© २०२३
पुराना लिखत पढ्दा र अलि पहिलेदेखि बुटवलको सेरोफेरोमा रहेर बुटवलको इतिहासको बारेमा जानकारी राख्नेहरूले पहिलेको बुटवल र अहिलेको बुटवलमा धेरै फरक अर्थात परिवर्तन आएको बताउँछन । गणेशस्थानदेखि गढीसम्मको बजार क्षेत्रलाई बुटवल बुझ्नेहरूका लागि साविकको तामनगर, सेमलार र मोतिपुरलाई समेत बुटवल भन्दा आश्चर्य नै पर्दछन । राजनैतिक परिवर्तनसंगै स्थानिय निकाय, तह र सरकार भन्ने शव्दावली परिवर्तन संगसगै भूगोल ब्यापक परिवर्तन आएको छ । २००७ साल अघिदेखि नै अहिलेको गण्डकी प्रदेश, लुम्बिनी प्रदेशको सबैजसो भाग र कर्णाली प्रदेशको केही भागमा व्यापार विस्तार गरेको थियो बुटवलले ।
२००८÷२००९ सालतिर बुटवलबाट हुने ब्यापारको बिस्तार हुँदै थियो, नयाँ राजनैतिक र सामाजिक परिस्थितिमा केही नयाँ गरौँ भन्ने उत्साही ब्यवसायीहरूले ब्यावसायिक संस्था गठन र दर्ता गर्ने विश्वासका साथ २००९ सालमा बुटवल व्यापार संघ नामक संस्था दर्ता भयो । यो सस्था दर्ता गर्दाको मूख्य उद्देश्य भनेकै ब्यावसायीक एकता, आपसी विवादको निरूपण र सामाजिक कार्यमा रचनात्मक र दवावमूलक कार्य गर्नु रहेको देखिन्छ । तत्कालिन अबस्थामा बुटवल व्यापार संघले २०१० देखि २०१६ सालसम्म बुटवल नगरपालिका गठन नहुँदासम्म बुटवलबासीको साझा अभिभावक संस्थाको रूपमा काम गरेको तथ्य यस अघिका आलेखहरूमा समेत आईसकेको छ ।
आजको सन्दर्भ साप्ताहिक बजार बन्दको पृष्ठभूमि र ऐतिहासिक निर्णयका सन्दर्भमा नयाँ पुस्ताका ब्यवसायीलाई जानकारी गराउनु बढी सान्दर्भिक सम्झेर भेटाएसम्मका तथ्य समाबेश गर्ने प्रयास गरेको छु । बुटवल व्यापार संघको स्थापनाको समयदेखि २०१६ सम्म पद्मचन श्रेष्ठको कुशल नेतृत्व पश्चात संस्थापक मध्येकै रुद्रविलास तुलाचनले संघको नेतृत्व सम्हाल्ने अवसर पाउनु भयो । यहि अवधिमा बुटवल व्यापार संघको तर्फबाट निर्णय र सहयोगका लागि तत्कालीन बुटवल खस्यौली नगर पंचायतलाई पत्राचार गरेपछि २०२४ साल असोज २० गते शुक्रवार च. नं. ६८४÷०२४ बाट नगर पञ्चायत ऐन २०१९ को परिच्छेद ४ को दफा १७ को उपदफा (ङ) मा उल्लेखित कानुनको ब्यवस्था अनुसार यस नगरभित्र प्रत्येक शनिवारका दिन प्रत्येक ब्यापारीहरूले आ–आफ्नो पसल अनिवार्य रूपले बन्द राख्ने ब्यवस्था मिलाउने । सो अनुसार पसल बन्द नगर्ने ब्यापारीलाई नगर पंचायत ऐन २०१९ को परिच्छेद ८ को दफा ५४ मा तोकिएको सजाय अनुसार दण्ड गर्ने निर्णय भएको देखिन्छ ।
असंगठित अर्थात स्वेच्छिक रूपमा केहीले बन्द गर्ने र केहीले नगर्ने हँुदा बाहिरबाट माल सामान किन्न आउने ब्यापारी तथा उपभोक्तालाई समेत पिरमर्का परेको र एक आपसमा असमानता समेत देखिएको हुँदा बुटवल व्यापार संघको पहल र बुटवल खस्यौली नगर पंचायतको निर्णय अनुसार २०२४ असोज २० गतेदेखि साप्ताहिक रूपमा बुटवल बजार शनिवार बन्द हुने गरेको देखिन्छ ।
