© २०२३
बर्दघाट, ९ साउन । विशेषज्ञ डाक्टरसहित दक्ष जनशक्तिको अभावमा आईसियु बेडसहित भेन्टिलेटर प्रयोग विहिन भएको छ । पश्चिम नवलपरासीको जिल्ला अस्पताल पृथ्वीचन्द्र अस्पतालमा रहेको ५ आइसियु बेड सहित २ वटा भेन्टिलेटर जनशक्ति अभावमा प्रयोगमा आउन सकेको छैन । हाल अस्पतालमा रहेको आइसियु र भेन्टिलेटर नियमित सँचालनको लागि कन्सल्टेन्ट डाक्टर, ५ जना फिजिसियन डाक्टर, १ जना एनेस्थेसियोलिष्ट, ५ जना मेडिकल अफिसर र कम्तीमा २५ जना नर्सिङ स्टाफ आवश्यक रहने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर नुरुल होदाले बताए ।
सङ्घीय सरकारबाट आर्थिक बर्ष ०७८/०७९ मा कोरोना महामारीका समयमा देशभरका जिल्ला अस्पतालहरूलाई आइसियु सहितको भेन्टिलेटरका लागि बजेट बिनियोजन गरिएको थियो । सोहि बेला अस्पतालमा आएका सामाग्रीहरु हालसम्म प्रयोगमा आउन सकेका छैनन ।
कोरोना महामारीका बेलाबाट ई–टेन्डर मार्फत खरिद गरिएको करोडौँ मूल्यका उक्त उपकरण यतिकै थन्किएका छन् जनशक्ति अभावमा यहाँको जिल्ला अस्पतालमा ती उपकरणहरू थन्किएर बसेका हुन । “सरकार मार्फत उपकरण त आयो तर यसलाई सञ्चालन गर्न हामीसँग जनशक्ति नै छैन” — अस्पतालका सुपरिटेन्डेन्ट डाक्टर होदाले भने ।
आइसियुमा रहेका बिरामीलाई कृत्रिम श्वासप्रस्वासका लागि भेन्टिलेटर राखिएपनी प्रयोग हुन नसक्दा गम्भीर प्रकृतिका बिरामीहरूलाई बुटवल, भैरहवा र नारायणगढ लैजानुपर्ने बाध्यता रहेको छ ।
सञ्चालनका लागि पहल गरिएपनी सुनुवाई नभएको र भएका उपकरणहरू प्रयोग विहीन बन्दा समयमै उपचार नपाएर बिरामीको ज्यानै जान सक्ने जोखिम उतिकै बढ्दो छ । यता अत्यधिक गर्मीसँगै जिल्लामा सर्पदंसको जोखिम पनि उस्तै छ । आइसियु वा भेन्टिलेटरमा राखेर उपचार गर्नु पर्ने बिरामीलाई समेत उपकरण हुँदा हुँदै अन्यत्र रिफर गर्नु पर्ने अवस्था रहेको छ । जिल्लामै हुने उपचार सेवाबाट यतिबेला आम नागरिक वञ्चित भएका छन् ।