरण गर्दछन् भन्ने जनविश्वास रहेको छ । महाभारत युद्धमा जव अर्जुनले अश्वत्थामालाई पाण्डव पुत्रहरूको हत्याको सजायँस्वरूप उनको शिर चिरेर मणि झिकीदिए तब उनी निष्तेज भए । आफ्नो अपराधप्रति पश्चात्ताप गर्दै भौतारिँदै हिँडे । शान्ती र ज्ञानको खोजीमा उत्तर हिमालयतर्फ लागे । बुटवल समिपको दोभान क्षेत्रको कुहिरे भिर नेरको प्राकृतिक सुन्दरताले उनलाई मोहित तुल्यायो । उनी यसै क्षेत्रको गुफामा ध्यानमा बसे । ध्यानको परिणाम सुखद निस्कियो । शान्ति र ज्ञान दुबै मिल्यो । पहाडतिरबाट घिउ र जरिबुटी बोकेर बुटवल बजारतिर झर्दै गरेका ढाक्रेहरूसँग तिनाउ नदी किनारमा घिउ मागेर टाउकामा दल्ने बाबाका रूपमा पनि उनी लोकमा प्रसिद्ध रहेको जनश्रुती छ । ढाक्रेहरूसँग घिउ मागेर दलेर शिरको घाउ निको पारेको हुनुपर्छ अश्वत्थामाले । यो जनश्रुती पाल्पाको रम्भापानी गाउँमा प्रचलित छ । अहिले कलियुग ५ हजार १ सय बढी वर्ष भयो । यो कथा पनि करिब यति नै वर्ष पुरानो हो । यसरी अश्वत्थमाको पनि ज्ञान प्राप्ति स्थल (सिद्ध क्षेत्र) हो बुटवल दोभान क्षेत्र । यस्तै राजर्षि भर्तृहरीनाथको पनि ज्ञान प्राप्ति स्थल हो बुटवल दोभान क्षेत्र । उहिले भारत वर्ष अन्तर्गतको उज्जैनका चक्रवर्ति राजा भर्तृहरीनाथले राजपाट त्यागी शान्ति र ज्ञानको खोजीमा उत्तर हिमालयतर्फ लागे । त्यसक्रममा उनि बुटवल दोभान क्षेत्र भन्दा अघि बढ्न सकेनन् । दोभानको कुहिरे भिरको गुफामा बसी ध्यान गरी ज्ञान प्राप्त गरेको जनश्रुती लोकमा प्रचलित छ । उनी विक्रम सम्बतका संस्थापक विक्रमादित्यका दाजु मानिन्छन् । यस आधारमा यो २ हजार १ सय वर्ष अघिको कुरा हो । क्रिश्चियन धर्मका प्रबर्तक जिसस क्राइष्टको पनि विचरण भूमि हो बुटवल । जिससले धेरै वर्ष सम्म शाक्यमुनि बुद्धको जन्मस्थल लुम्बिनीमा बसेर शिक्षा लिएको प्रमाण छ । उनी लुम्बिनीबाट बुटवल हुँदै तिब्बततर्फ गएको भन्ने प्रमाण छ ।
२ सय ८० वर्ष पहिले हरिस्वरूप स्वामिनारायणले बुटवलको हालको मणिमुकुन्द सेन उद्यान क्षेत्रमा मुक्तिनाथबाट फर्कदा विश्राम लिएको भन्ने प्रमाण छ । त्यस स्थलमा अहिले स्वामिनारायणको मन्दिर बनाइएको छ भने प्रसादी स्थलका रूपमा बुटवलको नयाँगाउँमा मुक्तिनाथ धाम मन्दिर बनाइएको छ । शाक्यमुनि बुद्धको विचरण स्थल त यो हुने नै भयो । बुद्धकालमा यो प्रसिद्ध बुटवलको रूपमा प्रख्यात नगर (गाउँ) रहेको थियो । बुटवल समिपको सैनामैना बुद्धकालको अर्को प्रसिद्ध नगर हो । कतै कतै प्राचिन कपिलबस्तुको राजधानीका रूपमा पनि सैनामैनालाई चर्चा गरेको पाइन्छ । प्राचिन कालदेखिको ज्ञानी पुरुषहरूको विचण भूमीको रूपमा रहेको बुद्धवल्लीमा शाक्यमुनी बुद्धले विचरण नगर्ने कुरै भएन । बुद्धको मावली तथा ससुराली गाउँ कोलिय गणराज्य देवदह आवत जावत गर्ने बाटो पनि यही नै हो । त्यसैले यसको नाम बुद्धवल्ली रहन गएको हो । बुद्ध पुरुषहरूको प्राचिन कालदेखीको विचरण स्थल रहेछ यो बुटवल क्षेत्र । अतः यस क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्र वा साँस्कृतिक नगरको रूपमा यसको थप विकास र प्रबद्र्धन गर्नुपर्छ । यो क्षेत्र उहिलेदेखि नै धार्मिक सहिष्णुता र सभ्यताको केन्द्र रहेछ । हालको बुटवलको मणिमुकुन्द सेन उद्यान क्षेत्रमा मुश्लिमहरूको पुरानो मजारस्थान पनि रहेको छ । यसरी यो क्षेत्र उहिलेदेखि नै हिन्दू, बौद्ध, मुश्लिम, इसाई सबै धर्मावलम्बीको सभ्यताको केन्द्र रहेछ ।
यद्यपी यो क्षेत्रमा मुर्ति पूजाको चलन भने त्यति नरहेको प्रतित हुन्छ, किनकी यहाँ हिन्दू, मुस्लिम, इसाई, बौद्ध कसैका पनि धेरै पुराना मन्दिर वा मुर्ति पाइदैनन् । बौद्धहरूको बुटवलको पुरानो पद्मचैत्य विहार जम्मा १ सय ९ वर्ष पुरानो हो । हिन्दूहरूका पनि उति पुराना मन्दिर यहाँ अस्तित्वमा देखिदैनन् । यसैले यो क्षेत्रमा मुर्ति पूजाको चलन पहिले उति नरहेको प्रतित हुन्छ । यसरी बुटवल र आसपास क्षेत्रको भविष्य धार्मिक पर्यटनसँग जोडिएको छ । शाक्यमुनि बुद्धको जन्मस्थल लुम्बिनी आउने पर्यटकहरूले एकपटक भ्रमण गर्नुपर्ने स्थलका रूपमा यस क्षेत्रको विकास र प्रबद्र्धन गर्नुपर्छ । जसरी यो ठाउँ पहिले ज्ञानीहरूको विचरण भूमी थियो अब पनि शिक्षित, सभ्य, उद्यमशील र ज्ञानी मानिसहरूको बसोबास क्षेत्रको रूपमा यसको विकास र प्रबद्धन गर्नुपर्छ । पछिल्लो चरणमा बुटवल एउटा शैक्षिक केन्द्रको रूपमा पनि विकास हुँदै गएको छ । यो क्रमले निरन्तरता पाउनुपर्छ ।
सन्दर्भ सामग्री : संस्मृति सिद्धबाबा धाम ।