© २०२३
लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये अर्घाखाँची एउटा सुन्दर पहाडी जिल्ला हो । अर्घा र खाँची दुई पुराना चौबीसे राज्य हुन । दुबैलाई मिलाएर अर्घाखाँची नामाकरण गरिएको हो । प्राकृतिक दृष्टिले सुन्दर छ यो जिल्ला । पर्यटकीय स्थलहरू पनि धेरैछन् । सुपा देउराली, ठाडादह, उलुक महाराजको क्षेत्र र पाणिनी ऋषिको तपोभूमि पणेना अर्घाखाँचीका मुख्य पर्यटकीय गन्तव्य हुन । तीमध्ये अहिले लोकमा सुपा देउराली मन्दिरको महिमा निकै फैलिएको छ । अर्घाखाँचीमा मात्र नभई पश्चिम नेपालको एउटा प्रमुख पर्यटकीय गन्तव्यको रूपमा विकास र विस्तार भईरहेको छ । स्वदेशका विभिन्न भाग र छिमेकी देश भारतका विभिन्न भागबाट समेत मानिसहरू पूजा अर्चना गर्न सुपा देउराली पुग्ने गर्दछन् । पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत कपिलबस्तुको गोरुसिङ्गेबाट ४६ किलोमिटर उत्तरमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका र शितगङ्गा नगरपालिकाको दोसाँधमा अवस्थित खाँचीकोटमा सुपा देउराली मन्दिर रहेको छ । गोरुसिङ्गे सन्धिखर्क सडक खण्डमा यो मन्दिर रहेको र पक्की सडक भएकाले आवतजावत गर्न सजिलो छ । यसको महिमा गुल्मी र अर्घाखाँची जिल्लामा निकै फैलिएको छ । गुल्मी र अर्घाखाँचीका विभिन्न स्थानमा सुपादेउराली मन्दिरका शाखा मन्दिरहरू स्थापना गरिएका छन् । कपिलबस्तु जिल्लाको पिपरामा समेत शाखा मन्दिर स्थापना गरिएको छ । यही सुपादेउराली मन्दिरको फैलिदोँ महिमाका कारण खाँचीकोट र नरपानी डाँडामा सानोतिनो बजार नै विकास भएको छ । पर्यटकीय पूर्वाधार सडक, होटल तथा रेष्टुरेन्ट एवं रिसोर्टहरू स्थापना गर्ने क्रम दिन प्रतिदिन बढ्दो छ । नरपानी डाँडामा राम्रैसँग पर्यटकीय पूर्वाधारहरू विकास भएका छन् । शितल हावापानी पाइने नरपानी आफैमा एउटा सुन्दर डाँडा हो । यहाँबाट डाँडाकाँडा र प्राकृतिक दृश्यहरू अवलोकन गर्न पाइन्छ । शितल हावापानी भएकोले सुपादेउराली देवीको दर्शन गरी शितलताको आनन्द लिन नेपालको तराईका विभिन्न भाग र भारतबाट समेत गर्मी मौसममा ठूलो सङ्ख्यामा पर्यटकहरू पुग्ने गर्दछन् ।
सुपादेउराली मन्दिर ऐतिहासिक प्रमाण र किम्बदन्ती दुबैका आधारमा सञ्चालित छ । सुपादेउराली मन्दिर व्यवस्थापन समितिका अध्यक्ष फर्सबहादुर केसीले बताएको किम्बदन्ती अनुसार वि.