बुटवल व्यापार संघले आफ्नै पहल र प्रयत्नबाट स्थापित भएको शनिवार पसल बन्द गर्ने प्रकृयाका केही ब्यावहारिक कठिनाई र असुविधाको महसुस गरि २०२५ साल फागुन २९ गते बुटवल खस्यौली नगर पंचायतका नाममा पत्राचार गरेको देखिन्छ । तत्कालिन परिवेशमा तीन कारणले शनिवारे बन्द अब्यवहारिक देखियो ।
१– खासगरी बुटवल नजिकको तानसेन समेतका बजार पनि साप्ताहिक रूपमा शनिवार बन्द हुने गरेको र सोही दिन माल खरिदका लागि बुटवल आउँदा बुटवल समेत बन्द हुदा क्रेता÷बिक्रेता दुवैलाई असुविधा भएको ।
२– सरकारी कर्मचारी, स्कुलका शिक्षक विद्यार्थीहरूलाई समेत शनिवार पसल बन्द गर्दा किनमेलमा असुविधा हुने ।
३– व्यापारी आफैले पनि शनिवार पसल बन्द रहँदा सरकारी अड्डा पनि बन्द हँुदा आफ्नै काम गर्न समेत कठिनाइ भएको ।
यी माथि उल्लेखित तीनवटा तथ्यका कारण शनिवार बन्द नगर्ने र त्यस बेलाको सामाजिक मूल्य मान्यता र चलन चल्ती अनुसार सोमवार नयाँ कपडा किन्दा र लगाउदा अशुभ हुन्छ भन्ने मान्यता रहेको र बुटवलको समग्र ब्यापारमा काँचो कपडाको प्रभाव बढी भएका कारण पनि २०२६ साल बैशाखदेखि लागू हुने गरि सोमवार बन्द गर्ने साप्ताहिक प्रस्ताव समेत गरेको देखिन्छ ।
२०२६ सालदेखि हालसम्म पनि बुटवलको मुख्य बजार क्षेत्र सोमवार बन्द हुँदै आएको छ । बजारको विविधता र विस्तारले फेरि पनि बुटवललाई सोमवार र शनिवारमा छुट्टाएको छ । पछिल्लो समय कपडा, फेन्सी, किराना, खाद्यान्न, लिकर, डिष्टिब्युटर्स, पुस्तक तथा स्टेशनरीका थोक बिक्रेता, सैलुन, प्लाष्टिक, फर्निचर जस्ता धेरै ब्यवसायीहरूले सोमवार नै पसल बन्द गर्ने गरेका छन । हार्डवेयर, मोटर पार्टस, उद्योग (कलकारखाना) हरू शनिवार बन्द हुने गरेका छन । संस्थागत हिसावले बुटवल व्यापार संघको विधानमा संशोधन गरि २०३५ सालमा उद्योग वाणिज्य संघ बुटवल र २०६४ सालको संसोधनबाट बुटवल उद्योग वाणिज्य संघ, रूपन्देही भएको बुटवल मात्र होइन रूपन्देहीकै जेठो संस्था अन्तरगत रहेका सदस्य ब्यवसायिक प्रतिष्ठानहरू मध्ये उद्योग, अटो र राजमार्ग चौराहा दक्षिणका हार्डवेयर ब्यवसायी शनिवार बन्द गर्न निर्देशन गरेको पाइन्छ भने अन्य ब्यावसायिक प्रतिष्ठानहरू सोमवार बन्द गर्न आव्हान गरिएको छ ।
२०३५ सालमा रूपन्देहीमा रहेका उद्योगका विशिष्टिकृत समस्याको पहिचान र समाधानको एकीकृत प्रयासका लागि स्थापना भएको रूपन्देही उद्योग संघले आफ्ना सदस्य उद्योग प्रतिष्ठानहरूमा सरकारी कार्यालय÷संस्थान र सरकारी स्वामित्वमा रहेका उद्योगका श्रमिक तथा कर्मचारी सरह शनिवार नै साप्ताहिक बन्दको निर्देशन गरेको संघका वरिष्ठ सदस्य एवम उद्योगपति राजेन्द्र सिंह गुरुङको भनाइ रहेको छ । २०५७ सालमा रूपन्देही व्यापार संघ, २०६२/०६३ राष्ट्रिय उद्योग व्यापार संगठन लगायत विभिन्न विशिष्टिकृत अर्थात बस्तुगत संघ सस्थाहरूको पनि प्रभावशाली उपस्थिती रहेको छ । ती संस्थाहरूले पनि आ–आफ्नो ब्यवसायको प्रकृति अनुसार सदस्य ब्यवसायी प्रतिष्ठानहरूलाई सोमवार वा शनिवार मध्ये एक बारमा बन्द गर्ने निर्देशन गरेको पाइन्छ ।