© २०२३
बाँके १७ भदौ ।
सांघुरो ठाउँमा आगलागी हुँदा नियन्त्रणका लागि दमकल पुग्न सक्दैन । दमकलको आवतजावत नै नभएपछि समयमै अग्नी नियन्त्रण नहुँदा धनजनको जोखिम हुने गरेको छ । त्यस्तो सांघुरो ठाउँमा पनि आगलागी नियन्त्रण गर्न नेपालगन्ज उपमहानगरपालिकाले नयाँ जुक्ति निकालेको छ, त्यो हो मोटरसाईकल दमकल ।
नेपालगञ्जमा शनिवारदेखि दमकल मोटरसाइकल सेवा सुरु भएको नगरप्रमुख प्रशान्त बिष्टले जानकारी दिए । नेपालगञ्ज उपमहानगरपालिकाले काठमाडौ उपत्यका बाहिर पहिलोपटक दमकल मोटरसाइकल सेवा सुरु गरेको हो ।
दमकल मोटरसाइकल सेवाको नगर प्रमुख प्रशान्त विष्टले आगलागीको जोखिममा रहेको नेपालगञ्जमा दमकल मोटरसाइकल सेवा सुरु भएपछि साँघुरा गल्लीका कारण दमकल तत्काल पुग्न नसक्ने अवस्थामा यो सेवा निकै लाभदायी हुने विश्वास व्यक्त गरे ।
काठमाडौ महानगरपालिकाका पूर्व बारुणयन्त्र इन्चार्ज एवम् बरिष्ठ अग्नि नियन्त्रक किशोरकुमार भट्टराईले दमकल मोटरसाइकल सेवा निकै प्रभावकारी रहेको बताए । यो सेवा सुरु भएपछि अब बारुणयन्त्र जान नसक्ने क्षेत्रमा तत्कालै आगलागी नियन्त्रण गर्न सहयोग पुग्ने आपतकालीन कार्यसञ्चालन केन्द्रमा सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए ।
बाँके आगलागीको उच्च जोखिममा पर्छ । बाँकेमा विगत १५ वर्षमा आगलागीका कारण ६ जनाले ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०६४÷०६५ देखि जिल्लाका विभिन्न पालिकामा भएको आगलागीका कारण ६ जनाको निधन भएको हो ।
जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र र नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको तथ्यांक अनुसार सबैभन्दा धेरै आर्थिक वर्ष २०६८÷ ०६९ मा ३ हजार ४१ जना प्रभावित भएका थिए । हालसम्म सबैभन्दा कम आर्थिक वर्ष २०७८÷०७९ मा ४२ जना प्रभावित भएको तथ्यांकले देखाएको छ । यसैगरी आगलागीकै कारण २ हजार २ सय १० घरधुरी, ४ हजार १ महिला, ४ हजार ४ सय २८ पुरुष र ४ हजार ३ सय ४२ जना बालबालिका प्रभावित भएका छन् । कूल ५४ जना आगलागीकै कारण घाइते भएका छन् । गर्मीयाम बढेसँगै जिल्लामा आगलागीको विपद् प्रत्येक वर्ष हुने गरेको छ । असावधानी पूर्वक आगोको प्रयोग र घरको बनोटले गर्दा आगलागीका घटना हुने गरेको पाइन्छ । आगलागीका घटना बढी होलिया, बेतहनी, मटेहिया, नरैनापुर, कालाफाँटा, लक्ष्मणपुर, कटकुइया क्षेत्रहरूमाहुने गरेको तथ्यांकले देखाउछ । जिल्लाका अन्य क्षेत्रहरूमा आगलागीको विपद् भएतापनि प्रभावितहरूको संख्या कम हुने गरेको छ ।
आगलागीको जोखिम धेरै भएपनि बाँकेका धेरैजसो स्थानीय तह दमकल विहीन छन् । बाँकेका आठमध्ये ५ वटा स्थानीय तहमा अझैपनि दमकल छैन । अहिलेसम्म तीन वटा पालिकामा मात्रै दमकल चालू अवस्थामा रहेका छन् । जिल्लाका नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र नरैनापुर गाउँपालिकामा मात्रै दमकल छन् । गर्मी बढेसँग हुने नगरका भित्री भागमा हुने आगजनीका घटनामा कमी गर्नलाई उपमहानगरले पानीका पाईपहरु बाट समेत आगलागीका बेला कार्य गर्न सकिने व्यवस्था मिलाइएको उपमहानगरले जनाएको जनाएको छ ।