© २०२३
आफ्नो बच्चालाई स्तनपान गराउनु सबैलाई जानकारी भएकै कुरा हो । तर यस बारेमा अलि विस्तृत रुपमा जानकारी पाउन आवश्यक छ । प्रारम्भिक स्तनपान अर्थात बच्चा जन्मिएको एक घन्टा भित्र वा यसमा पनि जतिसक्दो चाँडो स्तनपान गराउने, पूर्ण स्तनपान गराउने अर्थात ६ महिना सम्म नवजात शिशुलाई आमाको दुध मात्र खुवाउने र बच्चा जन्मेको कम्तीमा २ बर्ष सम्म अन्य खानेकुराको सँगसंगै आमाको दुध पनि प्रयाप्त मात्रामा खुवाउने कुरामा सबै आमाहरुलाई अनिवार्य जानकारी हुनु आवश्यक छ ।
बच्चालाई पूर्ण स्तनपान गराउन निम्न कुरामा जानकारी हुनु पर्दछ
. शिशु जन्मिएपछि जतिसक्दो चाँडो (१ घण्टाभित्र) आमाको बिगौती दुध खुवाऔं ।
. शिशुलाई जन्मेदेखि ६ महिना पूरा नभए सम्म आमाको दुध मात्र खुवाऔं ।
. बालबालिकालाई ६ महिना पूरा भएपछि पुरक खानाका साथै कम्तीमा २ बर्षको उमेर सम्म निरन्तर स्तनपान गराऔं ।
. आमाको दुध शिशुको लागि सर्वोत्तम आहार हो । र यसले शिशुको रोगसँग लड्न सक्ने क्षमता बढाउँछ ।
. स्तनपानले महिलाहरुमा स्तन क्यान्सर र पाठेघरको क्यान्सर हुने जोखिमलाई कम गर्दछ ।
. चिकित्सकको सल्लाहबिना शिशुलाई आमाको दुधबाहेक अन्य कुनै किसिमको दुध नखुवाऔं ।
स्तनपान सम्बन्धी उचित परामपर्श तथा थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीलाई सम्पर्क गरी थाहा पाउन सकिने छ । बच्चालाई पूर्ण स्तनपान गराउनको लागि प्राकृतिक रुपले आमाको महत्वपूर्ण भूमिका भएता पनि यसमा परिवारका हरेक सदस्यको जिम्मेवारी पनि त्यत्तिकै महत्वपूर्ण रहन्छ । हरेक परिवारका अन्य सदस्यहरुले स्तनपान जस्तो महत्वपूर्ण कार्यमा आमालाई सहयोग नगरेमा कुनै पनि हालतमा उसको बच्चाले पूर्ण स्तनपान गर्न सक्दैन ।
स्वास्थ्यका विभिन्न निकायहरुले साथसाथै स्वास्थ्यको क्षेत्रमा काम गर्ने हरेक सरोकारवालाहरुले आ–आफ्नो क्षेत्रबाट काम गर्दै जाँदा र विभिन्न सञ्चारका माध्यमहरुले सूचना र सन्देश फैलाउँदै जाँदा पनि नेपालमा अझै पनि शिशु जन्मेको १ घन्टा भित्र दुध चुसाउने आमाको संख्या जम्मा ५५ प्रतिशत रहेको छ । त्यस्तै शिशुलाई ६ महिना सम्म आमाको स्तनपान मात्र गराउने आमाको संख्या ५६ प्रतिशत र शिशुलाई २ वर्ष भित्र निरन्तर स्तनपान गराउने आमाको संख्या बल्ल ९४ प्रतिशत रहेको कुरा विभिन्न सर्वेक्षणहरुबाट देख्न सकिन्छ । त्यसैले यो प्रतिशतलाई आधार मानेर भन्ने हो भने अझै पनि हाम्रा समुदायहरुमा शिशुलाई जन्मेको १ घन्टाभित्र आमाको कोलोस्ट्रमयुक्त बिगौती दुध खुवाउने प्रतिको गलत धारणालाई चिर्नु आवश्यक छ । आमाको बिगौती दुध बच्चाको लागि रोगसँग लड्न सक्ने क्षमता बढाउने एक प्रकारको पहिलो खोप नै हो भनेर बुझाउनुु निकै आवश्यक छ । शिशुलाई जन्मेको १ घन्टा भित्र जति सक्दो चाँडो आमाको दुध अनिवार्य खुवाऔं, जन्मेको ६ महिना सम्म आमाको दुधमात्र पूर्णरुपमा खुवाऔं । स्तनपान गराउँदा २४ घन्टामा कम्तीमा १० देखि १२ पटक सम्म गराऔं । एउटा स्तनको स्तनपान गराउँदा कम्तीमा १५ मिनेटको समय अवधि सम्म दुध चुसाऔं । एउटा स्तनको दुध पूरा मात्रामा सकाएर मात्र अर्को स्तनको दुध खुवाउन सुरुवात गरौं । यसो गरेमा मात्र बच्चाले दुधबाट प्राप्त गर्न सक्ने पानीदेखि सम्पूर्ण पोषक तत्व प्राप्त गर्न सक्दछ । जन्मेको कम्तिमा २ वर्षको उमेर सम्म थप खानाको साथमा पूर्ण स्तनपान गराऔं ।
यसरी शिशुुलाई पूर्ण स्तनपान गराउन घरदेखि अफिसमा कार्यरत रहने आमाहरुलाई सम्पूर्ण सरोकारवालाहरुले आ–आफ्नो स्थानबाट सहयोग गरेमा जागिरे आमाहरुको लागि हरेक कार्यालयमा स्तनपान कक्षको ब्यवस्था गरिदिई समय ब्यवस्थापनको साथै स्तनपानको बारेमा नीति निर्माण गर्ने लगानी गर्ने र कार्यान्वयन गर्नेदेखि सम्पूर्ण सरोकारवालाहरुले आ–आफ्नो जिम्मेवारीलाई सही तरिकाले पुरा गरेमा मात्र विश्व स्तनपान सप्ताह २०८० को नारा स्तनपानमैत्री कार्यस्थलको सुनिश्चितता, सबै सरोकारवालाहरुको प्रतिवद्धता भन्ने नाराले बल्ल सार्थकता पाउँछ ।