© २०२३
अहिले समाजमा आत्महत्या दर बढ्दो छ । यसका कारण थुप्रैछन् । केही मानिसहरु बाँच्न चाहँदाचाहाँदै पनि मर्न बाध्य भएका छन । कारण आफ्ना क्रियाकलाप र गतिबिधीले पनि यो भैरहेको छ । बृद्ध अवस्थामा कालगतिले मर्नु स्वाभाविक मानिन्छ । यो त प्रकृतिको नियम नै हो । यो मृत्युलाई कसैले चाहेर पनि रोक्न सक्दैन । यो सबै नभै कालको बाटो आफैं नै रोज्नुलाई आत्महत्या मानिन्छ । पहिले पहिले हामीले सुन्ने गथ्र्यौं माया प्रेममा फसेछ र असफल हुने ठानेर आत्महत्या गर्न पुगेछ । कहिले सुन्थ्यौं एसएलसीको रिजल्टमा फेल भएछ र आत्महत्या गर्न पुगेछ । कहिले सुन्थ्यौं मानसिक रोगी रहेछ औषधी खाँदाखाँदै पनि के सनक चलेछ , यसैले होला मर्ने बाटो रोजेछ । यी सबै कुरा पुराना हुंदै गएका छन । पछिल्लो पटकको आत्महत्या फरक प्रकृतिको देखिएको छ ।
मुलुकमा लोकतन्त्र, गणतन्त्र आयो भन्दैगर्दा जादुको छडी जस्तो एक्कासी जग्गाको किनबेचको भेलनै चल्यो । बिस्तारै जग्गाको भाउ त यति उर्लियो कि सोंचे भन्दा डबल तिर्बल हुंदै कहाँ पुग्यो कहाँ । सर्वसाधारण मानिस त सपना देखे जस्तो भए । पहिले पहिले जग्गा ब्यापारी भन्थे एक दुईजना चिन्ने, देख्ने र भेटने गरेकाहरु एक्कासी महंगा गाडी चढने अनि होटलहरुमा बाह््र एक बजे सम्म हल्ला गरी मदिरामा झुल्ने, दोहोरी गाउने अनि बिभिन्न देशहरुमा भ्रमण गर्नेहरु जग्गा दलालीका नामले चिनीन थाले । लाजमर्दो नै भन्नुपर्छ खोज्दै बुझ्दै जाँदा वकिल, पत्रकार, डाक्टर, लेक्चरर, शिक्षक, दुधवाला, औषधी ब्यापारी, किराना, फेन्सी, हार्डवयर, गल्ला ब्यापारी आदी हरेक क्षेत्रका मानिसले जग्गा दलालको बिल्ला भिरे । यहाँसम्म कि बिक्रीको जग्गा देखाए बापत पांच प्रतिशत कमिशनको चक्करमा बिना लगानी पैसा कमाउन केही मानिस यसैलाई ब्यापार बनाएर हिंडे ।
यसो सम्झिँदा लाग्छ कि अहिले यो दिन देख्न रहेछ । चर्को दाम पारेर जग्गाबाट नाफा खान पल्केकाहरु बित्तीय संस्थादेखि ब्यक्ति ब्यक्ति चिनेजानेका कोही बाँकी नराखी चर्को ब्याज नभनी धमाधम जग्गामा लगानी गर्दै गए । बित्तीय संस्थामा धितो कर्जामा ऋण निकालेर कहीं जग्गा बैना र कहीं पास गरेर राख्ने काम गरे । भनिन्छ नि दिन संधै एउटै हुंदैन । कहिले बादल कहिले घाम, कहिले पानी कहिले जाडो, कहिले गर्मी भनेजस्तै जग्गा कारोबारमा पनि एकनास दिन रहेन । कोरोना पहिले चम्किएको कारोवार पछि पनि केही समय चल्यो । बिस्तारै अन्तर्राष्ट्रिय रुपमै आर्थिक मन्दी छायो । अर्थतन्त्रमा असर पार्ने गरी छाएको आर्थिक मन्दीको मार जग्गा कारोवारमा पनि नपर्ने कुरै भएन । सबैतिर आर्थिक सन्नाटा छाइरहेको अबस्थामा जग्गामा लगानी गरेकाहरु थाल खाउँकी भात खाउँ भएका छन । बैंकहरुको ब्याज र किस्ता बुझाउन नसक्दा धेरै बित्तिय संस्थाहरुले लिलामीको प्रक्रिया अगाडि बढाइरहेका छन् ।
जग्गामा लगानी गर्नेहरुले चर्को ब्याज दिने प्रलोभनमा सर्वसाधारण नागरिक, छोरीको दक्षिणाको पैसादेखि श्रीमानले घर खर्चलाई दिएको रकमबाट बचाएको पैसा सापटी दिने उत्ति छन । कतिपय महिलाले ब्याजमा पैसा दिएको भन्नसम्म सकेका छैनन् । हल्ला गरे श्रीमानसंग नसोधि लुकेर गरेको कारोवार घरवारै बिग्रन सक्छ भन्ने डर । यो हुनुभन्दा खाए खाओस भन्नेहरु पनि छन । चर्को ब्याज जसलाई मिटरब्याज नाम राखिएको छ, यस्तो ब्याज पाउने लोभमा सिधासाधा मानिस आफ्नो जायजेथा बैंकमा धितो राखेर दिनेहरु केही मिटर ब्याजे भागेपछि आत्महत्या गरे र केही गर्ने तयारीमा छन । जग्गा कारोवार गर्नेहरु सस्तोमै बिघा का बिघा जग्गा किन्ने, प्लटिङ गरेर टुक्राटुक्रा पारी महंगोमा बिक्री गर्ने आदी यो धन्दाले रोडपतिलाई बिल्डिङ पति बनायो । हिंजो एउटा कोठाको भाडा समेत मुस्किल्।