सं. १६०० मा खाँचीको राजकुलमा सुपादेउराली देवीले जन्म लिएकी थिइन । १६१९ मा भारतको बलरामपुरको राजकुलमा उनको बिहे भयो । यो बिवाह उनको मन्जुरी विनाको थियो । डोलीमा बोकेर भारततर्फ लैजाने क्रममा देवी स्वरूपा दुलहीले आत्महत्या गरिन । हालको मन्दिर रहेको स्थानमा पुग्दा डोलीबाट रगत चुहेको देखियो । त्यसै क्षेत्रमा उनको दाहसंस्कार गरी सबै आ–आफ्नो घरतर्फ लागे । यो घटनापछि खाँची राजकुलमा ठूलो हलचल भयो । गाउँमा रोग व्याधी पनि फैलियो । धेरै धामी झाँक्रीहरू डाकेर सोधियो । एक जना खनाल थरका धामीले राजकुमारीको इच्छा विपरित विवाह गरीदिइएकाले यस्तो घटना भएको बताउँदै रगत चुहेको स्थानमा कालो पाठी अर्पण गरेमा राजकुमारीको आत्माले शान्ति पाउने भनेपछि सोही अनुसार गरियो । त्यसपछि गाउँमा रोग व्याधी पनि हरायो । देवी शिलाको रूपमा प्रकट भईन । त्यसपछि त्यहाँ देवीको पुजाद्वारा अर्चना गर्न शुरु गरियो ।
सँस्कृतिविद राजेन्द्र आचार्यले बताएको अर्को ऐतिहासिक प्रमाण अनुसार खाँचीका राजा ध्वजन शाहको छोरी लिलावतीका रूपमा उनको जन्म भएको थियो । खाँचीका राजबंशको बंशावली टिप्पन अनुसार वि.सं. १६२७ देखि १६६९ सम्म ध्वजन शाहले खाँचीमा राजकाज सञ्चालन गरेका थिए । लिलावती सानैदेखि एकान्तप्रिय र बैरागी जस्ती एवं देवी देवताको पूजा प्रार्थना गर्ने स्वभावकी थिइन । उनको विवाह हालको गण्डकी प्रदेश अन्तर्गतको गोर्खाका राजा राम शाहसँग भयो । उनको यो विवाह इच्छा विपरित गरिदिइएको थियो । उनले अभिभावकसँग मेरो विवाह नगरीदिनुहोस् सिद्ध भएर बस्छु भनेकी थिइन । उनी गोर्खामा विवाह भएर रानी बनेपनि राजकाजमा भन्दा देवी देवताको पूजा प्रार्थनाप्रति इच्छा गर्ने सिद्धिका रानीको रूपमा प्रख्यात भईन । देहावशानपछि उनी मनकामना देवीको रूपमा प्रकट भईन । गृह देश गोर्खामा मनकामना देवीका रूपमा र माइती देश खाँचीमा सुपादेउराली देवीका रूपमा प्रकट भईन । पछि यसले किम्बदन्तीको रूप लियो । यिनलाई जगदम्बा देवीको रूपमा मानिन्छ । ऐतिहासिक प्रमाण र किम्बदन्ती दुबैलाई केलाउँदा सुपादेउराली मन्दिर १७ औं शताब्दीदेखि प्रचलनमा आएको मान्न सकिन्छ । किम्बदन्ती अनुसार १६१९ लाई आधार मान्दा यो ४ सय ६१ वर्ष पुरानो मन्दिर हुन आउँछ । अर्घाखाँचीको सुपा देउराली र गोर्खाको मनकामना मन्दिर विचको अन्तर सम्बन्ध केलाउन मनकामना मन्दिरमा विगत ५४ वर्षदेखि मूल पुजारीको रूपमा कार्यरत इन्सान थापालाई मनकामना मन्दिर कहिलेदेखि प्रचलनमा आएको हो भनि मैले सोधेँ । थापाले मनकामना मन्दिरबारे लेखिएका स्रोत सामग्रीका आधारमा यो करीब ३०० वर्ष पुरानो मन्दिर हो भने । थापाले राम शाहकी रानी लिलावती राम शाहको देहावसानपछि सति गएको र त्यसपछि मनकामना देवीको रूपमा प्रकट भएको कुरा पनि बताए । सँस्कृतीविद राजेन्द्र आचार्यका अनुसार राजा राम शाह वि.