© २०२३
रोल्पा, १९ भदौ । सरकारले परिवार व्यवस्थापनका लागि भन्दै हरेक वर्ष ठूलो धनरासी खर्च गर्दै आएको छ । सानो परिवार, सुखी परिवारको नारा मात्र हैन दुई मात्र सन्तान ईश्वरको वरदान पनि जनजनको जिव्रोमा झुडिएको कर्णप्रीय नारा वनेकोछ । सरकारको परिवार योजनाको यस्तो प्रयास विपरित रोल्पाको सुनछहरी गाउँपालिका ६ फगाममा भने फरक घटना देखिएको छ । फगाम स्वास्थ्य चौकीको आडैमा रहेका एक जोडीले भने सरकारको यस्तो प्रयासलाई चूनौती दिँदै १६ सन्तानको जन्म दिएका छन् ।
१६ सन्तानको जन्म दिने महिला हुन सुनछहरी गाउँपालिका ६ फगामकी नानसरा परियार । उनको उमेर अहिले ४७ वर्षको भयो । २०४९ सालमा १५ वर्षको उमेरमा विवाह गरेकी उनले अहिलेसम्म १६ सन्तान जन्माइ सकिन । २०५५ सालमा श्रीमानको मृत्यु भएपछि २०५६ सालमा ३ वर्ष कान्छो गाउँकै भानसिंह परियार संग दोश्रो विवाह गरिन । भानसिंहको अहिलेको उमेर ४४ वर्षको छ ।
उनले हालसम्म जन्माएका १६ वच्चा मध्ये ११ जीवित र ५ जना मृत छन । उनले पहिलो श्रीमानबाट ३ र दोश्रो श्रीमानबाट १३ सन्तान जन्माईन । उनको पहिलो सन्तान छुन परियार हुन । उनी अहिले ३० वर्षका छन । छुनलाई उनले २०५० सालमा जन्माएकी हुन । छुन सँगै पहिलो श्रीमानबाट पूर्व र सुनिता गरि २ छोरा र १ छोरीको जन्म भयो । उनीहरू सबैको विवाह भइसकेको छ । वावुको सानैमा मृत्यु भएपछि आमासँगै आएका उनीहरू सबैको नागरिकता पनि दोश्रो श्रीमानबाट बनेको छ ।
दोश्रो श्रीमानबाट जन्मिएका १३ मध्ये ८ सन्तान जीवित छन । ५ सन्तान भने उनले बचाउन सकिनन । दोश्रो श्रीमानबाट जन्मिएको पहिलो सन्तान प्रेम २० वर्षका भए भने कान्छो सन्तान सुजनको उमेर ३ वर्षको छ । जीवित ११ मध्ये ५ छोरी र ६ छोरा छन । उनले जन्माएका १६ मध्ये १४ बच्चा त घरमै जन्मिए । २ वच्चा भने उनले स्वास्थ्य चौकीमा जन्माइन । दुई वच्चा पनि घरमै जन्माउने ईच्छा थियो । महिला स्वास्थ्य स्वयंसेविकाले स्वास्थ्य संस्था जानुपर्छ भनेपछि करले २ सन्तान त्यतै जन्माईन ।
उनका ७ सन्तानले स्कुलको मुख देख्न पाएनन । दोश्रो श्रीमानवाट जन्मेका आठौ, नवौ, दशौ र एघारौ सन्तानले मात्रै स्कूल जाने अवसर पाए । तीन सन्तान स्कुल गईरहेका छन भने कान्छो सन्तान पनि विद्यालय जाने तयारीमा छन् । आठौ सन्तान मनवहादुर परियार ११ वर्षका भए । उनले अहिले कक्षा २ मा अध्ययन गर्दैछन । नवौ सन्तान फागुनी परियार ९ वर्षकी भईन । उनले अहिले कक्षा १ मा पढ्छिन । दशौ सन्तान वुद्धिराम परियार ७ वर्षका भए । उनले अहिले सिसु कक्षामा पढ्छन । कान्छो छोरा सुजन परियार ३ वर्षका भए उनी अझै स्कुल गएका छैनन् । बालवालिका र आमाको पोषण अवस्था सन्तोषजनक नभए पनि स्वास्थ्य अवस्था ठिकै देखिन्छ स्थानीय शिक्षक चित्रवहादुर झाँक्री मगरले भने । धेरै सन्तान जन्माउदा उनको परिवारको शिक्षा, स्वास्थ्य र आर्थिक अवस्था सन्तोषजक छैन शिक्षक झाँक्री मगरले भने ।
श्रीमान भानसिंह परियार ज्याला मजदुरी गरेर परिवार पालेका छन । घरको कमजोर आर्थिक अवस्थाका कारण छोराछोरीको पालनपोषण र शिक्षा दिक्षामा निकै समस्या भएको नानसरीले वताईन । नाजुक आर्थिक अवस्थाकै कारण ७ सन्तान पढाउन सकिएन, पछि जन्मेका ३ सन्तानलाई जसोतसो पढाउँदै आएको छु नानसरीले भनिन् ।
त्यसो त नानसरीको सासुले पनि १६ सन्तान जन्माएकी थिईन । ससुराका दुई श्रीमतीवाट जन्मेका १६ सन्तान मध्ये १५ जनाको मुत्यु हुदा उनको श्रीमान भानसिंह मात्रै बचे । भानसिंह कान्छो सन्तान थिए । सासु ससुराले व्यहोर्नु परेको यस्तो पिडा आफुमाथि नपरोस भनेर आफूहरूले पनि धेरै सन्तान जन्माएको नानसरीको भनाइ छ ।