ले तिर्नेहरु अहिले महलमा बस्ने भए । साइकलमा स्यांस्यां गरी हिडनेहरु अहिले करोडका गाडीमा हिंडने भए । कोरोनासंगै जसले यो धन्दालाई मथ्थर बनाउंदै गयो उ बच्यो तर सधै हाम्रा दिन एउटै छन् भन्नेहरु भने अहिले संकटमा परेका छन् ।
जग्गा कारोवारको भलसंगै चर्को ब्याजमा पैसा उठाउने गिरोह सिधासाधा महिला तथा पुरुषकहाँ सल्बलाउंदै सापटी माग्न हिंड्दैछन् । शुरु शुरुमा थोरै थोरै पैसा माग्ने अनि चर्को ब्याजसहित फिर्ता पनि गर्ने ग¥यो पछि बिस्तारै ठूलो रकम ब्याज सहित मुल धन पाउँदा प्रफुल्ल भएर बिभिन्न तरिकाले खोजेर सापटी दिने खेलो शुरु भयो । यो खेलो बहुसंख्यक महिलाबीच भएको थाहा पाउन सकिन्छ । यसरी चलेको खेलो धेरै र ठूलो हुँदै गयो । बिना धितो गोप्यमा चलेका यी खेलाले कति महिलाहरु घर छोडने र श्रीमानसंग सम्बन्धबिच्छेद हुनेसम्म भएका छन । सापटी दिनलाई आफू बसेको बास भएको घडेरीसम्म धितो राखेर बैंकले लिलाम गर्न लागेको थाहा पाउँदा परिवारमा कलह बढ्नु जस्ता कारणले आत्महत्याको बाटो रोजेको थाहा पाउन सकिन्छ । एउटा के पनि भेटिन्छ भने श्रीमानले कारोवार गर्दा श्रीमतिले थाहा नपाउने, श्रीमतिले गर्दा श्रीमानले थाहा नपाउने तर पछि जटिल समस्या आएपछि भण्डाफोर हुने, विवाद बढ्ने, डिप्रेसनमा पुग्ने जस्ता घटना पनि देखिएका छन् ।
कोरोनाको महामारीको असर कोरोना हटेको बर्ष दिनपछि देखिंदै गएको छ । यतिखेर जतासुकै आर्थिक संकट परेको छ, कारोवार ठप्प छ । घर भाडाको भरमा बाँचेकाहरु पनि संकटमा परेका छन । प्रत्येक जस्तो घरमा भाडाका लागी खाली भनेर सुचना टाँसिएको छ । घर भाडाबाट किस्ता तिर्ने गरी घर बनाएकाहरु न त ब्याज न त किस्ता भएर अलपत्र परेका छन । के के न उद्योगी ब्यापारी बन्न र सुख खोज्न गाउँ छोडेकाहरु गाउँ फर्किरहेका छन् । सिंगो फलेट लिएर बसेकाहरु अहिले दुईवटा कोठामा सांघुरिएका छन । मानिससंग पैसा छैन । साँझ बिहानको छाक बल्लतल्ल टार्ने बाहेक राम्रा लुगा किन्न र सुनचांदी खरिद गर्न सकिरहेका छैनन् । एक दिनमै सयौं घर निर्माण कार्य शुरु हुनेमा अहिले ठप्प छ । लेबर मिस्त्री ठेकेदार सबै अलपत्र छन । आफ्नो दिनचर्या कटाउन र आम्दानी गरेर चल्न नसक्नु एकातिर छ । त्यसैमा ब्याज किस्ता तिर्न नसकेर छटपटिने अर्को पाटो छ । मिटर ब्याजमा पैसा चलाएर फरार हुने अनि धितो लिलाममा जाने यावत कारणले यतिखेर निकास भनेको केहीका निम्ति आत्महत्याको बाटो भएको छ ।
उखान छ– घाँटी हेरेर हाड निल्नु । आजकल हाम्रो समाजमा आफ्नो हैसियत बिना जसरी हुन्छ महँगो र खर्चालु जीवन बिताउने चलन बढिरहको छ । यसले गर्दा पनि आर्थिक समस्या थपिँदो छ । जसका कारण समाजमा आपराधिक कृयाकलाप तथा आत्महत्याका घटनाहरु बढिरहेका छन । यस्ता कृयाकलाप नियन्त्रण गर्न मिटर ब्याजको प्रलोभनमा नपर्नु अनि भड्किलो र खर्चालु प्रबृत्ति रोक्नु हामी सबैको कर्तब्य हो भने राज्यले पनि यस सम्बन्धी उचित कानुन बनाएर पिडकलाई सजाय र पिडितलाई न्याय दिलाउन आवश्यक छ ।