सं. १६६१ मा गोर्खाका राजा बनेका थिए । यसरी उक्त दुई मन्दिर प्रचलनमा आएको समयावधी फरक देखिएपनि राम शाहको रानी लिलावती भएको र उनै लिलावती देवीको रूपमा प्रकट भएको कुरा मिल्न जान्छ । गोर्खाको मनकामना मन्दिर मनोकामना सिद्ध गरिदिने देवीका रूपमा लोकमा पुज्य छ । त्यस्तै अर्घाखाँचीको सुपादेउराली मन्दिर पनि मनोकामना सिद्ध गरिदिने देवीका रूपमा लोकमा पुज्य छ । मनकामना मन्दिरमा बलीको रूपमा बोका, राँगा, हाँस, कुखुरा अर्पण गरिन्छ । सुपा देउरालीमा भने पहिले कालो पाठीको चलन थियो । अहिले पाठो, पाठी, भेँडा, कुखुरा अर्पण गरिन्छ । मनकामना मन्दिरका मूल पुजारी इन्सान थापाले सुपा देउराली र मनकामना मन्दिरवीचको अन्तर सम्बन्धबारे ज्ञान नभएको बताए भने सुपा देउराली मन्दिरका अध्यक्ष फर्सबहादुर केसीले यहाँको ठकुरी बंशावलीमा मनकामना मन्दिर र सुपादेउराली मन्दिरबीच अन्तर सम्बन्ध भएको कुरा आए पनि किम्बदन्ती र बंशावली बाझिएको धारणा राखे ।
सुपा देउराली मन्दिरमा असोजदेखि मङ्सिर महिनासम्म पूजाका लागि निकै भिड लाग्छ । यो मौसममा दैनिक ७ हजार जनासम्म भक्तजन आउँछन् । बढीमा मासिक २२ लाख रूपैयाँसम्म आम्दानी भएको तथ्याङ्क छ । सुपादउराली मन्दिरले सनातन धर्म संस्कृतिको प्रबद्र्धनमा टेवा त पु¥याएको छ नै, सामाजिक क्षेत्रमा पनि महत्वपूर्ण योगदान दिएको छ । सन्धिखर्क नगरपालिका अन्तर्गतको आदर्श मा.वि. खाँचीकोट, शितगङ्गा नगरपालिकाको सिता आधारभूत विद्यालय, शान्ति आधारभूत विद्यालय र देउराली आधारभूत विद्यालय सञ्चालनार्थ आर्थिक सहयोग प्रदान गरेको छ । शिक्षा क्षेत्रमा मासिक १ लाख १२ हजार रूपैयाँ छुट्टयाइन्छ । स्वास्थ्य तर्फ सन्धिखर्क नगरपालिका अन्तर्गतको खाँचीकोट स्वास्थ्य चौकीमा एकजना स्वास्थ्य सहायक (अहेव) को व्यवस्था गरिएको छ । सन्धिखर्कमा गौशाला र बेद विद्याश्रम, सिद्धेश्वर मन्दिर लगायतका मठमन्दिरलाई पनि आर्थिक सहयोग प्रदान गरिएको छ । देशभरका दीर्घ रोगीहरूलाई रु. ५ हजारका दरले आर्थिक सहयोग वितरण गरिन्छ । दैनिक ७ जनासम्म दीर्घ रोगीले यो सुविधा लिइरहेका छन् । हजारौँ सङ्ख्यामा दीर्घ रोगीहरूले आर्थिक सहयोग प्राप्त गरीसकेका छन् ।
यसरी सुपा देउराली मन्दिर पश्चिम नेपालमा एक धार्मिक पर्यटकीय गन्तव्यका रूपमा प्रबद्र्धन हुँदै गइरहेको छ । यसले धार्मिक र सामाजिक दुबै क्षेत्रमा योगदान दिईरहेको छ । एउटा सानो मन्दिरले यति धेरै महत्वपूर्ण सामाजिक योगदान दिएको छ । हाम्रो मुलुकका ठूला मन्दिरहरू काठमाण्डौको पशुपतिनाथ, लुम्बिनीको मायादेवी, रिडीको ऋषिकेशव, पाल्पाको भैरवस्थान, धरानको बराह क्षेत्र, मुस्ताङको मुक्तिनाथ र गोर्खाको मनकामना मन्दिरले पनि यस्तै सामाजिक क्षेत्रमा योगदान दिएको सुन्न, देख्न र लेख्न मन छ ।