© २०२३
बाँके, १५ भदौ ।
नेपालगन्ज उपमहानगरपालिकामा बनेका अवैध संरचना हटाउन डोजर चलाउन शुरु गरिएको छ । अतिक्रमण हटाउनु पूर्व उपमहानगरले सार्वजनिक सूचना जारी गरिसकेको थियो । तर अटेरी गरेपछि उपमहानगरले बुधवारदेखि डोजर चलाएर अतिक्रमण हटाउन शुरु गरेको हो ।
नेपालगन्ज बागेश्वरी मन्दिरको पूर्व लाइन, न्युरोड पश्चिमतर्फको सार्वजनिक जग्गा खाली गराउन दिएको निर्देशन व्यवसायीहरुले मानेका छन् । उनीहरुले आफ्नो सामान व्यवस्थापन गरिरहेका कारण डोजर चलाउन आवश्यक रहेन । तर दैलेखी बंगलामा निर्मित अस्थायी टहरामाथि डोजर चलाइएको नगरप्रमुख प्रशान्त बिष्टले बताए । नगरप्रमुख बिष्टले तीन महिनाभित्र नेपालगन्जको मुहार परिवर्तन आउने उदघोष गरेका छन् ।
सडक तथा सार्वजनिक सम्पत्ति अतिक्रमण हटाउन विषयलाई समेत बिष्टले प्राथमिकता दिएर काम शुरु गरेका हुन् । सोही अनुसार, बागेश्वरी मन्दिर पूर्व न्युरोड पश्चिमतर्फ सार्वजनिक जग्गा अतिक्रमण गरी संचालित पसल र दैलेखी बंगला कब्जा गरी बसेकाहरूलाई तत्काल हट्न नेपालगन्ज उपमहानगरपालिकाले निर्देशन दिइसकेको थियो । मंगलबार साँझसम्म खाली गर्ने समय दिएको र त्यसअवधिमा अतिक्रमण खाली नगरिएका संरचनामा डोजर लगाउने नगरप्रमुखले उदघोष गरेका थिए ।